• ९ माघ २०८२, शुक्रबार

कालानमक धानको स्वाद र सुगन्ध जोगाउने कसरत

blog

भेषराज बस्नेत

राँझा (बाँके),  माघ ९ गते ।  कुनै समय बाँके र बर्दियाका खेतका फाँटहरूमा मगमग बास्ना चल्थ्यो । जब कालानमक धान पाक्ने बेला हुन्थ्यो, बाटो हिँड्ने बटुवा पनि त्यसको सुगन्धले लोभिन्थे । तर समय फेरिएसँगै बजारमा भित्रिएका बढी फल्ने र छिटो पाक्ने उन्नत हाइब्रिड) जातका धानको भीडमा ती रैथाने बास्नाहरू हराउन थाले ।

अहिले बाँकेमा ३४ हजार १९० हेक्टरमा धानखेती हुन्छ तर ती फाँटहरूमा कालानमकजस्ता परम्परागत जातका धानको उपस्थिति करिब शून्य जस्तै छ । किसान व्यावसायिकतातर्फउन्मुख भएसँगै थोरै लगानीमा धेरै प्रतिफल खोज्दा हाम्रा मौलिक स्वादहरू सङ्कटमा परेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । 

किन हराउँदैछ कालानमक ?

कालात्मक धान लोप हुनुका पछाडि मुख्य तीन कारण छन्– कम उत्पादन, बढी समय र उच्च लगानी । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सन्तोष पाठकका अनुसार यो धान तयार हुन करिब १४० दिन लाग्छ । असारमा रोपेको धान मङ्सिरको पहिलो साता मात्र भित्र्याउन सकिन्छ । “विगतमा यसको खेती निकै हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै लाभ लिनतिर लागे”, उहाँ भन्नुहुन्छ, “यसमा सिँचाइ र स्याहार बढी चाहिने तथा रोग किराको प्रकोप पनि बढी देखिने भएकाले किसान ‘हाइब्रिड’तिर आकर्षित भए ।”

कालानमक धानखेतीमा केही प्राविधिक समस्याहरू पनि छन् । पहिलेका बीउहरू धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या थियो । अहिले होचो जातको बीउ प्रयोगमा ल्याइएको छ । अर्को समस्या भनेको ‘किरा’को हो । असोज–कात्तिकमा अन्य धान भित्र्याइसकेपछि वरपरका सबै किराहरू ढिलो पाक्ने कालात्मकमा सर्ने गर्छन्, जसले धान पोकट बनाउने जोखिम रहन्छ । “विगतमा बाँके र बर्दिया जिल्लामा यसको खेती हुन्थ्यो तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे”, सूचना अधिकारी पाठकले भन्नुभयो, “कालानमकको खेती शून्य प्रायः भएपछि अहिले यसको प्रव्रद्धन र प्रचारमा लागेका छौँ ।”

पहिलाको कालानमक धानको बीउ धेरै अग्लो हुने र खेतमा ढल्ने समस्या भएकाले अहिले होचो कालानमक बीउ प्रयोगमा ल्याइएको छ । किसानले रासायनिक मल धेरै हाल्ने चलन रहेकाले ढल्ने समस्या देखिएको हुँदा युरिया, डिएपी र पोटासको सन्तुलित प्रयोग गर्न किसानलाई सल्लाह दिने गरिएको पाठकले बताउनुभयो । उहाँका अनुसार आर्थिक रूपमा भने यो धान निकै लाभदायक देखिन्छ । सामान्य धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार पाँच सय छ भने कालानमक प्रतिक्विन्टल रु १० हजारसम्ममा सजिलै बिक्री हुन्छ । विशेषगरी उच्च घराना र पर्यटकको पहिलो रोजाइमा पर्ने हुनाले यसको बजार सुनिश्चित छ ।

संरक्षणको आशा

हराउँदै गएको यो रैथाने सानलाई जोगाउन कृषि ज्ञान केन्द्र बाँकेले अहिले विशेष पहल थालेको छ । कृषि अनुसन्धान परिषद् ९नार्क० खजुराबाट प्राप्त बीउलाई बाँकेको वैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान जगनारायण चौधरीको खेतमा परीक्षणका रूपमा लगाइएको छ । चौधरीले करिब एक हेक्टर क्षेत्रफलमा कालानमक खेती गर्दै आउनुुभएको छ । पाँच वर्षदेखि यो धान जोगाउन लाग्नुभएका उहाँ भन्नुहुन्छ, “उत्पादनमा खर्च बढी लाग्छ, तर यसको बजारमा माग निकै छ ।”

यस प्रजातिको धानको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महङ्गो परेको जनाइएको छ । यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ । अन्य धान असोज–कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको कृषक चौधरीले बताउनुभयो ।

