गौशाला (महोत्तरी), माघ १६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा महोत्तरीको राजनीतिक वातावरण केवल तातेको मात्र छैन, परम्परागत गणितभन्दा बाहिरको सम्भावनाको आंकलन गरिएकोछ । चारवटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा यसपटकको चुनाव परम्परागत जित–हारको गणितभन्दा धेरै बाहिर पुग्ने सङ्केत देखिन थालेका छन् । विश्लेषकहरूका अनुसार दलगत संगठन, पैसाको प्रभाव, जातीय समीकरण र मतदातामा बढ्दै गएको वैकल्पिक राजनीतिक सोचले महोत्तरीमा अप्रत्यासित परिणाम ल्याउन सक्ने अवस्था सिर्जना गरेको छ ।
महोत्तरीको भौगोलिक र सामाजिक संरचना नै यहाँको निर्वाचनलाई जटिल बनाउने प्रमुख कारण हो। राजमार्गसँग जोडिएको सहरी क्षेत्र, उत्तरतर्फका पहाडी बस्ती र दक्षिणका ग्रामीण तथा मधेसी बस्तीबिच फरक–फरक प्राथमिकता देखिन्छ । यही विविधताले एउटै क्षेत्रमा पनि मतदाताको झुकाव फरक बनाइदिएको छ । यसपटक उम्मेदवारहरूका लागि पार्टीको झण्डाभन्दा पनि व्यक्तिगत छवि, पहुँच र विगतको कार्यसम्पादन बढी निर्णायक बन्ने सङ्केत देखिन्छ ।
राजमार्ग र उत्तरी भेग समेटिएको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेल प्रमुख दाबेदारका रूपमा मैदानमा हुनुहुन्छ । बर्दिवास क्षेत्रमा पूर्वाधार विकास, सरकारी कार्यालय स्थापना र लामो राजनीतिक यात्राका कारण उहाँ यस क्षेत्रमा लोकप्रिय मानिनुहुन्छ । २०६४ सालदेखि निरन्तर यसै क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आउनु भएका पोखरेलको यो पाँचौँ चुनावी यात्रा हो । तीनपटक लगातार जित हासिल गरे पनि २०७९ मा एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित हुनु भएको थियो । यसपटक पुनः यी दुई नेताबीच प्रत्यक्ष प्रतिस्पर्धा हुँदा चुनाव रोचक बनेको छ । भने कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मत काट्ने सम्भावना बढाएका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट मुकेश काफ्ले उम्मेदवार हुनुहुन्छ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक काफ्ले प्रशासनिक अनुभव बोकेर राजनीतिमा प्रवेश गर्नुभएको हो । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद महतो उम्मेदवार बनेका छन् । नयाँ राजनीतिक धार र परिवर्तनको नाराले यहाँका युवा मतदातालाई आकर्षित गर्न सक्ने आँकलन गरिएको छ । बहुदलीय भिडन्तका कारण क्षेत्र नं. १ मा मत विभाजन भई नतिजा उल्टिन सक्ने सम्भावना देखिएको छ ।
क्षेत्र नम्बर २ मा राजनीति अनुभव र प्रतिष्ठाको लडाइँमा केन्द्रित देखिन्छ। शरतसिंह भण्डारी र किरण यादव दुवैको राजनीतिक इतिहास गहिरो छ । यहाँ मतदाता केवल उम्मेदवारको नाम होइन, उनीहरूले बोकेको विचारधारा, आन्दोलनको स्मृति र विकासप्रतिको प्रतिबद्धतालाई तौलि रहेका छन् । परम्परागत मत बैंक भए पनि नयाँ पुस्ताको सोच र असन्तुष्ट मतदाताको सङ्ख्या बढ्नुले नतिजा एकतर्फी नहुने सङ्केत गरेको छ । नेकपा एमालेका कसिफ नदाफ उम्मेदवार हुनुहुन्छ ।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ यसपटक झनै रोमाञ्चक देखिएको छ । ४१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएकाले यहाँ मतदाताको निर्णय अनुमान गर्न कठिन बनेको छ । कांग्रेसका बजरङ्ग नेपाली, एमालेका मनोज सिंह, जसपा नेपालकी मिनाक्षी ठाकुर झा, राष्ट्रिय स्वतन्त्र पार्टीका उज्ज्वल झा र स्वतन्त्र उम्मेदवार रामआधार कापरबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । पार्टी एकीकरणपछि टिकट नपाएपछि हरिनारायण यादव स्वतन्त्र उम्मेदवार बनेपछि यहाँको चुनावी समीकरण थप जटिल बनेको छ ।
निर्वाचन क्षेत्र नम्बर ४ मा तीन जना पूर्वमन्त्री एकैसाथ मैदानमा हुनुहुन्छ । कांग्रेसका महेन्द्रकुमार राय, जसपा नेपालका डा. सुरेन्द्र यादव र नेकपाका भरतप्रसाद साह बिचको प्रतिस्पर्धाले यो क्षेत्र पनि चर्किएको छ । एमालेका निलम अधिकारीको उपस्थितिले चुनाव थप अनिश्चित बनेको छ ।
यहाँ अनुभव नै मुख्य हतियार बनेको देखिए पनि मतदाता अब केवल विगत होइन, भविष्यको स्पष्ट खाकासमेत खोजिरहेका छन् । एमालेका उम्मेदवारको उपस्थितिले त्रिकोणभन्दा पनि बहुकोणीय प्रतिस्पर्धा सिर्जना गरेको छ ।
महोत्तरीको निर्वाचन यसपटक दलगत गणितभन्दा बाहिर गएर मतदाताको मनोविज्ञानमा केन्द्रित हुँदै गएको छ । अनुभव र नयाँ सोच, परम्परा र परिवर्तनबीचको यो द्वन्द्वले जिल्लामा अप्रत्यासित नतिजा ल्याउन सक्ने सम्भावना प्रबल बनाएको छ ।
समग्रमा महोत्तरी जिल्लाको कुनै पनि क्षेत्रमा कसैको एकल दाबेदारी नरहेको र चारवटै निर्वाचन क्षेत्रमा अप्रत्यासित मत परिणाम आउन सक्ने विश्लेषकको बुझाइरहेको छ ।