अनिल पराजुली
हेटौँडा, चैत १९ गते । मकवानपुरको कैलाश गाउँपालिकाका २२४ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । नियमित तथा ग्रेडवृद्धितर्फ गरी उक्त सङ्ख्यामा विद्यार्थी परीक्षा सहभागी भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख समीर जोशीले जानकारी दिनुभयो ।
बिहीबारबाट सुरु भएको परीक्षामा कैलाशका ६ वटा माध्यमिक विद्यालयमध्ये कालिका माध्यमिक विद्यालयका विद्यार्थीले हेटौँडा–४ स्थित भूटनदेवी परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् भने अन्य पाँच विद्यालयका विद्यार्थीले कैलाश गाउँपालिका–९ स्थित कालिका मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् । उक्त विद्यालयलाई गत वर्षदेखि पहिलो पटक परीक्षा केन्द्रका रूपमा तोकिएको हो ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक लोकबहादुर मुक्तानले विगतमा विद्यार्थीहरू मनहरी, थाहा र हेटौँडा पुगेर परीक्षा दिनुपर्ने बाध्यता रहेकोमा गत वर्षदेखि पालिकामै परीक्षा केन्द्र कायम गरी समस्या समाधान गरिएको बताउनुभयो । भौगोलिक विकटताका कारण विद्यार्थीलाई हुने असहजतालाई मध्यनजर गर्दै परीक्षा सञ्चालनमा सहजता ल्याइएको उहाँको भनाइ छ ।
त्यस्तै, परीक्षा केन्द्रसम्म आवतजावत गर्न कठिनाइ हुने भएकाले विद्यार्थीका लागि केन्द्र परिसरमै खाना तथा आवासको व्यवस्था गरिएको अध्यक्ष मुक्तानले जानकारी दिनुभयो । यसका लागि आवश्यक सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने जनाएको छ । हेटौँडामा परीक्षा दिने विद्यार्थीका लागि समेत खानाको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
कैलाशका ६ विद्यालयबाट नियमिततर्फ १४९ जना र ग्रेडवृद्धितर्फ ७५ जना गरी कुल २२४ जना विद्यार्थी परीक्षा सहभागी भएका छन् । विद्यालयगत रूपमा कमलादेवी माविबाट नियमित १५ र ग्रेडवृद्धि ५, भवानी माविबाट नियमित ३२ र ग्रेडवृद्धि १९, व्यास माविबाट नियमित ३७ र ग्रेडवृद्धि २३, धुवाङ माविबाट नियमित १० र ग्रेडवृद्धि ५, रत्नज्योति माविबाट नियमित २१ र ग्रेडवृद्धि ११ तथा कालिका माविबाट नियमित ३४ र ग्रेडवृद्धि १२ जना सहभागी भएका छन् ।
कालिका मावि परीक्षा केन्द्रमा मात्र नियमिततर्फ ११५ र ग्रेडवृद्धितर्फ ६३ गरी १७८ जना विद्यार्थीले परीक्षा दिएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार जिल्लामा यस वर्ष एसईईका २८ वटा परीक्षा केन्द्र कायम गरिएको छ । गत वर्ष कैलाशमा थप एक केन्द्र समावेश गरिएपछि केन्द्र सङ्ख्या २८ पुगेको हो । यस वर्ष मकवानपुर जिल्लाबाट कुल ७ हजार १९२ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् । जसमा नियमिततर्फ ५ हजार ५२७ र ग्रेडवृद्धितर्फ १ हजार ६६५ जना रहेका छन् ।