• ३ फागुन २०८२, आइतबार

चालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ३ गते । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा मुलुकमा चालिस अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक (एफडिआई) प्रतिबद्धता आएको छ । 

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि माघसम्म ५२४ परियोजनामा ४० अर्ब २८ करोड ३३ लाख ८० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको हो । सो अवधिमा ५०७ साना, मझौला र ठुला गरी आठ/आठ वटा परियोजनामा लगानी प्रतिबद्धता आएको हो । सबैभन्दा धेरै साना उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाउँछ । 

सात महिनामा सबैभन्दा धेरै कृषिका १४ परियोजनामा २१ अर्ब ९० करोड ८० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै पर्यटनमूलक १५० परियोजनामा १० अर्ब ८६ करोड २० लाख ५० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै उत्पादनमूलक ३५ परियोजनामा दुई अर्ब ४० करोड ६६ लाख ४४ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सेवामूलक ३४ वटा परियोजनामा तीन अर्ब ५४ करोड ८० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै सूचना प्रविधिमूलक २८८ परियोजनामा एक अर्ब २५ करोड ९४ लाख ३६ हजार रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । दु्ई वटा खनिजजन्य परियोजनामा ११ करोड ५० लाख र एउटा ऊर्जामूलक परियोजनामा १८ करोड ४२ लाख ५० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । पूर्वाधारमूलक परियोजनामा भने लगानी प्रतिबद्धता नआएको विभागको तथ्याङ्कले देखाएको छ । 

विभागका अनुसार सुरुदेखि हालसम्म छ हजार ८२१ उद्योगमा छ खर्ब ७४ अर्ब १३ करोड ५६ लाख ६४ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । 

सरकारले विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत हुने व्यवस्था गरेसँगै थप लगानी बढ्ने अनुमान गरिएको छ । अब नेपालमा आउने सबै प्रकारका वैदेशिक लगानी स्वचालित मार्ग स्वीकृत हुने भएको छ । हालै सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने अधिकतम सीमा हटाएसँगै अटोमेटिक रुटबाट जति पनि लगानी स्वीकृत हुने भएको हो ।

यसअघि स्वचालित मार्गबाट ५० करोड रुपियाँ लगानी स्वीकृत गर्ने व्यवस्था थियो ।