• १९ चैत २०८२, बिहिबार

जेनजी आन्दोलनमा जलाइएको दमकल सञ्चालनमा आउन सकेन

blog

जेनजी आन्दोलनमा आगजनी गरेपछि थन्किएको हरिवन नगरपालिकाको दमकल । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत १९ गते । गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीबाट तोडफोड र आगजनी हुँदा क्षतिग्रस्त बनेको हरिवन नगरपालिकाको दमकल सञ्चालनमा आउन सकेको छैन् ।

हावाहुरी र आगलागीको मौसम सुरु भएसँगै दमकलको अभाव खड्किन थालिसकेको छ । हरिवन नगरपालिकाको यो दमकलले सर्लाही जिल्लाभर तथा छिमेकी जिल्लामा समेत सेवा दिँदै आएको थियो ।

जेनजी आन्दोलनमा क्षतिग्रस्त पारिएको दमकल अहिले नगरपालिका कार्यालय परिसरमा थन्काएर राखिएको छ । प्रदर्शनकारीले दमकलसहित फोहोर उठाउने गाडी र अन्य सवारी साधन तथा नगरपालिका कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

नगरपालिका कार्यालय मर्मत र रङरोगन गरी सञ्चालनमा ल्याइए पनि दमकलसहित अन्य सवारी साधन त्यत्तिकै थन्किएका छन्।

हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) ले तोडफोड र आगजनीपछि थन्किएको दमकल अब मर्मतको तयारी गरिएको बताउनुभयो । जेनजीको नाममा अराजक र राजनीतिक पूर्वाग्रह प्रेरित मानिसले दमकलजस्तो अति आवश्यक सवारीमा आगजनी गरेकोप्रति स्थानीयले आपत्ति जनाउँदै आएका छन् । 

आगजनीपछि थन्किएको दमकल नगरपालिकाले आफ्नै खर्चमा मर्मत गर्ने तयारी गरेको नगर प्रमुख बुढाथोकीले बताउनुभयो । दमकलमा आगजनी गर्नेको तस्बिर र भिडियो सार्वजनिक भए पनि अहिलेसम्म कारबाही भएको छैन् ।

“जजसले तोडफोड र आगजनी गरेको भए पनि अब मर्मत त नगरपालिकाले नै गर्नुपर्ने भयो,” नगर प्रमुख बुढाथोकीले भन्नुभयो, “दमकल मर्मत गर्ने भन्ने निर्णय भइसकेको छ, कहाँ पठाउने भन्ने निधो गर्न बाँकी छ ।”

जेनजी आन्दोलनको क्रममा हरिवन नगरपालिकाको दमकल र अन्य सवारी साधनसहित लालबन्दी, बरहथवालगायत पालिकामा पनि सरकारी गाडीमा आगजनी गरिएको थियो ।

त्यसमध्ये अत्यावश्यक सवारी अन्तर्गत पर्ने दमकल सबै निकायले समन्वय गरेर तुरुन्त मर्मत गर्न जरुरी रहेको स्थानीयले बताएका छन् ।

सर्लाहीमा यसै वर्ष बरहथवा निवासी समाजसेवी सरोज यादवले बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकालाई एक, एक थान दमकल उपलब्ध गराएकाले राहत मिलेको छ ।

त्यस्तै मधेश प्रदेश सरकारले प्रत्येक जिल्लालाई उपलब्ध गराएको दमकलमध्ये सर्लाहीका लागि प्राप्त दमकल नेपाली सेनाको कालीध्वज गण पाँचकुमारी ब्यारेकको संरक्षणमा राखिएको छ ।सदरमुकाम मलङ्गवा नगरपालिकासँग यसअघि देखि नै एक थान दमकल रहेको छ ।