• २ चैत २०८२, सोमबार

‘अमेरिकामा पढेको ज्ञानलाई सदुपयोग गर्छु’

blog

नवराज नेपाली

गलकोट (बागलुङ), चैत २ गते  । बागलुङ क्षेत्र नम्बर १ का नवनिर्वाचन प्रतिनिधि सभा सदस्य सुशील खड्काले उच्च शिक्षा अमेरिकामा लिनुभयो । अमेरिकाबाट १२ वर्ष पहिला नेपाल फर्केर उद्यममा लाग्नुभएको थियो । अमेरिकाको बसाइँ त्यागेर मातृभूमि फर्कनुभएका खड्का राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर लागेको बताउनुहुन्छ । बागलुङ नगरपालिका–३, गुठी निवासी खड्का विदेशमा आर्जन गरेको ज्ञान, नेपालको यथार्थतालाई नीति निर्माणमा खर्चने सोचका साथ राजनीतिमा लागेको बताउनुहुन्छ । उहाँले अन्ततः संसद् भवनको यात्रा तय गर्नुभएको छ । 

खड्काले सामाजिक काममा जोडिँदै नयाँ राजनीतिक नेतृत्वमा समावेश हुनुभएको थियो । खड्का फोहोर व्यवस्थापकदेखि समाजसेवामा सक्रिय रहँदै रास्वपाबाट बागलुङ क्षेत्र नम्बर १ मा उम्मेदवार भएर मैदानमा उत्रेर पहिलो पटक भारी मतले संसद्को यात्रा तय गर्नुभयो । खड्काले बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमध्ये २० हजार ९२७ मत प्राप्त गर्नुभएको थियो ।  खड्काले प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम श्रीसलाई आठ हजार ९८३  मतले पछाडि पार्दै खड्का प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गर्नुभएको छ । उहाँसँगको प्रतिस्पर्धामा नेकपा (एमाले) का हिराबहादुर केसीले आठ हजार ६४० मत प्राप्त गर्नुभयो  । बागलुङमा आर्थिक विकास, रोजगारी, हरित वातावरण र उद्यमशीलतामा अगाडि बढाउने उहाँले दाबी गर्नुभयो । 

सुशील खड्कासँग केमिकल इन्जिनियर, अर्थविद् तथा उद्यमीका रूपमा काम गरेको अनुभव छ । खड्काले अमेरिकाबाट केमिकल इन्जिनियरिङ तथा अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । उच्च शिक्षापश्चात् नेपाल फर्किएर खड्का पछिल्लो १२ वर्षदेखि व्यवसाय, हरित उद्यम र सामाजिक सेवामार्फत मातृभूमिको सेवामा सक्रिय रहनुभएको थियो । उहाँले नीति निर्माणलाई उद्यमसंग जोड्न राजनीतिमा आएको बताउनुभयो । उद्यमसंगै नीति निर्माणमा संसद्मा आवाज उठाउने बताउनुभयो । 

खड्काले नेपालमा रेस्टुरेन्ट, कृषि, फोहोरमैला व्यवस्थापन तथा हरित लगानीसम्बन्धी विभिन्न उद्यम स्थापना तथा सञ्चालन गर्दै आउनुभएको छ । खड्काले ‘अभ्नी भेन्चर्स’ मार्फत देशकै ठुलो प्लास्टिक रिसाइक्लिङ सञ्जाल स्थापना गरी चार सयभन्दा बढीलाई रोजगारी सिर्जना गरिरहेको दाबी गर्नुभयो । सामाजिक सेवामा सक्रिय खड्काले हिमाली जिल्लामा सरसफाइ अभियान सञ्चालन, रोटरी इन्टरनेसनलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक कार्यक्रममा सहभागिता तथा बागलुङका धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पु¥याइसक्नुभएको छ ।  

डिजिटल सुशासनमार्फत भ्रष्टाचार अन्त्य, पारदर्शी तथा जनमैत्री सेवा प्रवाह, युवालाई स्वदेशमै रोजगारी, उद्यमशीलताको प्रवर्धन, कृषिको व्यवसायीकरण, दिगो पर्यटन विकास, प्राविधिक शिक्षालाई राष्ट्रिय केन्द्रका रूपमा विकास तथा वैज्ञानिक फोहोर व्यवस्थापन प्रणाली लागु गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । 

खड्काले भन्नुभयो, “हरित उद्यमको अनुभवलाई बागलुङसँंग जोड्ने योजना बनाएको छु । जिल्लाका अलपत्र योजना पूरा गर्नेलगायतका जनमुखी काम गर्ने योजना बनाएको छु ।”