• २१ फागुन २०८२, बिहिबार

काभ्रेपलाञ्चोकमा शान्तिपूर्ण रूपमा मतदान सुरु

blog

काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका-११ स्थित वडा कार्यालयमा मतदानका लागि उपस्थित भएका मतदाताहरू । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना

बनेपा, फागुन २१ गते । काभ्रेपलाञ्चोक जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपानेले जिल्लाका दुई निर्वाचन क्षेत्रको चार सय मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको बताउनुभयो ।

उहाँले जिल्लाका सबै मतदान केन्द्रमा बिहानदेखी नै शान्तिपूर्ण रूपमा मतदान भइरहेको बताउनुभयो । उहाँले सबै मतदान केन्द्रमा मतदाताहरूको उत्साहपूर्ण उपस्थिति रहेको बताउनुभयो । दुई वटा निर्वाचन क्षेत्र रहेको काभ्रेपलान्चोकको क्षेत्र नम्बर-१ मा ९५ मतदान स्थलमा १९८ वटा मतदान केन्द्र र क्षेत्र नम्बर-२ मा ९४ मतदान स्थलमा २०२ वटा मतदान केन्द्र रहेका छन् ।

निर्वाचनका लागि जिल्लाको क्षेत्र नम्बर-१ मा १८ जना उम्मेदवार र क्षेत्र नम्बर-२ मा २४ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई सघाउने गरी स्वतन्त्र पार्टी प्रवेश गर्नुभएको छ । निर्वाचनमा जिल्लाको क्षेत्र नम्बर-१ मा ८३ हजार ७७३ पुरुष र ७७ हजार ३२६ महिला गरी एक लाख ६१ हजार एक सय र क्षेत्र नम्बर-२ मा ८३ हजार ७२६ जन पुरुष र ८१ हजार ७८४ महिला गरेर  एक लाख  ६५ हजार ५११ मतदाता रहेका छन् भने जिल्लामा कुल तीन लाख २६ हजार ६११ मतदाता रहेका छन् ।