• १३ माघ २०८२, मङ्गलबार

सुदूरपश्चिमको थारू साहित्य र स्रष्टा

blog

विषय प्रवेश 

देश सङ्घीय संरचनामा गइरहेका बेला भाषिक, सांस्कृतिक रूपले हामीलाई नटुक्य्राइयोस् भनेर थारू अगुवा थरुहट प्रदेशका लागि जुर्मुराएका थिए । यसमा थारू स्रष्टाले पनि आवाज बुुलन्द गरेका थिए । उनीहरूको चाहना थियो, चितवनदेखि पश्चिम कञ्चनपुरसम्म थरुहट प्रदेश होस् । नभए कम्तीमा दाङ देउखुरीदेखि कञ्चनपुरसम्म भए पनि थरुहट प्रदेश कायम गरियोस् । यसै व्रmममा २०७२ भदौ ७ र ८ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका व्रmममा केही प्रहरी दाजुभाइ मारिए । त्यसपछि थरुहट आन्दोलन उठ्न सकेन । अन्ततः २०७२ असोज ३ गते संविधान घोषणा भयो । भाषिक तथा जनसाङ्ख्यिक हिसाबले चौथो सङ्ख्यामा रहेको थारू समुदायको थरुहट प्रदेश बनेन । कैलाली र कञ्चनपुर सुदूरपश्चिममा समेटिएको छ । दाङ देउखुरीको यो पङ्क्तिकार लुम्बिनी प्रदेशवासी भएको छ । भाषिक, सांस्कृतिक रूपले जोडिएकाले होला मलाई भने सुदूरपश्चिममा समेटिएको कैलाली र कञ्चनपुर पनि आफ्नै प्रदेशमा भएको झैँ लाग्छ । यस आलेखमा सुदूरपश्चिमका केही थारू स्रष्टासँगको सम्झना समेटिएको छ । त्यस क्षेत्रको थारू साहित्यको साङ्गोपाङ्गो यसमा परेको छैन । 

थारू लेखक सङ्घ र कैलाली 

थारू, नेपाली र अङ्ग्रेजी गरी मेरा ३२ पुस्तक प्रकाशित छन् । त्यत्तिकै सङ्ख्यामा पुस्तक, पत्रिका पनि सम्पादन गरिएको छ । वास्तवमा लेखन स्वान्त सुखाय कर्म हो तर म आफ्नो निजी लेखनसँगै अरू पनि आफ्नो समुदायका लागि केही न केही निरन्तर लेखून् भन्ने उत्प्रेरक, अभियन्ता ठान्दछु । खास गरी थारू भाषी लेखकलाई घचघच्याई रहन्छु । यसकै फलस्वरूप थारू लेखक सङ्घ नेपाल गठन गरिएको छ; जसको म विगत १२ वर्षदेखि अध्यक्ष छु । यो संस्थालाई औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालय धनगढीमा दर्ता गरिएको छ । यही संस्थाको गतिविधिका लागि भए पनि म वर्षमा दुई पटक झैँ कैलालीको फन्को लगाउने गरेको छु । 

थारू लेखक सङ्घको विगत पनि कोट्याउन मन लाग्यो । थरुहट आन्दोलनका व्रmममा २०७२ भदौ ७ र ८ गते टीकापुरमा जघन्य घटना भएपछि थारू समुदाय प्रशासनबाट प्रताडित भयो । थारू समुदायलाई अरू समुदायले हेर्ने नजरिया फरक भयो । आन्दोलन लाठी, भाला, बर्छाबाट होइन, कलमबाट पनि गर्न सकिन्छ भन्ने हेतुले मित्र सुशील चौधरीसँग ‘काठमाडौंसे कन्चनपुरसम साहित्यिक गोरपासु’ अर्थात् काठमाडौँदेखि कञ्चनपुरसम्म साहित्यिक यात्रा २०७२ को दसैँ छेकोमा गरिएको थियो । हाम्रो सुस (सुशील–सर्वहारी) जोडीबाट विभिन्न स्थानमा म्याराथन शैलीमा कार्यव्रmम गर्दा यस यात्राले थारू स्रष्टा एकजुट हुनुपर्ने सन्देश दियो । फलस्वरूप सोही वर्ष मेरो गृहजिल्ला दाङको घोराहीमा थारू साहित्यिक मेला आयोजना गर्ने तय गरियो तर विविध कारणवश २०७३ वैशाख ३ र ४ मा मात्र कार्यव्रmम गर्न सकियो । सोही थारू साहित्यिक मेलाको भेलाले मेरो अध्यक्षतामा थारू लेखक सङ्घ जन्मायो ।

थारू साहित्यिक मेलाको दोस्रो वर्षको कार्यव्रmम कैलालीको पटेलामा गरियो । सरकारी, अर्धसरकारी निकायबाट एक सुको पनि नलिई गज्जब कार्यव्रmम गर्न सकिएकोमा मन चङ्गासरि उडेको थियो । त्यसपछि थारू साहित्य राष्ट्रिय सम्मेलन नामकरण गरेर तेस्रो र चौथो व्रmमशः बर्दिया र रूपन्देहीमा आयोजना गरियो । छैटौँ कार्यव्रmम सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको कृष्णपुरमा गर्दा पनि गाउँलेबाट उत्साहजनक साथ पाइयो । डगौरा र राना थारू समुदायमा केही मतभिन्नता देखिएकामा त्यसलाई जोड्न राखिएको सेसनमा राना थारू समुदायका वक्ता उपस्थित नहुँदा खिन्नता महसुस भएको थियो । थारू साहित्य राष्ट्रिय सम्मेलन–२०८१ सम्म विभिन्न जिल्लामा गरी नवौँ संस्करण पार गरेको छ । प्रत्येक संस्करणमा पुस्तकको बिव्रmीवितरणदेखि दर्जन हाराहारीमा थारू भाषाको विभिन्न विधामा पुस्तकको लोकार्पण भएको देख्दा मन प्रफुल्ल हुन्छ । 

थारू लेखक सङ्घ कहाँ दर्ता गर्ने भनेर व्यापक छलफल गरिएको थियो । यसलाई काठमाडौँमै दर्ता गर्नुपर्ने आवाज पनि नउठेको होइन तर सुशील–सर्वहारी जोडीलाई के लाग्यो भने टीकापुरको जुन घटनाका कारण थारू साहित्यिक देश दौडाहा गरियो, त्यसको सम्मानका लागि कैलालीमै संस्था दर्ता हुनु पर्छ । वास्तवमा दाङपछि कैलाली थारू साहित्यको उर्वरताको हिसाबले सुदूरपश्चिम होइन, सुदूरपूर्व नै हो भन्ने मेरो ठम्याइ छ । अहिले थारू लेखक सङ्घबाट आजीवन सदस्य र कार्यव्रmम गरेर जोगाएको रकमले अक्षयकोष खडा गरी ५० हजार र २५ हजारको दुइटा पुरस्कार स्थापना गरिएको छ । यी पुरस्कार थारू मातृभाषामा लेख्नेलाई प्रत्येक वर्ष समर्पण गर्न पाउँदा मन गद् गद् हुन्छ । 

साहित्य डो-याएका राजनीतिकर्मी 

राजनीति गर्नेहरू पनि साहित्यिक कर्ममा जोडिएका छन्, त्यसबाट सुदूरपश्चिमका थारू स्रष्टा अछुतो छैनन् । गोचाली परिवार कैलालीले जोखन रत्गैयाको सम्पादनमा २०४९ सालमा मुक्तिक डगर (मुक्तिको बाटो) वार्षिक पत्रिका प्रकाशन ग¥यो । जोखनले पछि थारू मुक्ति साप्ताहिक पत्रिका पनि आफ्नै सम्पादनमा प्रकाशित गरे । उनी मेरा पत्रमित्र थिए । २०५७ सालमा उनले थारू भाषामै व्रmान्तिकारी गजलसङ्ग्रह ‘चोराइल मन’ प्रकाशित गरेर हुलाकमार्फत पठाइदिएका थिए । अव्यवस्थित पुस्तकालयले यो पुस्तक हाल मेरो सङ्कलनमा छैन । उनले थारू भाषामै भुत्वा (भूत) महाकाव्यलगायत विविध विधामा आधा दर्जन कृति तयार पारेको र चाँडै छापिने बताएका थिए । 

