• २३ माघ २०८२, शुक्रबार

दाजुभाइको भारतको कोइलाखानीमा मृत्यु

blog

कोइलाखानीमा भएको विस्फोटमा मृतक दाजुभाइ ।

राजकुमार भट्टराई

खोटाङ, माघ २३ गते । जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । वराहपोखरी गाउँपालिका–१, वराहपोखरीस्थित सालघारी भन्ज्याङका खड्गबहादुर खपाङ्गी मगरका तीन जना छोरामध्ये जेठो र माइलो छोराको बिहीबार भारतको कोइलाखानीमा भएको विस्फोटमा मृत्यु भएको हो । 

विपन्न परिवारका मगर दाजुभाइ आर्थिक जोहो गर्न गत पुस ३ गते गाउँका अन्य व्यक्तिहरूसँग भारतको मेघालय गएका थिए । मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी मगर र भाइ २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको घटनास्थलमै मृत्यु भएको हो । 

पैसा कमाउँछु भनेर परदेश गएका दुवै छोराको ज्यान गएपछि यता परिवारको बिचल्ली भएको वराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । घरमा बुवा–आमा कान्छो छोरा र जेठा छोराको श्रीमती र एक बच्चा रहेका छन् । जेठा र माइला छोराको कोइलाखानीमा ज्यान गएपछि परिवारलाई ठुलो बज्रपात परेको छ । 

घटनास्थलमा बोलाएपछि आफन्तहरू शुक्रबार भारत गएको वडाध्यक्ष कार्कीले बताउनुभयो । सोही घटनामा वराहपोखरीस्थित भन्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।  

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये वराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराउनुभएको हो । 

वराहपोखरीसँगै रोजगारीको सिलसिलामा खोटाङका विभिन्न ठाउँका स्थानीय युवा हिउँदको समयमा काम खोज्दै मेघालय जाने गरेका छन् । भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी हालसम्म आएको छैन् । 

मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुहुँदै ज्यान गुमाउनेको परिवारलाई २ लाख भारुका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसैगरी घाइतेलाई ५० हजार भारुका दरले उपचार खर्च दिने बताइएको छ ।