• २६ पुस २०८१, शुक्रबार

चीनसँगका व्यापार मार्ग सञ्चालन गर्न सहमति

blog

काठमाडौँ, असार ३२ गते । नेपाल–चीन सिमानासम्बन्धी परामर्श संयन्त्रको बैठकमा दुई देशको सीमा व्यवस्थापनसँगै व्यापार मार्ग सञ्चालन गर्ने सहमति भएको छ । बैठकमा नेपाल–चीन सम्बन्धको समग्र अवस्थाबारे जानकारी आदानप्रदान गर्नुका साथै दुई देशबीचको सीमा र सीमा व्यवस्थापनका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भर्चुअल रूपमा भएको बैठकमा नेपाल–चीन सिमानाको संयुक्त निरीक्षणको महत्त्वलाई जोड दिँदै विद्यमान द्विपक्षीय संयन्त्रलाई आपसी परामर्शबाट सक्रिय गर्न प्रक्रिया थाल्न दुवै पक्ष सहमत भएका छन् । कोभिड–१९ को स्वास्थ्य सुरक्षाका नियम पालना गर्दै रसुवागढी–केरुङ सीमा बन्दरगाहबाट दुईतर्फी व्यापार सुचारु गर्न नेपाल–चीन दुवै पक्षले बैठकमा सहमति जनाएका छन् । यसका लागि दुवै पक्षले सीमा क्षेत्रमा महामारी रोकथाम र नियन्त्रण संयन्त्र स्थापना गरेर प्रक्रिया अघि बढाइने भएको छ । 

नेपालको उत्तरी हिमाली क्षेत्रका जनताको जीविकोपार्जनमा टेवा पु-याउने उद्देश्यले दुवै पक्षले आवश्यक कोभिड–१९ स्वास्थ्य सुरक्षाका लागि आवश्यक नियम लागू गरी चीनबाट आउने सामान र निर्माण सामग्रीको ढुवानीका लागि हिल्सा–पुराङ सीमा बन्दरगाह खोल्ने निर्णय गरेको मन्त्रालयले उल्लेख गरेको छ । 

परराष्ट्र मन्त्रालयस्थित पूर्वोत्तर एसिया महाशाखा प्रमुख लोकबहादुर थापाले नेपाली प्रतिनिधिमण्डलको र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिला विभागका महानिर्देशक होङ लियाङले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । नेपाली प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी, बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत र ल्हासास्थित नेपाली महावाणिज्य दूतको सहभागिता थियो ।