• २६ माघ २०८२, सोमबार

पञ्चायतदेखि सङ्घीय गणतन्त्रसम्म भण्डारीको निरन्तर चुनावी यात्रा

blog

शरदसिंह भण्डारी

गौशाला (महोत्तरी), माघ २६ गते । नेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, आन्दोलन र प्रयोगको साक्षी रहँदै आएको छ । यही परिवर्तनशील राजनीतिमा केही यस्ता व्यक्तित्व छन्, जसले शासन प्रणाली जेसुकै भए पनि जनमतको परीक्षणबाट कहिल्यै पन्छिन चाहेनन् । त्यस्तै एक विशिष्ट नाम हो—शरदसिंह भण्डारी ।

वि.सं. २०३८ सालदेखि हालसम्म निरन्तर चुनावी मैदानमा उभिनु सामान्य विषय होइन । पञ्चायत व्यवस्था, बहुदलीय प्रजातन्त्र, संविधानसभा हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा पनि भण्डारीको राजनीतिक सक्रियता र चुनावी प्रतिबद्धता अविच्छिन्न देखिन्छ । उहाँले वि.सं. २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो । महोत्तरीबाट चुनाव जित्दै राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुभएका उहाँ त्यसयता प्रत्येक निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ ।

वि.सं. २०४३ को दोस्रो राष्ट्रिय पञ्चायत निर्वाचनमा पुनः विजयी हुनुभएका भण्डारी बहुदलीय व्यवस्थापछि पनि राजनीतिबाट अलग हुनुभएन । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बन्नुभयो, यद्यपि उक्त निर्वाचनमा पराजय बेहोर्नु पर्‍यो । तर उहाँका लागि पराजय अन्त्य थिएन, बरु निरन्तरताको अर्को अध्याय थियो ।

२०५१ सालको मध्यावधि निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भई प्रतिनिधिसभामा प्रवेश गर्नुभएका भण्डारीले २०५६ सालमा नेपाली कांग्रेसबाट उम्मेदवार भई पुनः जित हासिल गर्नुभयो । त्यसपछि मधेस केन्द्रित राजनीतितर्फ उन्मुख हुँदै २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उम्मेदवार बन्नुभयो, तर उक्त निर्वाचनमा सफलता प्राप्त हुन सकेन ।

२०७० सालमा दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै पराजय भोग्नुपरे पनि उहाँको राजनीतिक यात्रामा विराम आएन । २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–२ बाट क्रमशः राजपा र लोसपाबाट उम्मेदवार भई विजयी हुनुभयो । हाल उहाँ जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट पुनः प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नुभएको छ । यो उहाँको दशौँ चुनावी प्रयास हो, जुन आफैंमा एउटा कीर्तिमान हो ।

चुनावी यात्रासँगै भण्डारीको मन्त्री पदको इतिहास पनि अत्यन्तै विशिष्ट छ । उहाँले पञ्चायत कालदेखि हालसम्म करिब २० पटक मन्त्रीको जिम्मेवारी सम्हाली सक्नुभएको छ । पञ्चायत तथा स्थानीय विकास सहायक मन्त्रीदेखि लिएर स्वास्थ्य, रक्षा, पर्यटन, श्रम, ऊर्जा, युवा तथा खेलकुदजस्ता महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व गर्दै उहाँले विभिन्न कालखण्डमा शासन व्यवस्थाको अनुभव लिनुभएको छ ।

मरीचमान सिंह श्रेष्ठदेखि लिएर शेरबहादुर देउवा, कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, माधव नेपाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली र पुष्पकमल दाहालसम्मका सरकारमा मन्त्री भइसक्नुभएका भण्डारी नेपालको समकालीन राजनीतिक इतिहासका साक्षी मात्र होइन, सक्रिय पात्र पनि हुनुहुन्छ ।

पार्टी परिवर्तन, विचारको पुनर्संयोजन र सत्ता–विपक्षको यात्रा हुँदै पनि चुनावी लोकतन्त्रप्रतिको उहाँको प्रतिबद्धता अद्वितीय देखिन्छ । पञ्चायतदेखि सङ्घीय गणतन्त्रसम्म निरन्तर चुनाव लडिरहनु उहाँको राजनीतिक जिद, अनुभव र आत्मविश्वासको प्रतीक हो । यही निरन्तरताले शरदसिंह भण्डारीलाई नेपाली राजनीतिमा एक अलग पहिचान दिएको छ ।

फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका भण्डारीलाई यस पटक जित निकाल्न त्यति सहज देखिँदैन । यस क्षेत्रबाट कांग्रेसका किरण यादव, नेपाल कम्युनिस्ट पार्टीका लक्ष्मणकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका दीपककुमार शाहसहित १५ राजनीतिक दलका र २२ स्वतन्त्र गरी जम्मा ३७ उम्मेदवार चुनावी मैदानमा छन् ।

नेता भण्डारीले चुनावमा लडेका सबैलाई समान रूपमा प्रतिस्पर्धीका रूपमा लिएको बताउनुहुन्छ । उहाँले सबै उम्मेदवार अहिले परीक्षामा बसेको र जनताले जसले राम्रो काम गरेको छ तथा जनताका लागि राम्रो गर्न सक्ने उम्मेदवारलाई नै जिताउने बताउनुभयो । आफूले राम्रो काम गरेको भए जनताले पुनः अवसर दिनेमा विश्वास व्यक्त गर्नुभयो ।

भङ्गहा नगरपालिका–१, २, ६, ७ र ८, बलवा नगरपालिका–११, लोहरपट्टि नगरपालिका–९, महोत्तरी गाउँपालिका–६, औरही नगरपालिका–७, ८ र ९, पिपरा गाउँपालिका–६ तथा एकडारा गाउँपालिका–६ महोत्तरी क्षेत्र नम्बर–२ मा पर्छन् ।

यस क्षेत्रमा एक लाख सात हजार ५९४ मतदाता छन् । साथै ६२ मतदानस्थलमा १३३ मतदान केन्द्रको व्यवस्था गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले बताउनुभयो । निर्वाचन अभियान अघि बढेसँगै यसलाई स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था सुदृढ गरिएको जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

स्थानीयका अनुसार यस क्षेत्रको मुख्य समस्या वर्षायाममा बाढी, कटान र डुबान तथा सुख्खा याममा खानेपानीको अभाव रहेकाले यी समस्याको समाधान गर्ने उम्मेदवारलाई मत दिने बताएका छन् ।

नदीको बहाव व्यवस्थापनका लागि मजबुत तटबन्ध, कुलो तथा नहरको समुचित प्रबन्ध नहुँदा हरेक वर्ष स्थानीय बासिन्दाले दुःख भोग्नुपरेको बलवा नगरपालिका–२ का सिकिन्दर पासवान बताउनुहुन्छ । उहाँका अनुसार वर्षायाममा बाढी, कटान र डुबानको समस्या मात्र होइन, सुरक्षित खानेपानीको समेत चरम अभाव देखिने गरेको छ ।

त्यस्तै, लोहरपट्टि निवासी लक्ष्मेश्वर यादवका अनुसार किसानका लागि सिँचाइको सुनिश्चितता, समयमा गुणस्तरीय बिउ–बिजन र मलखादको उपलब्धता, सहज कृषि कर्जा तथा बाढीबाट बचाउने स्थायी बाँध निर्माणको प्रतिबद्धता जनाउने उम्मेदवारलाई नै आफूहरूले मत दिने बताएका छन् ।