अनिल पराजुली
हेटौँडा, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । बिहानैदेखि मतदाताहरू मतदान गर्न आफ्नो मतदान केन्द्र पुग्नुभएको हो । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा बिहानैदेखि उत्साहपूर्वक मतदान सुरु भएको प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा रहेको मतदान स्थलमा मतदान गर्न मतदाताहरू पुग्नुभएको छ । मतदान अधिकृतदेखि सबै कर्मचारी महिलाले नेतृत्व गर्नुभएको यो मतदानस्थलमा ‘क’ देखि ‘च’ सम्म ६ वटा मतदान केन्द्र छन् । ६ मतदान केन्द्रमा ३६ महिला कर्मचारी र २० महिला सुरक्षाकर्मी परिचालन भएका छन् । उक्त मतदान स्थलमा दुई हजार ८१५ महिला, दुई हजार ६७६ पुरुष र अन्य दुई जना सहित पाँचहजार ४९३ मतदाता रहेको ‘क’ मतदान केन्द्रकी मतदान अधिकृत विष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो । मतदानका लागि महिला, पुरुष र अन्य, जेयष्ठ नागरिक, गर्भवती, अशक्त, अपाङ्ग, अशक्तका लागि छुट्टै लाइनको व्यवस्था मिलाइएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा एक लाख ५३ हजार ३७६ महिला र एक लाख ६१ हजार ९५३ पुरुष गरी कूल तीन लाख १५ हजार ३३४ मतदाता रहेका छन् । जिल्लाभर १६७ मतदान स्थल तथा ३७४ मतदान केन्द्र निर्धारण गरिएको छ । यहाँ दल तथा स्वतन्त्र उम्मेदवारसहित ४४ जनाको उम्मेदवारी कायम रहेको जनाइएको छ ।