शिक्षकको सीप र क्षमताको प्रयोग गर्दै धेरैले जीवनको लामो यात्रा तय गर्छन् तर शिक्षक जहाँको तहीँ रहन्छ । देवीप्रसाद पराजुलीले पनि अनेकौँ दुःखकष्ट सहेर गाउँमा स्कुल खोल्नुभयो । ३२ वर्षसम्म अनवरत रूपमा त्यही स्कुलमा प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभयो । हजाराैँ विद्यार्थीलाई शिक्षाको दियोले प्रज्वलित गराइदिनुभयो । विद्यार्थीलाई देश विदेशसम्म उड्न सक्ने गरी शिक्षारूपी पखेटा हालिदिनुभयो । आफू भने उमेरले साथ दिँदासम्म दुर्गममा रहेको सोही स्कुलको विकासमा निरन्तर खटिइरहनुभयो । पराजुलीको सम्मानमा चेला, समकक्षी तथा इष्टमित्रको संयुक्त प्रयासमा हालै प्रकाशन भएको छ– ‘हेडसर देवीप्रसाद पराजुली’ । यस पुस्तकले शिक्षाको विकासमा उहाँको समर्पणलाई जनसमक्ष ल्याएको छ ।
भोजपुर जिल्लाको अरुण गाउँपालिका (तत्कालीन चरम्बी गाउँ विकास समिति) वडा नम्बर ४ मा १९९२ सालमा जन्मनुभएको हो पराजुली । उहाँले औपचारिक शिक्षा १८ वर्षको उमेरमा मात्रै सुरु गर्नुभएको थियो । यो २०१० सालको प्रसङ्ग थियो । पाँच वर्ष मात्रै औपचारिक तथा अनौपचारिक रूपमा पढेर उहाँले २३ वर्षको उमेरमा २०१५ सालमा एसएलसी परीक्षा (हाल एसईई) उत्तीर्ण गर्नुभयो । २०२० सालमा धनकुटा क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेपछि उहाँले वीरेन्द्र माध्यमिक विद्यालय कुलुङको हेडमास्टरको जिम्मेवारी लिनु भयो । त्यसअघि २०१६ सालमा आईए पढ्दा पनि केही समय प्याउलीको शारदा माध्यमिक विद्यालयमा पढाएको अनुभव उहाँसँग थियो ।
वीरेन्द्र माध्यमिक विद्यालयमा पढाउँदै गर्दा अग्रज शिक्षासेवीले गाउँमै माध्यमिक विद्यालय स्थापना गर्न झक्झक्याएपछि उहाँले २०२२ साल वैशाख १ गते चरम्बीमै अरुणोदय माध्यमिक विद्यालय स्थापना गर्नुभयो । विविध व्यवधानको सामना गर्दै खोलिएको उक्त विद्यालयमा पराजुलीले सुरु वर्षदेखि नै प्रधानाध्यापकको रूपमा काम गर्नुभयो । निरन्तर २२ वर्षसम्म उक्त पदमा रहेर काम गरेपछि उहाँलाई सरकारले उत्कृष्ट प्रधानाध्यापक (त्यतिखेर हेडसर) को रूपमा छनोट ग¥यो र २०४४ सालमा बाँकेमा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारी दिएर पठायो । एउटा सामुदायिक विद्यालयका हेडसरलाई सम्मान स्वरूप राजपत्राङ्कित दोस्रो श्रेणीको जिम्मेवारी दिएर पठाउँदा पनि पराजुलीलाई गाउँको मायाले छोडेन । जिशिअको जिम्मेवारी त्यागेर एक वर्षपछि फेरि गाउँ नै फर्कनुभयो र शैक्षिक उन्नयनमा अविच्छिन्न लागिरहनुभयो । यस विद्यालयले अहिले पनि कक्षा १२ सम्मको पढाइ सञ्चालन गरिरहेको छ । शैक्षिक विकास, सामाजिक सेवा, नैतिक मूल्य र मान्यता स्थापित गर्दै गाउँमा विद्यालय स्थापना गर्न लागिपर्नु भएका पराजुली शिक्षा दानलाई सबैभन्दा ठूलो दान मान्नुहुन्थ्यो । त्यही भएर जीवनका हरेक प्रहरमा आएका प्रशस्त अवसरका वरमालाहरूलाई त्यागेर आफ्नो गाउँको शैक्षिक उन्नयनमा मन, वचन र कर्मले समर्पित भइरहनुभयो । शैक्षिक उन्नयनमा तगारो हाल्नेको दुर्वचन र दुःस्साहसलाई शालीनता, मधुरता र मृदुमुस्कानले लघारेर निरन्तर अभियानमा लाग्ने क्षमता थियो पराजुलीमा ।