विडम्बना गोचाली परिवारसम्बद्ध सदस्यलाई २०५८ मङ्सिर ८ को सङ्कटकालपछि खोजी खोजी पव्रmाउ गरियो । गोचाली, मुक्तिक डगर पत्रिका एकप्रति भेटिए पनि प्रशासनले पव्रmाउ गर्न थालेपछि धेरैले आफ्नो बर्सौंदेखि सङ्कलित पत्रिका जलाउनुप¥यो । यस कारबाहीले सिङ्गो थारू साहित्यिक पत्रकारितालाई पनि उथलपुथल पा¥यो । सङ्कटकालमा माओवादी पार्टीसँग आबद्ध पत्रमित्र जोखन रत्गैया मारिए । उनीपछि उनका भाइ जगत रत्गैयाले मुक्तिक डगर पत्रिका सम्पादन गर्दै आएका थिए, सुरक्षाकर्मीबाट तिनी पनि मारिए । पत्रमित्र जोखन जोसँग मेरो कहिल्यै भेट भएन । आज उनकी छोरी इन्दु थारू लेखनमा जाज्वल्यमान भएर आएको देख्दा लेखनमार्फत समुदायमा जागरण ल्याउने जोखनको बाँकी सपना पूरा भएको हो कि भन्ने लाग्छ । इन्दुको नेपाली भाषामा निबन्धसङ्ग्रह अनि थारू भाषामा ‘बुधनी’ उपन्यासको अनुवाद प्रकाशित छ । 

टीकापुरनजिकको गाउँ नुक्लीपुर, कैलालीका लक्ष्मणकिशोर चौधरी हाल सुदूरपश्चिम प्रदेश सभा सदस्य छन् । पटक पटक मन्त्रीसमेत भए । यिनी मेरा ५० का दशकका मित्र हुन् । लामो समय थारू चलचित्र निर्देशन, नायक भएर रुम्मलिए । लक्ष्मणकिशोर जोगेठवा ‘परदेशी’ को नामले लेख्ने यिनको इज्जतके दाम (२०५५) कथासङ्ग्रह प्रकाशित छ, जसमा शीर्षक कथासहित आठ थान कथा समावेश छन् । यिनका अरू कृति प्रकाशित भएनन् । तेस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका यिनले आफ्नैबारे पुस्तक लेखे हुन्थ्यो भन्ने लाग्छ । 

टीकापुरनजिकको गाउँ जगतपुर, कैलालीका रेशमलाल चौधरीसँग २०५३ सालमा काठमाडौँ उक्लिँदा जम्काभेट भएको हो । यिनको सोही वर्ष थारू भाषामा एकठो बिरहीन कथा (कवितासङ्ग्रह) प्रकाशित भएको थियो । टीकापुरमा ८ कक्षा पढ्दै गर्दा यिनको सम्पादनमा जोगनी (पुतली) पत्रिका पनि प्रकाशन भएको रहेछ । पछि गीत लेखनमा व्यस्त यिनले आफ्नो रचना, स्वर, सङ्गीतमा भुवर विहान (२०५४) नामक थारू गीति क्यासेट निकाले । थारू भाषामा यी दुई कृतिमा मात्रै चित्त बुझाएका नेपालीमा भने यिनको स्वर, सङ्गीतमा सयौँ गीत रेकर्ड छन् । यिनी थारू भाषाको कमैया चलचित्रको निर्माता, निर्देशक नायकसमेत हुन् । धेरै वर्ष रेडियोकर्मी भएका यिनी पछिल्लो पटक मधेशवादी दलबाट सांसद भए । टीकापुर घटनामा मुछिएर आठ वर्ष काराबास बसे । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रहे तर श्रीमती रन्जिता श्रेष्ठसँग फाटो बढ्दा अर्को पार्टी खोल्ने धुनमा छन् । २०८२ सालमा थारू तथा नेपाली भाषामा पुनः गीत ल्याएका छन् । उनको एक असल मित्रको नाताले राजनीतिक धुनभन्दा सङ्गीतकै धुनमा उनी लागिदिए हुन्थ्यो जस्तो लाग्छ ।

शिक्षणसँगै साहित्य

थारू समुदायका व्यक्ति सबैभन्दा बढी शिक्षण पेसामै छन् कि भन्ने मलाई लाग्छ । टीकापुरनजिकको गाउँ धर्मापुर, कैलालीका भोजराज चौधरी सायद शिक्षणबाट निवृत्त हुने अवस्थामा छन् । यिनी पनि मेरा ५० कै दशकका मित्र हुन् । यिनको थारू भाषामा तिरिया जलम (२०६३) उपन्यास, जिन्गीके उभर खाभर डगर (कथासङ्ग्रह) प्रकाशित छ । “तपाईंले कुनै एउटा कृति नेपाली भाषामा उल्था गरिदिनुप¥यो” भनेर उनले धेरै पटक आग्रह पनि गरेका हुन् तर सकिएन । गत वर्ष कृष्णजन्माष्टमीमा उनको घर पुग्दा अब लेखनबाट विश्राम लिएको सुनाउँदा म निराश भएँ । 

शिक्षण पेसामै रहेका टीकापुरका श्याम गोइजिहार, ओमप्रकाश गोइजिहार, चित्रबहादुर चौधरी, नाथुराम चौधरी, धनगढीका जित ट्रासन, सीताराम चौधरी, गदरियाकी लक्ष्मी रानालगायतसँग मेरो लामो सङ्गत छ । जित भाइको एउटा थारू र अर्को नेपाली गरी दुइटा कवितासङ्ग्रह अनि सीताराम तथा लक्ष्मीको थारू भाषामा लोककथासङ्ग्रह प्रकाशित छ । यी तिनै जनाले थारू लेखक सङ्घलाई कैलालीमा जीवन्तता दिएका छन् । सीताराम चौधरी मावि गदरियामा प्रधानाध्यापक, लक्ष्मी राना शिक्षिका छँदा म थारू साहित्यमा बालरचना लेखनको प्रशिक्षण पनि दिन गएको थिएँ । 

कैलालीको कैलारी गाउँपालिकाका लागि थारू लेखक सङ्घमार्फत जित, सीताराम अनि मेरो पनि लेखन संलग्नतामा प्रावि तहको थारू भाषाको पाठ्यपुस्तक तयार गरियो । हाल पठनपाठन सुचारु रहेकामा गर्व लाग्छ । अरू शिक्षक मित्र पनि सिर्जनात्मक भइदिए थारू साहित्यले चाँडै फड्को मार्ने थियो कि ? 

थारू साहित्य र महिला हस्ताक्षर

सुदूरपश्चिममा मात्र होइन, समग्रमा थारू साहित्यमा महिलाको उपस्थिति औँलामा गन्न लायक छ । बसौटी, कैलालीकी शर्मिला चौधरी ‘सृष्टि’, कञ्चनपुरमा बिहे भएर हाल बैतडीमा शिक्षणरत छिन् । आठ कक्षा अध्ययनकै बेला कविता लेखन सुरु गरेकी उनको मनके फूला (२०६२) खण्डकाव्य तथा दुःखके हल्कोरा (२०६४) र कमलह्रिया (२०८२) उपन्यास प्रकाशित छ । उनी आख्यानमा कलम चलाउने एकल महिला हुन् भन्दा फरक परोइन । एकाध पटक मात्र भेट भए पनि उनी फोन सम्पर्कमार्फत साहित्यबारे परामर्श गरिरहन्छिन् । 

धनगढीकी रविना चौधरी एक मात्र थारू गजलसङ्ग्रह ओंरी (सुरुवात) प्रकाशन गरी हाल जागिरे जीवनमा रमाएकी छिन् । उनको पुस्तकले पुरस्कार पाएपछि पुरस्कार पाउँदाको अनुभूति त लेख भन्ने आग्रह गर्दा पनि उनलाई लेखनमा ‘कमब्याक’ गराउन सकिएन । टीकापुरकी दिव्या प्रयासीले थारू तथा नेपाली भाषामा आफ्नो कविता, गजललगायतको आधा दर्जन पाण्डुलिपि प्रकाशकको बाटो हेरिरहेको हालैको भेटमा विवशता पोखेकी थिइन् । धनगढीकी डा. जीवन रानाले फुटकर रूपमा धेरै लेख रचना लेखे पनि उनको पुस्तकाकार कृतिबारे मलाई जानकारी छैन । लेखनको मर्मबारे जानकार उनी हाल सुदूरपश्चिम प्रदेश योजना आयोगको उपाध्यक्ष छिन् । सुदूरपश्चिमका थारू मात्रै होइन, डोटेलीलगायत कम्तीमा महिला लेखकको राम्रा कृति प्रकाशनबारे नीति बनाइदिए ‘वाह’ भन्ने थिए ।

