काठमाडौं, असार ३१ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद पवित्रा निरौला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको भन्ने विषयबारे संसदलाई स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद खरेलले संसद बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नुभएको हो ।
सो सम्बन्धमा प्रधानमन्त्री देउवाले संसद बाहिर कुरा उठाउनु भए पनि संसदभित्र जानकारी नगराउनुभएको उहाँको गुनासो छ ।
सांसद खरेलले झापा जिल्लाको विभिन्न स्थानमा जङ्गली हात्ती आतङ्कका कारण धानबाली लगाउने अवस्था नआएको जानकारी गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सांसद खरेलले धानबाली लगाउने बेलामा सरकारले धानको बीउको व्यवस्था गर्न नसकेको गुनासो गर्नुभयो ।