उहाँ पद र पैसा भन्दा जिम्मेवारी र कर्तव्यलाई सर्वोपरि ठान्दै गाउँको शैक्षिक दियोलाई चम्काउने अभियानमा निरन्तर लागिरहनुभयो । एमएसम्मको अध्ययन गर्दा अनेकौँ दुःखकष्ट, आर्थिक सङ्कट बेहोर्नुभयो । निरन्तर ३२ वर्षसम्म प्रधानाध्यापक बनेर स्कुलको नेतृत्व गर्नुभयो । विद्यालयको आर्थिक सङ्कटका कारण कहिलकाहीँ उहाँ आफूले पाउनुपर्ने पारिश्रमिकसमेत लिनु हुँदैनथ्यो । कहिले आधा मात्रै लिने गर्नु हुन्थ्यो भने कहिलेकाहीँ त्योभन्दा पनि थोरै लिएर विद्यालयमा आर्थिक योगदान गर्नु हुन्थ्यो । विद्यालय स्थापनामा उहाँले देखाउनुभएको अदम्य साहसबाट प्रभावित भएर स्थानीय बासिन्दाले पनि भरपुर सहयोग गरेका थिए ।
लगनशील, धैर्यता, इमानदारी र शालीनता उहाँका गुण थिए । कार्य सम्पादनमा सधैँ मन, वचन र कर्मले पूर्ण दत्तचित्त रहनुहुन्थ्यो । दुर्गम जिल्लाको सामान्य परिवारमा जन्मेर पनि शैक्षिक रूपान्तरणको अभियानमा होमिनु भएको थियो । समाजमा ठूलोभन्दा पनि असल हुन सबैलाई अभिप्रेरित गर्नु हुन्थ्यो । शिक्षक, असल प्रशासक मात्रै नभएर कथा, कवितालगायत विविध साहित्यिक विधामा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।
जिशिअको भूमिकामा रहन सरकारले गरेको आग्रहलाई समेत बेवास्ता गरेर उहाँ आफ्नै स्कुलको मायाले गाउँ फर्कनुले द्रव्यभन्दा पनि शिक्षाप्रति उहाँको लगाव उच्च थियो भन्ने पुष्टि हुन्छ । ‘गड्यौलामा अल्झिनुहुँदैन, माछा मार्नुपर्छ’ भन्दै पराजुली आफ्ना विद्यार्थीलाई उच्च मनोकाङ्क्षाका साथ अध्ययनमा लाग्न प्रेरित गरिरहनुहुन्थ्यो । यही योगदानको कदर गर्दै उहाँले भोजपुर जिल्लाको शिक्षा समितिबाट तीन पटक प्रशंसापत्रसहित नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । राष्ट्रिय शिक्षा पुरस्कार तथा अन्य पदकलगायत दर्जनौँ पुरस्कार उहाँले प्राप्त गर्नु भएको थियो । विषम् परिस्थितिमा पनि हाँसी हाँसी समस्या समाधानको बाटो पहिल्याउन सक्ने क्षमता भएको पराजुलीले स्याउले कटेरोलाई सुविधा सम्पन्न आधुनिक विद्यालयमा परिणत गरेर दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुभयो । त्यसपछि पनि चरम्बीको चेतनालाई निरन्तर मलजल गरिरहनुभयो । शैक्षिक साधनालाई निरन्तरता दिइरहनु भयो । हरेक कर्मलाई व्यक्तिगत लाभ र हानिसँग तुलना गर्न अभ्यस्त अहिलेका पुस्तालाई प्रशस्त प्रेरणा दिन यो पुस्तक उपयोगी छ । साथै अग्रजको सम्मान, स्मरण र उहाँहरूले देखाउनुभएको पदचापलाई पछ्याउनुपर्छ भन्ने भावना जागृत गराउन पनि पुस्तक फलदायी देखिन्छ ।
आफ्नो जिम्मेवारीप्रति जागरुक, लगनशील र मिहिनेती भएकैले कठिन परिवेशमा पनि पराजुलीले शिक्षाको ज्योति बाल्दै अक्षरको बीउ रोप्नुभयो । त्यसैले त चरम्बी र भोजपुरवासीले उहाँको सम्मान गर्छन्, इज्जत दिन्छन् र स्मरण गर्छन् । त्यही इज्जत, सम्मान र स्मरणको मात्रा दैनन्दिन बढिरहेको छ । उहाँले बाल्नुभएको दियोले हजारौँ दियो बलिसकेका छन् । भविष्यमा त्यही दियोले अरू हजारौँ दियो बाल्नेछन् । विश्वव्यापी रूपमै फैलिएको कोरोनाका कारण गत वर्ष उहाँले यस धर्तीबाट बिदा लिनु भयो तर उहाँले देखाउनुभएको सत्मार्ग सबैका लागि प्रेरणादायी बनेको छ ।