• २८ माघ २०८२, बुधबार

एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

blog

बागलुङ समाचारदाता

बागलुङ, माघ २७ गते । जिल्लामा एचआइभी सङक्रमितको सङ्ख्या २१९ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार एचआइभी सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै बागलुङ नगरपालिकामा रहेको छ भने सबैभन्दा थोरै ताराखोला गाउँपालिकामा रहेको छ । 

बागलुङ नगरपालिकामा एचआइभी सङ्क्रमितको सङ्ख्या ६१, काठेखोला गाउँपालिकामा २३, ताराखोलामा तीन जना, तमानखोलामा पाँच जनामा देखिएको छ । त्यसै गरी निसीखोलामा पाँच जना, बडीगाडमा १३, बरेङमा तीन, जैमिनी नगरपालिकामा २२, गलकोट नगरपालिकामा २५ र अन्य ३८ जना रहेका छन् । जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमितमध्ये एक्काइस जना १८ वर्षमुनिका रहेका छन् । गतवर्ष २० हजार व्यक्तिमा जाँच गर्दा १० जना एचआइभी सङ्क्रमित फेला परेका थिए । घिमिरेले भन्नुभयो, “एचआइभी पुष्टि हुनेहरू अधिकांश भारतमा रोजगारी गरी फर्किएका व्यक्ति छन् ।”

सङ्क्रमितलाई गोप्य रूपमा नियमित औषधी सेवनको दायरामा ल्याउने काम चुनौतीपूर्ण भएकाले एचआइभी पहिचानको दर, उपचार पद्धति र सङ्क्रमण रोकथामलाई सन् २०३० सम्ममा ९५ प्रतिशत पु¥याउने लक्ष्य भेटाउन धेरै मेहनत गर्नुपर्ने घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार नेपालमा एचआइभी सङ्क्रमित पत्ता लगाउने दर ९३ प्रतिशत, उपचार ८६ प्रतिशत र नियन्त्रण ७७ प्रतिशत छ । 

असुरक्षित यौनसम्पर्क, रगत लिनेदिने काम तथा लागुऔषध प्रयोगकर्ताबाट एचआइभी सङ्क्रमण हुने गर्छ । सङ्क्रमितलाई दीर्घरोग तथा अन्य प्राणघातक रोग लाग्दा निको नहुने भएकाले छिटो मृत्यु हुने गरेको छ । क्षयरोग, हेपाटाइटिसलगायतका रोग लागेमा एचआइभी भएकाको मृत्यु हुने दर बढी हुने घिमिरेले जानकारी दिनुभयो । एचआइभीबारे समुदायमा चेतना विकास गर्ने, सचेत बनाउने, रोग लाग्नै नदिने उपायको खोजी गर्ने काम भइरहेको घिमिरेले बताउनुभयो । 

धवलागिरि अस्पतालको एआरटी सेन्टरबाट निःशुल्क औषधी पाइने भए पनि कतिपय उपचारको पहुँचमा नआउने, आएकाहरू पनि खुल्न नचाहने गरेकाले यो समस्या जटिल रहेको छ । 

त्यसका लागि धवलागिरि पोजेटिभ समूहले समुदायसम्मै पुगेर औषधी दिने काम गरेको छ । बुर्तिबाङ अस्पतालबाट पनि सङ्क्रमितले औषधी सेवन गरेका छन् भने अन्यले धवलागिरि अस्पतालबाटै सेवा लिएका हुन् । 

सङ्क्रमण दर कम गर्नेसँगै सङ्क्रमितलाई लान्छना र भेदभाव न्यूनीकरण गर्ने, नयाँ सङ्क्रमण रोक्ने र मृत्युदर घटाउने लक्ष्यमा जनस्वास्थ्य कार्यालयले काम गरिरहेको छ । लक्ष्य प्राप्तिका लागि जिल्लामा खोजी तथा पहिचान, उपचारको दायरामा ल्याउने र रोकथाम गर्ने क्रम चलिरहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रवीण शर्माले बताउनुभयो ।