सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको धनकुटामा मतदान सुरु भएको छ । धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा ७ बजेबाट नै मतदान सुरु भएको जानकारी दिनुभयो ।
यस्तै धनकुटाबाट उमेदवार रहनु भएका पूर्व मन्त्री तथा नेकपा एमालेका राजेन्द्रकुमार राईले मतदान गर्नु भएको छ । बिहीबार मतदान केन्द्रमा पुगेर उम्मेदवार राईले मतदान गर्नु भएको हो । उहाँले धनकुटाको पाख्रीबास नगरपालिका–७, मुगास्थित सरस्वती प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नु भएको थियो । यस्तै आम जनता पार्टीबाट उम्मेदवार रहनु भएका प्रेमबहादुर थापाले पनि यहीँ मतदान केन्द्रमा मत खसाल्नु भएको छ ।
उत्साहका साथ बिहानै मतदान गर्न आएको पाख्रीबास नगरपालिका–७, स्थित मुगाकी ७८ बर्षीय कुमारी देवान बताउनु भयो । मतदाताहरु बिहानैबाट मतदान गर्न लाईन लागेका छन । धनकुटामा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । तीमध्ये ५० हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेका छन् । धनकुटामा ३ जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
मतदान केन्द्रमा निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएको र सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिनुभयो ।