गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ३ गते । स्रष्टा तथा समाजसेवी सहायक रथी इन्जिनियर ‘यज्ञविक्रम राणा स्मृति ग्रन्थ’ लोकार्पण भएको छ । यज्ञविक्रम राणा वाङ्मय प्रतिष्ठानद्वारा सर्जक यज्ञविक्रम राणाको १४ औँ स्मृति दिवस र १०२ औँ जन्मजयन्तीका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्राडा वासुदेव त्रिपाठी, डा. प्रेमसिंह बस्न्यात, शशिविक्रम राणा, प्राडा दयाराम श्रेष्ठलगायतले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो । यज्ञविक्रम राणाकी छोरी गीता बस्न्यातले पिताले जागिरे जीवन सँगसँगै सिर्जना, समाजसेवा, परिवारको मूली भएर निर्वाह गर्नुभएको भूमिकाका कारण बुवाप्रति समर्पित पुस्तक प्रकाशन गर्न परिवारलाई हौसला मिलेको बताउनुभयो । उहाँले उहाँहरूको कृतित्व, व्यक्तित्वको सुगन्ध घरको हरेक कुनामा मगमगाइरहेको विचार व्यक्त गर्नुभयो ।
प्राडा वासुदेव त्रिपाठीले हरेक सिर्जनशील व्यक्तित्व उहाँहरूले छोडेर गएको कृतिकै कारण अमर रहने बताउनुभयो । पुस्तकमार्फत सर्जक यज्ञविक्रम राणा सधैँका लागि चर्चामा रहिरहने आशा व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रयागराज वाशिष्ठले सो पुस्तकका सर्जक यज्ञविक्रम राणा र उहाँकी धर्मपत्नीले समाजका लागि पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो । उहाँले सो पुस्तक तयार गर्न सम्पादक एवं संयोजक यज्ञविक्रम राणाकी कान्छी छोरी बनिता राणा परिवारले दुई वर्षभन्दा लामो समयको खोज, सङ्कलन रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा डा. प्रेमसिंह बस्नेतले आफूले सैनिक सेवामा रहँदा सहायक रथी यज्ञविक्रम राणाको नेतृत्वमा गठन भएको नेपाली प्यारा कमान्डोमा रहेर सेवा गर्ने अवसर पाएको उल्लेख गर्नुभयो ।
त्यसै गरी अधिवक्ता हरि अर्यालले सर्जक यज्ञविक्रम राणाको पहलमा बानेश्वर क्षेत्रमा पुस्तकालयको स्थापना गर्ने, विभिन्न शैक्षिक गतिविधि गर्ने, पुस्तक प्रकाशन गर्नेलगायत पढ्न चाहनेलाई हौसला, सहयोग गर्ने र पुरस्कृत गर्ने स्वभावले सो क्षेत्रका बासिन्दा र परिवारभित्रका सदस्यले धेरै पढ्ने ऊर्जा प्राप्त गरेको स्मरण गर्नुभयो । सो पुस्तकमा सर्जक यज्ञविक्रम राणा र उहाँको बहुमुखी प्रतिभासहितको सक्रियताबारे उल्लेख गरिएको छ ।