गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २० गते । नेपाल मुक्तक प्रतिष्ठाको १३ औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ मुक्तककार उषा शेरचन र मुक्तककार डा. रूपक श्रेष्ठ (बेलायत) सम्मानित हुनुभएको छ ।
प्रतिष्ठानले वरिष्ठ मुक्तककार शेरचनलाई ५१ हजार रुपियाँसहित भीमदर्शन मुक्तक पुरस्कार र मुक्तककार डा. श्रेष्ठलाई ३१ हजार रुपियाँसहित कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार प्रदान गरेको हो । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठ र नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले दुवै मुक्तककारलाई सम्मान गर्नुभएको हो । नेपाल पर्यटन बोर्डमा भएको आयोजनामा आइतबारै मुक्तक दिवस पनि सम्पन्न भएको थियो ।
सो कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेको प्राडा लक्ष्मणप्रसाद गौतमको नेपाली मुक्तकको रचनाविधान, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाद्वारा प्रकाशित इलिङ स्मारिका र डा. रूपक श्रेष्ठका कृति ‘चौशुल’ र ‘पोख्तक’ (अङ्ग्रेजी संस्करण) को लोकार्पण पनि गरिएको थियो ।
पूर्वप्रधान न्यायाधीश श्रेष्ठले मुक्तक विधालाई समाजको संवेदनशील र अति सूक्ष्म साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै “मुक्तक समाजलाई थोरै शब्दमा धेरै कुरा भन्न सक्ने शक्तिशाली विधा हो,” भन्नुभयो । अध्यक्ष कोनेले मुक्तक विधाको सौन्दर्य र गहिराइलाई सरल रूपमा व्याख्या गर्नुहुँदै थोरैमा धेरै र विन्दुमा सिन्धु अटाउने साहित्यिक विधा नै मुक्तक भएको बताउनुभयो ।
यसै गरी सम्मानित शेरचनले यस सम्मानले मुक्तक विधाप्रतिको आफ्नो जिम्मेवारी अझ बढेको महसुस भएको बताउनुभयो । अर्का सम्मानित डा. श्रेष्ठले मुक्तकलाई आत्म अनुशासन र चेतनाको अभ्यासका रूपमा वर्णन गर्दै मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन हो, भन्नुभयो । नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार प्राडा लक्ष्मणप्रसाद गौतम, समालोचक केशव सिग्देल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्रतिष्ठानका पूर्वमहासचिव रमेश पौडेलले पनि मुक्तक विधाबारे आआफ्नो धारणा राख्नुभयो ।