• १३ साउन २०८१, आइतबार

सडक दुर्घटना न्यूनीकरणका उपाय

blog

नेपालमा मनसुन सुरुवातसंँगै देशैभरका धेरै सडकको अवस्था दयनीय देखिन थालेको छ । एक महिनाअघि मात्रै मुग्लिनमा सडक भासिँदा सर्वसाधारण नागरिकको मृत्युवरण भयो भने पोखराको अति व्यस्त सडक भासिएको समाचारसमेत आएका छन् । भौगोलिक दृष्टिकोणले हिमाली र पहाडी भागहरूमा सडक अवरुद्ध हुने क्रम जारी छन् ।

जसका कारण सर्वसाधारण मर्कामा परिरहेका छन् । राजधानीलगायतका मुख्य सहरमा समेत सडक व्यवस्थित रूपमा निर्माण हुन नसक्दा ढलसमेत सडकमै बग्ने र यातायात अवरुद्ध हुने समस्या बढ्न थालेका छन् । वर्षायाममा सडक अवरुद्ध हुँदा सवारीसाधनमा सर्वसाधारणको सहज पहुँच हुन सकिरहेको पाइँदैन ।

मुलुकका विभिन्न स्थानमा सडक दुर्घटनामा थुप्रै नागरिकले ज्यान गुमाएका र कैयौँ घाइते भएका दुःखद समाचार आइरहेका छन् । हालसालै मात्र रामेछापबाट छुटेको बसको बे्रक फेल हुँदा धेरै जना नागरिकको मृत्युको दुःखद खबरसँंगै तराईका विभिन्न स्थानमा तीव्र गतिमा चलाइएका सवारीसाधनहरू एकआपसमा ठोक्किँदा धेरै नागरिकले अनाहकमा ज्यान गुमाएका ताजा खबर हामीमाझ रहेकै छन् । यी र यस्ता दुर्घटना न्यूनीकरणका लागि चालक आफैँ सचेत, अनुशासित हुनुका साथै सवारीसाधनको अवस्थासमेत राम्रो हुनुपर्ने देखिन्छ । 

चाडपर्वको समयमा तीव्र गति, मदिरा सेवन र ट्राफिक नियम उल्लङ्घन गरी जथाभावी सवारी चलाउंँदा नागरिक अकालमै मृत्युवरण गर्न पुगेका छन् । सवारी चालकको अत्यधिक लापरबाहीका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ तर यो मात्रै सडक दुर्घटनाको कारण भने अवश्य होइन । सरकारले सडकसम्बन्धी ठोस कानुन कार्यान्वयनमा कडाइ, सडक मर्मत, सवारी चालक अनुमतिपत्र दिँदा पु¥याउनुपर्ने तालिमलगायतका विषयमा ध्यान दिनु आवश्यक छ ।

क्षमताभन्दा बढी यात्रु चढाउने, ओभरलोड, हतारिएर सवारीसाधन चलाउने र सडकको दुरवस्थाका कारण सडक दुर्घटना हुने गरेका छन् । राजधानीभित्र बिस्तारै ट्राफिक जाम बढ्न थालेको देखिएको छ । राजधानीलगायत मुख्य राजमार्गहरूमा जथाभावी पशु चौपाया छोडेका कारण र वर्षौंदेखि राखिएका ट्राफिक सङ्केत चिह्नहरू (बत्ती) अझै पनि नबल्दा थप दुर्घटना बढेको अवश्य नै हो । 

राजधानीभित्र र राजधानीबाहिरका राजमार्गहरू फराकिलो बनाउने भन्दै सरकारले काम थाले तापनि विभिन्न बाधा अड्चनका कारण समयमै काम सकिएको छैन भने कम गुणस्तरका सामग्री प्रयोग गरी पुल निर्माण हुंँदा पुल भासिने र भत्किएको समाचार हाम्रा अगाडि आइरहेकै छन् । सडक छेउका घर धमाधम भत्काएको पनि वर्ष दिनभन्दा बढी नै भइसक्यो तर ती स्थानमा अहिलेसम्म पनि सडक निर्माणको कामले गति लिन सकेको छैन भने गति लिएकै ठाउंँमा पनि कछुवा गतिले काम अघि बढेको छ ।

जनताले आशा गरेबमोजिमका स्थानीय जनप्रतिनिधिले समेत अपेक्षित कार्य गर्न सकेको देखिँदैन । राजधानीका सडकमा सडक दुरवस्था भएकै कारण दिनदिनै सवारी दुर्घटना हुने क्रम बढ्ढै गइरहेको छ । काठमाडाँै उपत्यकाको नयाँबानेश्वरमा मङ्गालका कारण सडक भ्वाङ्ग परेको, कपनमा सडक समयमै निर्माण नहुँदा एक जना बालकको मृत्यु भएको घटना चानचुने होइन तर सम्बन्धित निकाय यसप्रति किन सचेत देखिएको छैन ? समयमा काम नसक्ने निर्माण व्यवसायीलाई किन कारबाही गरिदैन, चौतर्फी प्रश्न उठेकै छ । 

विशेषगरी बिहान र बेलुका चक्रपथबाहिरका सानाठूला सडकमा ठूल्ठूला ट्रिपर चलाइनुले गर्दा सडक बिगँ्रदै गइरहेका छन् भने उपत्यका भित्रने राजमार्गमा क्षमताभन्दा बढीका सामान आयात–निर्यात हुँदा सडक र पुल कमजोर हुंँदै गइरहेका छन् । सरकारले सडक सुधार र ट्राफिक व्यवस्थापनका लागि समय–समयमा धेरै पटक अनेक नीति नियमहरू र प्रतिवेदनहरू सार्वजनिक गर्ने गर्दछ तर ती व्यवहारमा कति हदसम्म लागू भए, भएनन् भनेर मूल्याङ्कन सरकारले गर्न सकिरहेको छैन । सडक चौडा र फराकिलो हुनेबित्तिकै सवारी दुर्घटना कम हुने होइन । जबसम्म आम सवारी चालक, पैदल यात्रुबीच जनचेतना जागृत हुँदैन तबसम्म दुर्घटनामा कम हुन सक्दैन । सडक विस्तारको क्रममा सडकमै रहेको बिजुली, टेलिफोनका पोल, इन्टरनेटका तारहरू यत्रतत्र छरिएर रहेका र वातावरण बिगारिरहेका छन्, यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ । 

काठमाडौँलगायत मुलकुका विभिन्न सहरमा ट्राफिक व्यवस्थापन गर्नका लागि सहरका सडकमा अनिवार्य सडकपेटी हुनु आवश्यक रहेको छ । त्यस्तैगरी ट्राफिक चिह्न र जेब्राक्रसहरूको व्यवस्थाका अलावा पर्याप्त पार्किङको व्यवस्था, लेन अनुशासनको पालना, सफा र व्यवस्थित सडक, यात्रुका लागि यात्रु प्रतीक्षालय र समयानुकूल ट्राफिक नियम हुनुपर्दछ । मुख्य सहरमा बाटो विस्तार गरी चौडा बनाइए तापनि जथाभावी मोटर, मोटरसाइकल पार्किङ र फुटपाथ पसलेका कारण पहिले सडक नबढाउँंदाकै अवस्थाको झझल्को दिइरहेको आभास सजिलै गर्न सकिन्छ । अहिले राजधानीभित्र कोटेश्वरदेखि बल्खुसम्म छ लेनको सडक बनाइएको छ तर ती सडक काट्न सर्वसाधारणलाई हम्म्मेहम्मे पर्ने र दुर्घटना हुने अत्यधिक सम्भावना रहेको छ । यसतर्फ सरकारले समयमै ध्यान दिनु जरुरी छ । 

ती सडकमा पर्याप्त मात्रामा जेब्राक्रस, आकाशे पुल, ट्राफिक सङ्केत चिह्न अनिवार्य रूपमा राख्नुपर्ने आवश्यकता छ । सडक फराकिलो भएकै कारण भक्तपुर–कोटेश्वर सडक खण्डमा दिनहँुं दुर्घटना भई थुप्रै नागरिकले आफ्नो ज्यान गुमाइसकेका छन् । तीव्र गतिका कारण मात्रै दुर्घटना भएका अवश्य होइनन्, सडकको दुरवस्था, ट्राफिक सङ्केत चिह्न नभएका कारण सिकारुहरूले राजमार्ग र मुख्य सडकमा गाडी चलाउनु, सडकको स्तरोन्नति नहुनुका कारणले पनि सडक दुर्घटना हुने गरेका छन् । गाडीले क्षमताभन्दा बढी यात्रु राखेका कारण गाडी अनियन्त्रित हुनु, चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउनु, सवारीसाधन  मर्मतसम्भारको अभावमा बिग्रनु, अझैसम्म सिन्डिकेट कायम रहनु आदि सवारी दुर्घटनाका मुख्य कारण हुन् । 