आयात प्रतिस्थापनको लक्ष्य

सरकारले अहिले मसिनो तथा बास्नादार धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ र प्रविधिमा अनुदान दिन थालेको छ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेका अनुसार कालानमक जस्ता रैथाने धानको उत्पादन बढाएर बाहिरबाट हुने मसिनो चामलको आयात प्रतिस्थापन गर्ने योजना छ । आधुनिकताको दौडमा हामीले हाम्रा रैथाने बीउबिजन गुमाउँदै गएका छौँ । टिटिहिरियाका जगनारायण चौधरी जस्ता किसान र कृषि ज्ञान केन्द्रको यो प्रयासले ‘कालानमक’ को सुगन्ध फेरि बाँकेका फाँटहरूमा फर्किने आशा जगाएको छ । यदि प्रविधि र सन्तुलित मलखादको प्रयोगमा किसानलाई प्रोत्साहन गर्ने हो भने कालानमक केबल पहिचान मात्र होइन, समृद्धिको आधार पनि बन्न सक्छ ।

बाँकेमा किसानले रामधान, राधा ४, एमपी ६०, गोरखनाथ लगायतको  हाइब्रिड धान रोप्दै आएका छन् । रैथाने धानको जातलाई प्रवर्द्धन गर्न खोजे पनि किसानले रुचि नदेखाएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ घिमिरेको भनाइ छ । यो धान उत्पादन बढाउन बाँकेमा प्रवर्द्धनात्मक कार्यक्रम नै लागू गरिएको छ । मसिना तथा बास्नादार धान प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई बिउ र कृषि प्रविधिमा अनुदान दिने गरिएको छ । कालानमक धानको उत्पादन बढाएर मसिनो धान आयात प्रतिस्थापन गर्ने योजना रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  

पुराना रैथाने जातबाट उत्पादन कम हुने र रोगकिरासित लड्ने क्षमतामा पनि कम हुने भएकाले पुराना जातको सट्टा नयाँनयाँ जातको धान खेती हुने गरेको छ । बालीको निश्चित अवधिपछि रोगकिराको प्रतिरोधात्मक शक्तिमा कमी हुन्छ । यसले रासायनिक मल तथा विषादी बढी प्रयोग गर्नुपर्ने हुनाले उत्पादन लागत बढ्न जाँदा किसानले नयाँ जात खोज्ने गरेको घिमिरेको भनाइ छ ।

पछिल्ला दिनमा किसानका खेतमा कालोरङका स्यामजिरा, कालानमक र मसिनो बासमती धानका बाला झुलेको देखिन छाडेका छन् । अहिले किसानले उन्नत र हाइब्रिड जातका धानखेती गर्दै आएको नेपालगञ्ज–१९ का किसान ललवा माहुतले बताउनुभयो । “नयाँ पुस्ताले रैथाने बीउको प्रयोग गर्नै चाहँदैनन्, रोगप्रतिरोधात्मक धानको बिउ अहिले लोप भयो”, किसान माहुतले भन्नुभयो, “व्यापार व्यवसायतर्फ नयाँपिँढी लाग्दा दोस्रो पुस्ताले हाम्रा बाउबाजेले यो धानखेती गर्थे र भनेर चकित पर्ने दिन आउन सक्छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता धानका लागि अन्य जातका धानकोभन्दा धेरै पानी चाहिन्छ । उत्पादन पनि उन्नत र हाइब्रिड जातका धानको तुलनामा कम हुन्छ । पश्चिम तराईका अधिकांश जिल्लामा पर्याप्त सिँचाइ सुविधा नभएका कारण किसानले पानी बढी चाहिने रैथाने स्थानीय जातका धानखेती गर्न छाडेर सुक्खा सहनसक्ने उन्नत जातका विभिन्न हाइब्रिड धानखेती गर्न थालेका छन् ।  रैथाने जातको धान प्रतिहेक्टर तीनमेट्रिक टनसम्म उत्पादन हुन्छ भने उन्नत र हाइब्रिड जातको धान प्रतिहेक्टर पाँच मेट्रिकटनसम्म उत्पादन हुन्छ । 

रैथाने धान उत्पादनमा गाभरवासी अग्रसर

बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्याली पछिल्लो समयमा आएर रैथाने उत्पादनको महत्वपूर्ण पकेट क्षेत्र बन्दै गएको छ । स्थानीय र प्रदेश सरकारले रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षणमा जोड दिँदै नीति तथा कार्यक्रम ल्याएपछि यो क्षेत्रमा रैथाने उत्पादनमा विशेष ध्यान दिइएको हो । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमै रैथाने प्रजातिका अन्नबाली संरक्षण कार्यक्रम समावेश गरेकोले बाँके जिल्लाको गाभर भ्यालीमा रैथाने धान उत्पादन सुरु गरिएको गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले बताउनुभयो ।

यो क्षेत्रमा पाइने कालानमक, घैया, गर्भे र अनदीलगायतका रैथाने धानहरू लोप हुने अवस्थामा पुगेपछि संरक्षण गर्ने अभियान सुरु भएको छ । गाभर क्षेत्रमा एक बिघाभन्दा बढी क्षेत्रफलमा यस्ता धानको खेती भइरहेको छ । गाभर भ्यालीमा आउने पर्यटकहरू रैथाने उत्पादन अवलोकन गर्न पनि आउने गरेको उहाँले बताउनुभयो । यी धानहरू संरक्षण गरेर यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउँदै रैथाने धानहरूको व्यावसायिक उत्पादन गर्ने योजना रहेको चौधरीको भनाइ छ ।  रासस