गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २८ गते । राष्ट्रिय किताबखाना (निजामती) ले भौतिक उपस्थितिबिनै सेवा दिन सुरु गरेको छ । कतिपय सरकारी कार्यालयले प्रदान गर्ने सेवा झन्झटिलो र प्रक्रियामुखी भइरहेको बेला किताबखानाले आफ्ना सबै सेवा बिनाभौतिक उपस्थिति नै सहज बनाउन थालेको हो ।
कर्मचारी सेवाबाट अवकाश हुँदा पाउने सबै सुविधाका लागि अब भौतिक रूपमा उपस्थिति भइरहन नपर्ने गरी सेवालाई क्रमिक रूपमा प्रविधिमैत्री बनाउन सुरु गरिएको हो । पेन्सनपट्टा बनाउँदा भौतिक उपस्थितिबिनै बनाउन सकिने व्यवस्था किताबखानाले गरेको राष्ट्रिय किताबखाना (निजामती) ले जनाएको छ ।
राष्ट्रिय किताबखाना (निजामती) का महानिर्देशक श्रवणकुमार पोखरेलले भन्नुभयो, “सेवाग्राहीको फोटो, हस्ताक्षरलगायत विवरण पिआइएस सिस्टमले नै स्वतः एनआइडी (राष्ट्रिय परिचयपत्र) को सर्भरबाट सेयरिङ गर्ने छ । व्यक्ति स्वयं आए पनि वा आवश्यक प्रमाण वारेसका रूपमा कसैलाई पठाए पनि हुने गरी सेवालाई सहज सर्वसुलभ र प्रविधिमैत्री बनाइएको छ ।”
सेवालाई ‘फेसलेस’ बनाउन एपिआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) विकास र प्रयोगमार्फत डिजिटल डाटा सेयरिङ सुनिश्चितता गरिएको, एपिआई प्रयोग गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणालीसँग पिआइएस प्रणाली जोडेर डिजिटल डाटा सेयरिङको व्यवस्था मिलाइएको छ । उहाँले थप्नुभयो, “आगामी दिनमा सेवाग्राहीको तस्बिर टाँस्नुपर्ने, हस्ताक्षर गर्नुपर्ने परिस्थिति अन्त्य हुँदै छ । यसले सेवालाई सहज र प्रविधिमैत्री बनाएको छ ।” केही समयपछि जिल्लाबाटै सेवा पाउने गरी इपेन्सनको गृहकार्यसमेत राष्ट्रिय किताबखानाले गरिरहेको छ ।
भौतिक उपस्थितिबिना लिन सकिने सेवामा तत्कालका लागि सञ्चित बिदाबापत पाउने सुविधा, औषधोपचार सुविधा निर्धारणपत्र र निवृत्ति डिजिटल परिचयपत्रलगायतका विषयलाई कार्यान्वयन गरिएको छ । सेवा पाउने गरी समयबद्ध प्रबन्धको समेत व्यवस्था किताबखानाले गरेको छ । सेवाग्राहीलाई दुई घण्टाभित्र सेवा प्रदान गर्ने गरी प्रबन्ध गरिएको महानिर्देशक पोखरेलले स्पष्ट पार्नुभयो ।
सेवाग्राहीले कुनै कर्मचारीलाई भनसुन हारगुहार गर्नुपर्ने अवस्था अन्त्य भएको छ । टाढाबाट आउने कर्मचारी, बिरामी, अशक्त व्यक्तिलाई सेवा सहज भएको, अन्तरसरकारी निकायबिच सूचना आदानप्रदान गरेर सेवा अगाडि बढाउँदा सेवा प्रवाहमा ठुलो योगदान पुगेको छ ।
अहिले कुल देशभर गरी ८५ हजार २७९ जना निजामती कर्मचारी रहेकोमा सङ्घीय कार्यालयमा ४० हजार १४०, प्रदेशमा १३ हजार ६४४ र स्थानीय तहमा ३१ हजार ४८५ जना कर्मचारी कार्यरत छन् । ती कर्मचारीमध्ये वार्षिक रूपमा औसतमा दुई हजार ३०० जना कर्मचारी अवकाश हुने गरेको किताबखानाको तथ्याङ्कमा उल्लेख छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले किताबखानाको सेवा प्रविधिमैत्री बनाउनका लागि आवश्यक सहयोग र समन्वय गर्दै आएको जनाएको छ ।