• २४ माघ २०८२, शनिबार

फनपार्कको रेलगाडी दुर्घटना हुँदा चार घाइते

blog

झापाको कनकाई नगरपालिका–२ स्थित ह्याप्पील्यान्ड फनपार्क । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का

 बिर्तामोड, माघ २४ गते । झापाको कनकाई नगरपालिका–२ स्थित ह्याप्पील्यान्ड फनपार्कमा रेलगाडीको डब्बा खस्दा चारजना गम्भीर घाइते भएका छन् ।

शनिबार दिउँसो २:५० बजे फनपार्कभित्रको 'रोलर कोस्टर' चलाउने क्रममा रेलको डब्बा अचानक लिगबाट फुत्किएर भुइँमा खसेको थियो । दुर्घटनामा परी बुद्धशान्ति गाउँपालिका–४ की ४५ वर्षीया पेमा शेर्पा, सोही वडाका प्रज्वल शेर्पाकी पाँच वर्षीया छोरी सुविस्ना शेर्पा, ३१ वर्षीया प्रियंका शेर्पा र बिर्तामोड नगरपालिका–१ की ५६ वर्षीया डम्बरकुमारी दर्जी गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय कनकाई नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसअघि पनि सोही फनपार्कको पौडी पोखरी (स्वीमिङ पुल) मा करेन्ट लागेर एक कामदारको मृत्यु भएको थियो । सुरक्षा सावधानीबिना नै यस्ता जोखिमपूर्ण खेलहरू सञ्चालन गर्दा सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुवास ढुङ्गानाले बताउनुभयो ।