काठमाडौं, असार ३१ गते । गृहमन्त्री बालकृष्ण खाणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने प्रतिबद्धता गर्नुभएको छ ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै गृहमन्त्री खाणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने बताउनुभएको हो ।
उहाँले संविधानले व्यवस्था गरेको नागरिकतासँग सम्बन्धित प्रावधानहरुको आधारशिलामा उभिएर नागरिकतासम्बन्धी विधेयक बनाइएको बताउनुभयो । गृहमन्त्री खाणले संविधान परिवर्तनीय रहेको भन्दै राजनीतिक दलहरुको सहमतिका आधारमा परिष्कृत गर्दै समयानुकूल बनाउन सकिने बताउनुभयो ।
गृहमन्त्री खाणले सरकारले जस लिनका लागि नागरिकतासम्बन्धी विधेयक नल्याएको स्पष्ट पार्नुभयो । उहाँले दोषारोपण र जस–अपजसबाट माथि उठ्न आग्रह गर्नुभयो । उहाँले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गराउनु साझा सङ्कल्प भएको बताउनुभयो ।