कञ्चनपुरमा महिला लेखनमा खोजीपस्दा साफी चौधरीको मात्रै पुस्तक प्रकाशित भएको देखिन्छ । फुटकर कथा, कविता लेखनमा रमेकी कञ्चनपुरकी अर्की स्रष्टा सुनिता चौधरी ‘सानु’ लाई गत वर्ष थारू लेखक सङ्घ नेपालले पुरस्कृत गरेको थियो । पुरस्कार थाप्दै उनले चाँडै नै पुस्तक प्रकाशन गर्ने वाचा गरेकी थिइन् । यो वाचा कहिले पो पूरा हुने हो थाहा छैन । शिक्षण पेसामा रहेकी कञ्चनपुरकी बासुमाया राना थारूले अनुसन्धानमूलक पुस्तकको पाण्डुलिपि तयार रहेको गत वर्ष नै अवगत गराएकी थिइन् ।

पत्रकारितासँगै साहित्य लेखन

पत्रकारिता कर्ममा लागेका कतिपयले साहित्यमा पनि अब्बलता देखाएका छन्, त्यसमध्येका एक हुन् धनगढीका लक्की चौधरी । हाल गोरखापत्र दैनिकमा आबद्ध उनी थारू भाषामा धनगढीबाट पहुरा (२०५९) साप्ताहिक (पछि अर्धसाप्ताहिक हुँदै दैनिक) सम्पादनमार्फत आफ्नो फुटकर रचना पनि प्रकाशन गरे । पछि पुस्तकका रूपमा सहीदान (२०६१, जेठ) गजलसङ्ग्रह निकाले । लगत्तै थारू भाषामा अनुवादसहित अन्तर्भाव (२०६३) गजलसङ्ग्रह प्रकाशित भयो । उनको तिहुवार (२०६२) चाडपर्व संस्कृति परिचय लेखसङ्ग्रह, मोर पहुरा (२०७०) पत्रपत्रिकामा प्रकाशित लेखसङ्ग्रह, नेन्धर (कवितासङ्ग्रह २०७१) तथा हँसौनी (२०७२) चुट्किलासङ्ग्रह पनि प्रकाशित छ । पहुरा दैनिकमा म सुरुदेखि नै अतिथि सम्पादक रहेको छु । सोही पत्रिकाको आयोजनामा गरिएको पत्रकारिता प्रशिक्षणलगायत कार्यव्रmममा जाँदा लक्कीसँग घनिष्ठता बढेको हो । उनी धनगढी छाडेर काठमाडौँ उक्लिएपछि थारू पत्रकार सङ्घमार्फत हामीले धेरै सहकार्य गरेका छौँ । अहिले पत्रकारिताले चेप्दै लगेर उनको साहित्य कर्म पातलिएको देखिन्छ । 

कञ्चनपुरका इन्द्र चौधरीसँग कुनैबेला अन्नपूर्ण पोस्टमा सँगै काम गरियो । अन्नपूर्ण पोस्टको अङ्कुर बाल संस्करणमा संलग्नतापछि स्वाभाविक रूपले उनको लेखन बालकथामा बढ्यो । ढोला फर्कियो त ? नयाँ वनपाले, कपासको घोडा गरी उनका तीन बाल पुस्तक–चित्रकथा प्रकाशन भइसकेका छन् । आफू डगौरा भए पनि रानाथारूको लोककथा प्रकाशन गरेका छन् । हाल पत्रकारिता त्यागेर शिक्षणमा लागेका यिनी मकवानपुर बस्दा चेपाङको लोककथा पनि सङ्कलन गर्न भ्याएका छन् । यसरी जुन पेसा अँगाले पनि यिनी लेखनबाट हराउने छैनन् भन्ने मलाई विश्वास छ । 

