• २० माघ २०८२, मङ्गलबार

अमेरिकामा सात सर्जक सम्मानित हुँदै

blog

ल्यांकास्टर, (अमेरिका) माघ २० गते ।   नेपाली गीत-संगीतलाई विश्व बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA) ले आफ्नो दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी मार्च २९, २०२६ मा अमेरिकाको पेन्सल्भेनियास्थित ल्यांकास्टरमा आयोजना गर्ने भएको छ ।

स्थानीय साहित्यिक संस्था ‘साहित्य कला संगम’ सँगको संयोजन र व्यवस्थापनमा हुने उक्त सम्मेलनमा संघको साङ्गठनिक गतिविधिमाथि छलफल हुनुका साथै विविध साहित्यिक तथा सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ ।

यस वर्षको ‘INLA ज्ञानेन्द्र गदाल गीत सम्मान’ विशिष्ट कवि तथा लोकप्रिय गीतकार दिनेश अधिकारीलाई अर्पण गरिने भएको छ । अधिकारी यस सम्मानबाट सम्मानित हुने दोस्रो व्यक्तित्व हुनुहुन्छ । यसअघि पहिलो पटक यो सम्मान ख्यातिप्राप्त गीतकार तथा कलाकार नीर शाहलाई प्रदान गरिएको थियो । यो सम्मानको राशि १,००१ अमेरिकी डलर रहेको छ ।

सम्मेलनका अवसरमा नेपाल र प्रवासमा रहेर नेपाली संगीतमा उल्लेखनीय योगदान पुर्‍याउने अन्य ६ जना सर्जकहरूलाई जनही ५०० अमेरिकी डलर र सम्मानपत्र प्रदान गरिने संघका अध्यक्ष डा. हरि उप्रेतीले जानकारी दिनुभएको छ । सम्मानित हुने सर्जकहरूमा गीत लेखनमा नेपालबाट पुरु लम्साल र प्रवासबाट साबू गदाल कार्की । संगीत सिर्जनामा नेपालबाट तृप्ति खड्का नेपाल र प्रवासबाट अगम गुरुङ । गायनमा नेपालबाट यशोदा पराजुली र प्रवासबाट डम्बर खापुङ सुब्बा रहेका छन् । 

नेपाली कला र स्रष्टाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान र प्रोत्साहन गर्ने यो कदमले नेपाली गीतसंगीतको विश्वव्यापी पहिचानमा थप मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ ।