अमरराज नहर्की
तनहुँ, फागुन ३ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा पछिल्लो समय सेवा विस्तार गरिएको छ । स्वास्थ्य तथा जनसङ्द्यख्या मन्त्रालयमार्फत छात्रवृत्ति करारका नौ जना विशेषज्ञ चिकित्सक खटाइएपछि अस्पतालको उपचार सेवा थप प्रभावकारी बनेको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार विशेषज्ञ जनशक्ति थपिएसँगै बिरामीको चाप व्यवस्थापनमा सहजता आएको छ । डा। श्रेष्ठले भन्नुभयो, “जनशक्ति अभावले गर्दा यसअघि अन्यत्र रिफर गर्नुपर्ने अवस्था घट्दै गएको छ ।’’
सेवा विस्तारअन्तर्गत मिर्गौला बिरामीका लागि दुई सिफ्टमा डायलाइसिस सेवा सञ्चालनमा ल्याइएको छ भने इन्डोस्कोपी सेवा नियमित गरिएको छ । आगामी दिनमा ब्रोन्कोस्कोपी, आकस्मिक शल्यक्रिया, स्त्रीरोग तथा नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ सेवा सुरु गर्ने तयारी तीव्र पारिएको केन्द्रले जनाएको छ ।अस्पतालले भौतिक पूर्वाधार सुधारलाई समेत प्राथमिकता दिएको छ ।
मुख्य भवनमा लिफ्ट जडान प्रक्रिया अघि बढाइएको छ भने अस्पताललाई ३०० शय्यामा विस्तार गर्ने लक्ष्यसहित विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको छ । सेवा विस्तारसँगै तनहुँका शुक्लागण्डकी, भीमाद, म्याग्दे र रिसिङका बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्। साथै छिमेकी जिल्ला स्याङ्जा, पाल्पा र नवलपरासीका केही स्थानीय तहका बिरामीसमेत उपचारका लागि यहाँ आउने गरेका छन्। हाल केन्द्रले हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन, ओपिडी, प्रयोगशाला र भिडियो एक्सरे लगायतका सेवा चौबिसै घण्टा उपलब्ध गराउँदै आएको छ ।
सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सेवा विस्तारलाई निरन्तरता दिइएको केन्द्रले जनाएको छ ।