हालसम्म निरन्तरता पाएको धनगढीको पहुरा दैनिकले धेरै थारू पत्रकार जन्मायो । यद्यपि ती सबैले साहित्यलाई भने पछ्याएनन् । धनगढीकी उन्नति चौधरीको रिपोर्ताज पुस्तक नेपाली भाषामा छ । धनगढीकै पत्रकार मुकेश टेर्राले भने एम टेर्रा वास्तविकको नाममा फूला (कवितासङ्ग्रह २०६३) तथा लाल मुरै (कथासङ्ग्रह २०६४) प्रकाशन गरेको देखिन्छ । टीकापुरका रेडियोकर्मी छपि शीतलले थारू भाषामा दुई वटा गजलसङ्ग्रह ल्याएका छन् । यो पङ्क्तिकार र टीकापुरका पत्रकार (हाल अध्यक्ष जानकी गाउँपालिका) गणेश चौधरीसँगको लेखनमा ‘थरुहट आन्दोलन ः टीकापुर कथा’ (२०७३) शोधमूलक पुस्तक प्रकाशित छ । अनलाइन पत्रकारितासँग सम्बद्ध मोतीराम चौधरी ‘रत्न’ को मनके बोझा (२०७०) गजलसङ्ग्रह प्रकाशित छ । यद्यपि समग्रमा पत्रकारितासँगै साहित्य लेखन पनि डो¥याउने थारू स्रष्टा कमै छन् सुदूरपश्चिममा ।

साहित्यिक पत्रिका प्रकाशन गर्नेलाई पत्रकार मानिँदैन । अझ वार्षिक रूपमा पत्रिका निकाल्ने त्यो गणनामा पर्ने कुरै भएन । अजय करिया मघरियाले २०४९ सालमा थारू भाषाको साहित्यिक पत्रिका गोम्हनिया वार्षिक रूपमा प्रकाशन गरेका थिए । यसको तीन अङ्क हात परेपछि म उनको सम्पादनको ‘फ्यान’ भएको थिएँ । उनले पत्रिका प्रकाशन गरेको एक दशकपछि उनलाई भेट्न कुनैबेला उनको घर कैलालीको कैलारी गाउँपालिका गोबरैला गाउँसमेत पुगेको थिएँ । त्यसबेला साहित्यमा स्थापित भइसकेको म उनको घर पुगेकोमा उनलाई सर्वहारी भन्ने सुरुमा त विश्वास नै भएनछ । फेसबुकको जमाना थिएन, अनुहार देखादेख भएको थिएन । मैले पचासकै दशकमा उनीसँग गरेको पत्राचारको अंश सुनाएपछि उनलाई बल्ल पत्यार लाग्यो, उनी औधी खुसी भएका थिए ।

थारू भाषामा वार्षिक रूपमा समेत पत्रिका प्रकाशन कार्य अनियमित भइरहेका बेला धनगढीबाट जिल्ला प्रशासन कार्यालय, धनगढीमा दर्ता गरी विशुद्ध साहित्यिक पत्रिका उँकुवार–भेट मासिक प्रकाशन गर्ने कार्यको थालनी भयो २०६१ भदौबाट । यो २०६२ असोजसम्म जम्मा सात अङ्क प्रकाशन भएर स्थगित भयो । यद्यपि उँकुवार–भेटले वर्षमा मात्रै झुल्किने थारू साहित्यिक पत्रिकाको परम्परागत शैलीलाई भने तोड्यो । शिक्षण पेसामा रहेका यसका सम्पादक ओमप्रकाश गोइजिहार थारू साहित्यिक पत्रिकाको महìव समाजले नबुझेको गुनासो गर्छन् । थारू भाषामा बोली अनुसार लेखाइ अभियान चलाएपछि सर्वहारीले थारू भाषा बिगा¥यो भनेर यिनी मसँग औधी रिसाएका छन् । 

२०५३ सालमा कैलालीबाट तीन थान पत्रिका ट्रासन, अँख्वा र दीया प्रकाशित भएको देखिन्छ । २०६२ मा कैलालीबाट अश्रा र २०६३ सालमा थारू विद्यार्थी समाज कैलालीले कल्गी सन्देश र टीकापुर कैलालीबाट डगर प्रकाशित गरेको देखिन्छ । पछिल्लो कालमा राना थारू भाषाबाट जलमौती, राम राम, लखबारी, इजोत पत्रिका प्रकाशित भएकोमा स्थगित भइसकेका छन् । कैलालीबाट कठरिया थारू भाषाको ‘कठरिया सन्देश’ जेनतेन चलिरहेको छ । यी पत्रिकासँग सम्बद्ध धेरैसँग मेरो चिनजान छ । सबैको एउटै गुनासो छ, आर्थिक समस्या त छँदै छ, लेख रचनाको झनै समस्या छ । मातृभाषामा कलम दौडाउनेहरू नगन्य छन् । 

