देशमा प्रजातन्त्र, लोकतन्त्र प्राप्तिका लागि लामो कालखण्डसम्म कुर्वानी गरेका महामानव एकपछि अर्को गरी यस लोकबाट परलोक जाँदै छन् । एक महिनाअघि पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भयो । सादा जीवन बिताउन रुचाउने उपाध्याय सफा मनका धनी थिए । उनले आफ्नो कार्यकालमा निर्भीक भई प्रजातन्त्रप्रति निष्ठापूर्वक जीवन बिताए । अब शब्दमा मात्र सीमित रहे प्रजातन्त्रका अमर व्यक्तित्वका बारेमा लेखिने स्मरण ।
आमोदप्रसादको निधनको एक महिना नपुग्दै नेपाली कांग्रेस र लोकतन्त्रलाई दिशा निर्देश गर्ने अर्का आदरणीय व्यक्ति होमनाथ दाहालको पनि गत पुस २६ गते निधन भयो । विसं २०२६ देखि लामो कालखण्डसम्म उनले राष्ट्रपुकार पत्रिकाको प्रधान सम्पादक भएर काम गरे । मानव अधिकार, प्रेस स्वतन्त्रता, सामाजिक न्यायका लागि सदैव कलम चलाउँदै आएका वरिष्ठ पत्रकार दाहाल विसं २०४८–२०५९ सम्म नेपाल पत्रकार महासङ्घको सभापति थिए । व्यावसायिक पत्रकारिता सुरु गरेर लोकतन्त्रका पक्षमा निरन्तर कलम चलाउँदै आएका दाहाललाई तत्कालीन सरकारले बेला बेलामा डर धम्की दिए पनि राष्ट्रपुकारलाई निरन्तरता दिइरहे । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत कांग्रेसका शीर्षस्थ नेतालाई नजरबन्द गरेपछि प्रजातन्त्र पुनर्बहालीका पक्षमा निरन्तर कलम चलाउने दाहाल निडर र निर्भीक व्यक्ति थिए ।
कैयौँ पटक त्यस बेला प्रशासनले राष्ट्रपुकार पत्रिका र छापाखाना बन्द गर्ने धम्की दियो तर लोकतन्त्रका पहरेदार होमनाथ अक्षरमार्फत जनताका आवाजका लागि, प्रजातन्त्र पुनर्बहालीका लागि उभिए । विसं ०३५/३६ सालमा प्रतिबन्धित कांग्रेस पार्टीको कार्यालय जमलमा थियो । यदाकदा उनी जमल आउँथे । त्यस बेलाका हामी विद्यार्थी पनि त्यहाँ जाने गथ्र्यौं । तीनधारा संस्कृत छात्रावास र जमलस्थित पार्टी कार्यालयको दुरी टाढा थिएन । त्यहाँ प्रजातन्त्र पुनर्बहालीका लागि मात्र नभएर लोककल्याणकारी राज्यबारे बौद्धिक बहस चल्ने गथ्र्यो । प्रदीप गिरी, होमनाथ, माथवरसिंह बस्नेत, मनमोहन भट्टराई र प्राडा लोकराज बरालका विचार सुन्न पार्टी कार्यलयमा अपराह्न २ बजेपछि मानिसको भीड लाग्ने गथ्र्यो । गणेशमान र कृष्णप्रसादका विचार सुन्न कांग्रेसको भावी कार्यक्रमबारे रणनीतिक कुरा सुन्न युवा विशेष गरी त्यस बेलाका विद्यार्थी जम्मा हुने गथ्र्यौं । गणेशमान वेतको लौरो टेकेर आउँथे । कृष्णप्रसाद छाता टेकेर आउँदा हामीलाई गर्बिलो अनुभूति हुन्थ्यो । राष्ट्रपुकारमा प्रकाशित समाचार र लेखबारे व्यापक छलफल हुन्थ्यो ।
सादा जीवन उच्च विचारका धनी होमनाथ प्रजातन्त्र पुनर्बहालीका लागि कांग्रेस पार्टीका तर्फबाट विसं २०३६, २०४२, २०४६ मा राजधानीलगायत देशका विभिन्न कारागारमा नजरबन्दमा परे । अन्तिम पटक विसं २०६२/६३ मा प्रतिगमन कदमविरुद्धको आन्दोलनमा पनि कारागारमा थुनिनु प¥यो । विसं २०५८ मा उनी कृषि तथा गरिबी निवारणमन्त्री भए । मन्त्री पदमा काम गरेपछि उनी बेदाग फर्किए । मृत्युवरणका बेला जीवनसङ्गिनी सुधा सुगर र प्रेसरका कारण अस्पताल भर्ना भएकाले भेट हुन सकेन । पशुपति आर्यघाटमा अन्तिम बिदाइ गर्न पार्टीका तत्कालीन कार्यवाहक पार्टी सभापति पूर्णबहादुर खड्काले पार्टीको झन्डा ओडाएर सम्मान प्रकट गर्नुभयो । अन्तिम श्रद्धाञ्जलीका लागि जनप्रतिनिधि पत्रकार महासङ्घका पदाधिकारी मानव अधिकारकर्मी, विभिन्न पेसा र वर्गका व्यक्ति र कवि कलाकारको आर्यघाटमा बाक्लो उपस्थिति थियो ।
ओखलढुङ्गा वीरवीरङ्गना जन्माउने ऐतिहासिक भूमि हो । लीला, ठगी, क्याप्टेन यज्ञबहादुर थापालगायतका अमर सहिद जन्माउने भूमि भएर होला विसं २०१७ देखि २०६२/६३ सम्मका प्रजातन्त्र र लोकतन्त्रका आन्दोलनमा यो भूमिमा जन्मेका हरेक व्यक्तिको योगदान बिर्सिन सकिन्न । स्रष्टाहरू युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रगानका रचयिता ब्याकुल माइला पनि ओखलढुङ्गाका धरतीपुत्र हुन् ।
लोकतन्त्रका सच्चा पहरेदार कांग्रेसका इमानदार नेता राष्ट्रिय सभाका सांसद बलदेव बोहोरा पनि हामीबिच रहेनन् । विसं २००८ पुस ९ गते लोकतन्त्रको भूमि डडेलधुरा जिल्लाको चिपुर चौणीमा पिता श्रीराम र आमा कुन्तीदेवीका कोखबाट बोहोराको जन्म भएको थियो । १६ वर्षको कलिलो उमेरदेखि प्रतिबन्धित कालमा बोहोराले गरेका प्रजातन्त्र प्राप्तिको लडाइँ बिर्सिन नसक्नुको छ । त्यस बेलाका सुदूरपश्चिमका युवानेता शेरबहादुर देउवा, टेकबहादुर चोख्याल, बोहोरा, मकरबहादुर स्वाँर, सिद्धराज ओझा तारिणीदत्त चटौतलगायत प्रजातन्त्रका पहरेदारको अथक परिश्रम, मेहनत र प्रजातन्त्रप्रतिको निष्ठाका कारण २०४६ सालको जनआन्दोलन सफल भएको थियो । पश्चिमा मुलुकको समर्थन जुटाउन त्यस बेलाका युवानेता शेरबहादुरलाई तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईले बेलायत पठाएका थिए । त्यहाँ बस्दा देउवाले देशको राजनीतिक अवस्थाबारे बेलायतका समाजवादी नेतामाझ अवगत गराए ।
विसं २०१८ मा डडेलधुराबाट सुडा गाविस कञ्चनपुरमा बसाइँ सरेका बलदेव बोहोराले २०१७ सालको तत्कालीन राजा महेन्द्रको ‘कु’ पछि प्रवासी जीवन मात्र बिताएनन् कारागार जीवन पनि व्यतीत गरे । कञ्चनपुर कारागारबाट निस्केपछि पनि त्यसबेलाको प्रशासनले मरणासन्न हुने गरी पिटेर फालेको बताउँछन् कांग्रेसका युवानेता हरिप्रसाद बोहोरा । विसं २०४९ मा बलदेव बोहोरा कञ्चनपुर जिल्लाको जिविस सभापति भए । २०५८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुरको प्रमुख सल्लाहकार भएका बोहोराले २०७० सालको संविधान सभा सदस्य भएर पनि काम गरे ।
विसं २०७९ मा राष्ट्रिय सभाका लागि निर्वाचित हँुदा उनी मधुमेह र दुवै मिर्गौलाले काम गर्न छाडेको अवस्थामा थिए । मेरुदण्डको गम्भीर रोगका कारण पनि हलचल गर्न निकै कठिनाइ भएर काठमाडौँ मेडिकल कलेजमा भर्ना भए । उपचारका क्रममा ७५ वर्षको उमेरमा गत पुस ३० गते अस्पतालमा उहाँको निधन भयो । बोहोराको निधनले सुदूरपश्चिमको माटोले एक जना इमानदार व्यक्ति गुमायो भने कांग्रेसले भरपर्दो लोकतन्त्रवादी नेता गुमायो । चार छोरी र एक छोराका पिता बोहोराको जिन्दगी लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षमा नै बित्यो ।
कांग्रेस पार्टीमा विशेष महाधिवेशन गर्ने कि वैशाखमा नियमित महाधिवेशन भन्ने विषयले पार्टी दुई ध्रुवमा विभाजित नै भयो । आखिर विशेष महाधिवेशन भएरै छाड्यो र नयाँ युवा नेतृत्व आयो । यसले आमकांग्रेसजनमा मात्रै होइन जनमानसमा उत्साह थपिएको छ । बोहोरा अन्तिमसम्म मिलेरै जानु पर्छ भनिरहन्थे । अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा जम्मा भएका राजनीतिकर्मीलगायत विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिको बाक्लो उपस्थितिले उनी कति लोकप्रिय नेता थिए भन्ने देखाउँछ । नेपाली साहित्यका विशिष्ठ व्यक्ति तथा जननायक बिपी कोइरालाका अनुयायी प्रा. अच्युतरमण अधिकारीको पनि गत पुस २८ गते काठमाडौँमा निधन भयो । उनी पछिल्लो पटक साहित्यिक पत्रिका उन्नयनका सम्पादक थिए ।