नेपालमा बर्सेनि सडक दुर्घटनाबाट थुप्रै नागरिकले ज्यान गुमाउनुपरेको तथ्य हाम्रा अगाडि छर्लङ्गै रहेको छ । ट्राफिक प्रहरीका अनुसार सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई लिइएको छ । चालकको लापरबाहीका कारण ६७ प्रतिशत, यात्रुको गल्तीले चार प्रतिशत, ओभरटेकबाट चार प्रतिशत, तीव्र गतिका कारण १५ प्रतिशत, यान्त्रिक गडबडीका कारण चार प्रतिशत र अन्य कारणमा छ प्रतिशत रहेका छन् । 

मुख्यतया सडक दुर्घटना हुने प्रमुख कारणमा ट्राफिक नियम कार्यान्वयन नगर्नु, सडकको भौतिक अवस्था, यान्त्रिक कारण, मानवीय कारण, मौसम तथा अन्य विभिन्न कारण मुख्य रूपमा रहेका छन् । मादक पदार्थ सेवन र चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारीसाधनलाई समय–समयमा मर्मतसम्भार गरी चुस्तदुरुस्त अवस्थामा राख्न सकिएको खण्डमा र सडक सुधार्ने, मर्मतसम्भार गर्ने, यात्रु तथा पैदल यात्रु सचेत हुने र ट्राफिक नियम पालना गर्न सकिएको खण्डमा सडक दुर्घटनालाई केही हद भए पनि न्यूनीकरण गर्न सकिन्छ । 

त्यस्तैगरी नेपालमा सवारी दुर्घटना बढ्नुको प्रमुख कारणमध्ये थोत्रा सवारीसाधन चलाउनु, दशकौँदेखि सडकको स्तरोन्नति नहुनु, खाल्डाखुल्डी, सडक छेउछाउमा बनाइएका अव्यवस्थित भौतिक संरचना आदि रहेका छन् । ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उच्च रक्तचाप, तनाव, मोबाइलको प्रयोग, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढेको जनाएको छ । 

अतः सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक ऐन, नीति–नियम बनाएर लागू गर्नुपर्दछ र भएका कानुनमा समेत समयसापेक्ष परिमार्जन गर्दै लानुपर्दछ । सडक दुर्घटना रोक्न सरकारी क्षेत्रबाट कडाभन्दा कडा कानुन ल्याउनुपर्दछ । सरकारले राजमार्गमा ट्राफिकको लाइन र यू टियुनहरू बनाइदिनुपर्दछ । त्यस्तैगरी जनचेतना दिने खालका होर्डिङ बोर्ड राख्नुपर्दछ । 

चालकले मापसे नगरी ट्राफिक नियमको पालना गरी होसियारी र सावधानीपूर्वक आफ्नो सवारीसाधन चेक गरी, बिग्रेका भए  मर्मतसम्भार गरी चलाउनुपर्दछ । राजमार्गलगायत राजधानीका सडकमा जथाभावी चौपाया छोड््नेहरूलाई कडा कारबाही गरिनुपर्दछ । त्यस्तैगरी सडक अवरुद्ध हुने गरी सभा सम्मेलन, धर्ना दिने कार्यक्रम राख्नु हुंँदैन, फुटपाथ पसलहरू हटाइनुपर्दछ । ट्राफिक चिह्न पर्याप्त मात्रामा राख्ने, सडकमा भएका खाल्डाखुल्डी सरकारले समयमै पुर्ने व्यवस्था गर्न सकिएको खण्डमा केही हदसम्म सडक दुर्घटना न्यून गर्न सकिन्छ ।