सागर कुश्मी र साहित्यिक अभियान

सुदूरपश्चिमको थारू साहित्यको चर्चा गर्दा सागर कुश्मी ‘सङ्गत’ को नाम छुटाए यो आलेख अधुरै रहला । कैलाली बसौटीका सागर गजल, मुक्तक विधामा सशक्त ढङ्गले आउँदै छन् । यिनको २०६८ सालमा हस्ताक्षर तथा फुटल पोव्रmी दुई वटा गजलसङ्ग्रह तथा आँशके सागर (२०६९) मुक्तकसङ्ग्रह प्रकाशित छ । यो पङ्क्तिकार साहित्यिक अभियन्ता भए झैँ सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा थारू भाषामा गजल लेखनको धेरै प्रशिक्षण कार्यशालाको चाँजोपाँजो सागरले गरेका छन् । 

त्यस्तै २०६८ सालमा धनगढीमा स्थापना भएको छिट्कल थारू साहित्यिक समाजको गठनदेखि उनकै अध्यक्षतामा २०७० माघ महिनामा धनगढीमा जिउगर साहित्य समाज स्थापना भयो । यसले कुनैबेला थारू भाषाको साहित्यिक श्रीवृद्धिका लागि प्रायः प्रत्येक महिनाको अन्तिम शनिबार रचना वाचनको शृङ्खला नियमित कार्यव्रmम ग¥यो । यी दुवै संस्था अहिले अस्तित्वमा छैनन् ।

हीरालाल सत्गौँवाको अध्यक्षतामा हिरगर साहित्यिक बगाल (समूह) गठन भई २०७१ चैत २६ गते जिल्ला प्रशासन कार्यालय, कैलालीमा वैधानिक रूपमा दर्ता भएको छ । यसले आफ्नो सव्रिmयता देखाउँदै कैलाली र कञ्चनपुरमा १६ वटा शाखासमेत विस्तार गरेको थियो । जसले दुई वर्षसम्म मासिक साहित्यिक शृङ्खला सम्पन्न नियमित गरेको थियो । हिरगर साहित्यिक बगालले हिरगर थारू साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन तथा हिरगर साहित्य डटकम नामक थारू साहित्यको पहिलो वेबसाइट पनि सञ्चालन ग¥यो । पत्रिका र अनलाइन दुवैका सम्पादक सागर कुश्मी ‘सङ्गत’ हुन् । यद्यपि पत्रिका र अनलाइन यी दुवै नियमित छैन । 

दुई वर्षदेखि धनगढीका युवाले थारू छात्रवासमा विविध विषयमा मासिक रूपमा थारू भाषामा प्यानल छलफल गर्न बाटचिट घर (कुराकानी घर) सुरु गरेका छन् । सागर कुश्मीले यस प्यानलमा साहित्यिक डबली चलाउँछन् । जिल्लाबाहिरका थारू साहित्यकार कुनै काम विशेषले धनगढी आए एकै महिनामा धेरै शृङ्खला चलाइने उनले जनाए । 

रहलपहल कुरा

थारू गीत, सङ्गीत, चलचित्र निर्माणमा पनि अगाडि छ कैलाली । जनसङ्ख्या पनि कम भएर होला कैलालीको तुलनामा कञ्चनपुर निकै पछाडि छ । कैलालीकी अन्नु चौधरीले थारू मात्रै होइन, नेपाली गीतमा पनि आफ्नो पहिचान बनाइसकेकी छिन् । कैलालीकै अर्की गायिका समीक्षा चौधरी थारू गीतमा स्थापित छिन् तर गायनमा रमाउनेहरू मनिराम चौधरीबाहेक अरू लेखनमा देखिँदैनन् । पृथ्वीपुर, कैलालीका मनिरामलाई थारू समुदायको महालोकगायक भनिन्छ । उनी विधवा (२०५७) उपन्यास, हिमालके मुस्कान (२०५८) कविता, रसाइल करम (२०५९) कथासङ्ग्रह, दुखियारी बगिया (२०६१) कथासङ्ग्रह, बापसे पुत ज्ञानी फाँडाले बझाइ पानी (२०६२) खण्डकाव्यसङ्ग्रह प्रकाशन गरी थारू साहित्यमा विविध विधामा कलम चलाउने स्रष्टाका रूपमा देखा परे । साथै बिछोड (२०५८) तथा चम्फा फुलुवार (२०६०) थारू गीति क्यासेटसमेत प्रकाशन गरे ।

