• ७ पुस २०८१, आइतबार

नागरिकता विधेयकमाथिको छलफल जारी, शुक्रबार पुनः छलफल हुने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३० गते । प्रतिनिधिसभा बैठकबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तावमाथिको छलफल शुक्रबारका लागि सारिएको छ । विहीबार साँझसम्म चलेको बैठकमा सांसदहरुले धारणा राख्नेक्रम नसकिएपछि शुक्रबारका लागि बैठक सारिएका सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले बैठकमा बोल्नेक्रम जारी रहेकाले शुक्रबार दिउँसो १ बजे बस्ने अर्को बैठकमा सो विधेयकमाथि छलफल जारी रहने सदनलाई जानकारी गराउनुभयो ।  गृहमन्त्री बालकृष्ण खाणद्वारा सदनमा ‘विचार गरियोस्’ भन्ने सो विधेयकमाथिको प्रस्तावलाई आवश्यक छलफल पछि पारित गर्ने तयारी गरिएको छ । 

विधेयकमाथिको छलफलमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले फरक फरक धारणा र सुझाव राख्नुभएको छ । प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले विवाह गरेर ल्याएको भोलिपल्टै बुहारीलाई अङ्गीकृत नागरिकता दिन उपयुक्त नहुने सुझाव दिनुभयो । त्यस्तै, सत्तापक्षका सांसदहरुले नागरिकताबाट बञ्चित नागरिकलाई तत्काल नागरिकता दिनु नै उपयुक्त हुने भन्दै विधेयक छिटो पारित गर्नुपर्ने धारणा राख्नुभयो । 

बैठकमा एमाले सांसद जुलीकुमारी महतोले ढिलो भएपनि नागरिकता विधेयक सदनमा आउनु खुशीको कुरा भएपनि यसअघिको सरकारले ल्याएको विधेयकमा सहमति नहुनुको विषयमा समीक्षा गरिनुपर्ने बताउनुभयो । यसअघिको सरकारले विधेयक ल्याउन खोज्दा अनेक बाधा अड्चन गरी राजनीतिकरण गरिएको उहाँले आरोप लगाउनुभयो । 

अर्का एमाले सांसद यज्ञराज सुनुवारले नागरिकता विधेयकले बुहारीलाई अधिकार दिइरहँदा छोरीचेलीलाई अधिकारबाट बञ्चित गर्ने बताउनुभयो । गैर आवासीय नागरिकलाई आर्थिक, सामाजिक अधिकार सहितको नागरिकता प्रमाणपत्र विधेयकले व्यवस्था गरेको र त्यो सकारात्मक भएको उहाँले बताउनुभयो ।

छलफलका क्रममा डा. भीम रावल, अनिलकुमार झा, नवराज सिलवाल, लक्ष्मी चौधरी, डा. डिला संग्रौला, सुजिता शाक्य, गगनकुमार थापा, प्रेम सुवाल, रेखा शर्मा, झपटबहादुर रावल लगायतका सांसदले धारणा राख्नुभएको थियो ।