• १३ साउन २०८१, आइतबार

गैँडा मर्ने क्रम बढ्यो

blog

वसन्त पराजुली

कसरा, साउन १ गते । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेको छ । एक वर्षमा यहाँ ३६ गैँडा मरेका छन् । मरेकामध्ये दुईवटा चोरीसिकारीले मारेका हुन् भने ३६ वटा प्राकृतिक कारणले मरेको निकुञ्जका रेन्जर अजित यादवले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा चितवनमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए । रेन्जर यादवले भन्नुभयो, “प्राकृतिक कारणले गैँडा मर्ने क्रम देखिएको छ । प्राकृतिक कारणले मर्नेमध्ये पनि यो वर्ष सबैभन्दा बढी एकआपसमा जुधेर मरेका छन् ।”

निकुञ्जका अनुसार एकआपसमा जुधेर ११, बाढीले बगाएर दुई, दलदलमा भासिएर छ, बाघको आक्रमणबाट छवटा एवं अन्य प्राकृतिक कारणले नौवटा र दुईवटा चोरीसिकारबाट गैँडा मरेका छन् । लामो समयदेखि संरक्षणका क्षेत्रमा क्रियाशील विश्व वन्यजन्तु कोषका विज्ञ रामप्रित यादव प्राकृतिक कारणमा बूढो भएर मर्नु स्वाभाविक भए पनि अन्य कारणको मृत्यु रोक्न सकिने तर्क गर्नुहुन्छ । 

उहाँले भन्नुभयो, “सबैभन्दा बढी गैँडा एकआपसमा जुधेर मरेका छन् । यो भनेको बासस्थान साँघुरो र भालेको सङ्ख्या बढ्नुका कारण हो ।” मर्नेमा भालेकै सङ्ख्या बढी देखिन्छ । मरेकामध्ये भाले १७, पोथी १४ र लिङ्ग नखुलेका पाँचवटा गैँडा रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य पनि प्राकृतिक कारणले गैँडा मर्ने सङ्ख्या बढ्नु चिन्ताजनक भएको बताउनुुहुन्छ । 

आचार्यले भन्नुुभयो, “प्राकृतिक कारणले हुने मृत्यु दर घटाउन नै गैँडाको आन्तरिक स्थानान्तरणको योजना बनाउँदैछौँ । निकुञ्जको पूर्वी क्षेत्रभन्दा पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भयो । यसलाई पूर्व स्थानान्तरण गरियो भने मृत्यु दर घटाउन सकिन्छ कि भन्ने निष्कर्षमा छौँ ।”

बासस्थान साँघुरो र घाँसे मैदानको कमीका कारण आहाराको कमीले पनि गैँडा एकआपसमा जुध्ने गरेको बताइन्छ । ९३२ वर्गमिटर फैलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र १० हजार ४९७ हेक्टर क्षेत्रफल घाँसे मैदान छ । विभिन्न ठाउँमा ४२५ वटा घाँसे मैदानले यो क्षेत्र ओगटेको छ तर पछिल्लो समय यी घाँसे मैदान नासिँदै गएका छन् । निकुञ्ज स्थापनाताका २० प्रतिशतसम्म रहेको घाँसे मैदान अहिले घटेर १० प्रतिशतभन्दा तल झरेको छ । 

सन् २०२१ को गैँडा गणनाअनुसार नेपालमा ७५२ गैँडा रेकर्ड भएका छन् । यीमध्ये ६९४ चितवनमा रहेका छन् । यो सङ्ख्या अघिल्लो गणना सन् २०१५ को तुलनामा ८९ भन्दा बढी हो । सन् २०१५ मा ६०५ र सन् २०११ मा ५०३ गैँडा भेटिएका थिए । यहि क्रममा गैँडाको सङ्ख्या बढ्दै जाने हो भने निकुञ्जले कति गैँडा थेग्न सक्ने भन्ने अध्ययन हुनुपर्ने विज्ञ यादवको भनाइ छ ।