कानुन व्यवसायी रहेका पहलमानपुर, कैलालीका प्रेमराज चौधरीसँग २०६१ सालमा रेडियोकर्म गर्न नेपालगन्ज गएका बेला भेट भएको थियो । यिनको १३ थान कविताको सङ्ग्रह कहतु मैँ (२०६०) थारू कवितासङ्ग्रह प्रकाशित भएको थियो । यही सङ्ग्रहमा आधारित रहेर उनीसँग रेडियोका लागि कुराकानी पनि गरेको थिएँ । लामो समय इन्सेकमा काम गरेका धनगढीका दिलबहादुर चौधरी बेलामौकामा विभिन्न मिडियामा समसामयिक विषयमा लेखिरहन्छन् । यसलाई सँगालोका रूपमा किन पुस्तक प्रकाशित गर्नुहुन्न ? भन्ने मेरो बारम्बारको ताकिता थेग्न नसकेर यिनले ‘विद्रोहको झिल्को’ पुस्तक प्रकाशन गरे । 

बर्दिया, राजापुरको भ्रमणमा निस्किएपछि मलाई कर्णालीपारिको कैलालीको टीकापुर छिर्न किन हो किन हुटहुटी जाग्छ । मैले २०५९ सालमै थारू–नेपाली भाषामा ‘समयका उच्छवासहरू’ हाइकुसङ्ग्रह प्रकाशन गरेको थिएँ । लम्कीसँगै जोडिएको अमौरी गाउँका तुलाराम चौधरी ‘सनम’ को ‘तुहिन उपहार’ (२०६१) हाइकु प्रकाशन गरेर मित्रता गाँसे । बिचमा भारत भासिएपछि पनि साहित्यिक कर्म छाडेनन् । बर्दियाली भाइ सोम डेमनडौराले जंग्रार साहित्यिक बखेरी बर्दियामा दर्ता गरेका थिए । त्यसकै मुम्बई शाखा गठन गरेका थिए तुलाले । भारतको मुम्बईबाट थारू भाषामा १९ जना स्रष्टाको संयुक्त थारू गजलसङ्ग्रह जेउनास (२०७१) प्रकाशन गरे । प्रवासबाट प्रकाशित यो थारू भाषाको पहिलो कृति भएको छ । तुलाकै गाउँले दीप लाइफ कियरले गोजी आकारमा ‘तुँहार लग फूला’ (२०६३) नामक थारूमा नौलो विधा तान्कासङ्ग्रह पस्केका छन्् । यिनी अहिले मेरो सम्पर्कबाहिर छन् । 

म चाहन्छु थारू स्रष्टा नेपाली, अङ्ग्रेजीलगायत अन्य भाषामा पनि लेखेर आफ्नो समाजको साङ्गोपाङ्गो आयतन फैलाउन् । थारू साहित्य राष्ट्रिय सम्मेलनको कैलाली तथा कञ्चनपुरमा गरिएको दुवै स्थानमा मैले मदन पुरस्कार विजेता रामलाल जोशीलाई बक्ताको रूपमा डाकेको थिएँ । ती दुवै ठाउँको कार्यव्रmममा जोशीले भनेका थिए, “थारू भाषी क्षेत्रमा बसेकाले तपाईंहरूको समुदायबारे सोधखोज गरेर आख्यान लेख्दै छु । थारू स्रष्टालाई रिसर्च गर्नै पर्दैन । मौलिक विषय धेरै छन् लेख्नलाई, कलम दौडाउनोस् ।” मलाई आशा छ, थारू साहित्यको श्रीवृद्धिका लागि सामूहिक लेखन अभियान अन्तर्गत सुदूरपश्चिमलगायत समग्र थरुहटमा मैले गरेको लगानी त्यसै खेर जाने छैन । 

म धनगढी गएँ भने भाइ सत्यनारायण दहितको घरमा बस्न अनुकूल ठान्छु । उनको थारू भाषामा मुक्तकसङ्ग्रह झिर्खि प्रकाशित छ । उनका तिखा मुक्तकले मलाई जति घोचेका छन्, अरूका मुक्तक फिका फिका लाग्छन् । साहित्यिक रूपले सुदूरपश्चिम मेरो दोस्रो घर हो । आफ्नो घर म कहाँ पो बिर्सिन सक्छु र ? 

देउखुरी, दाङ