• २४ माघ २०८२, शनिबार

‘निर्वाचन मतदान गर्ने प्रक्रिया मात्र होइन, जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो’

blog

निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधर । फाइल तस्बिर

काठमाडौँ, माघ २४ गते । निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वासनीय हुनु आवश्यक रहेको बताउनुभएको छ ।

निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त राष्ट्रिय संस्थाका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन प्रक्रियाको पर्यवेक्षणको भूमिका अत्यन्त महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो । आयुक्त तुलाधरले भन्नुभयो, “निर्वाचन केवल मतदान गर्ने प्रक्रिया मात्र होइन, यो जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्ने माध्यम हो ।”

उहाँले आममतदाताको विश्वास कायम राख, कानुनी व्यवस्था र आचारसंहिताको पालना सुनिधित गर्न तथा निर्वाचन व्यवस्थापनलाई थप सुधारोन्मुख बनाउन निष्पक्ष, वस्तुनिष्ठ र जिम्मेवार पर्यवेक्षणले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको बताउनुभयो । 

आयुक्त तुलाधरले भन्नुभयो, “निर्वाचन पर्यवेक्षण कार्यमा निर्वाचनसम्बन्धी प्रचलित कानुन, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना हुनु आवश्यक छ । पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी निष्पक्ष रूपमा आफ्नो कर्तव्यमा संलग्न हुनुपर्दछ ।”

पर्यवेक्षण कार्यमा संलग्न रहँदा तटस्थता, निष्पक्षता र व्यावसायिक आचरण अत्यावश्यक रहेको बताउँदै उहाँले व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष निकाल्ने कार्य नगरी तथ्यमा आधारित पर्यवेक्षण र अवलोकनमा केन्द्रित हुन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “पर्यवेक्षणका क्रममा मतदान प्रक्रिया, मतगणना वा निर्वाचन व्यवस्थापनमा संलग्न कर्मचारीको नियमित कार्यमा कुनै किसिमको अवरोध, हस्तक्षेप वा प्रभाव पर्ने गतिविधि तथा कुनै पनि पक्षपातपूर्ण व्यवहार गर्न पाइने छैन । प्रचलित निर्वाचन कानुन र आचारसंहिताको उल्लङ्घनतर्फ सचेत रहनु जरूरी छ ।”

आयुक्त डा तुलाधरले निर्वाचन प्रक्रियालाई अझ पारदर्शी, विश्वासयोग्य र जनउत्तरदायी बनाउन सबैले उच्च नैतिकता, व्यावसायिकता र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह सुझाव दिनुभयो । रासस