• ९ माघ २०८२, शुक्रबार

म्याग्दीका ६० मतदानस्थलको अनुगमन

blog

मतदानस्थलको अनुगमन । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, माघ ९ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका जिल्लाका मतदानस्थलको सुरक्षा निकायद्वारा अनुगमनलाई तीव्र पारिएको छ । जिल्लाभर रहेका ८२ मतदानस्थल मध्य शुक्रबारसम्म ६० मतदानस्थलको स्थलगत रुपमा अनुगमन तथा निरीक्षण गरिएको हो । 

जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य,जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमलगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको भौतिक पूर्वाधार,सडक,खानेपानी,शौचालय,घेराबार,विद्युत लगायतको अवस्थाका बारेमा अनुगमन गरिएको छ । 

निर्वाचनलाई शान्तिपूर्ण,सुव्यवस्थित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विविध पक्षमा अनुगमन गरिएको प्रजिअ आचार्यले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘तोकिएका मतदानस्थलको समग्र पूर्वाधारको अवस्था,सडक सुविधा,पानी,बिजुली,मतपत्र ढुवानीको सहजता,सहज रुपमा मतदाता आउनसक्ने अवस्था लगायतका बारेमा अनुगमन गरेका छौं । सबै मतदानस्थलको अनुगमन सकेपछि सुधार गर्नुपर्ने देखिएका मतदानस्थलको तत्काल सुधारको काम पनि थाल्ने योजना बनाएका छौं ।’’ 

मतदातालाई सहज रुपमा मतदानस्थल सम्म पुग्ने वातावरण तयार र मतदानस्थलमा हुनुपर्ने न्यूनतम पूर्वाधारका बारेमा सचेत रहेको उहाँले बताउनुभयो ।

जिल्लाभर ८२ मतदानस्थल र एक सय २० मतदान केन्द्र कायम भएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य वर्गमा विभाजन गरेको छ ।  १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र आठवटा सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको प्रजिअ आचार्यले बताउनुभयो। 

जिल्लामा नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी(केबी),नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ,नेकपाबाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट युवराज रोका, स्वतन्त्रबाट निवर्तमान शिक्षामन्त्री महावीर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे चुनावी मैदानमा हुनुहुन्छ । 

प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट देवेन्द्र कामी,मङ्गोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट विनोद लामा, राष्ट्रिय जनमोर्चाबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा र स्वतन्त्रबाट नवीन जिसी चुनावी मैदानमा हुनुहुन्छ । 

नेशनल रिपब्लिक नेपाल पार्टीका उम्मेदवार तुलप्रसाद गर्बुजाले  प्रेस विज्ञप्ति प्रकाशित गर्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका पुनलाई  समर्थन गर्ने जनाउनुभएको छ । उहाँले विज्ञप्तिमार्फत पुनलाई समर्थन गर्दै आज उम्मेदवारी फिर्ता लिने घोषणा गर्नुभएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् । 

उम्मेदवारी दर्ता गरेका राजनीतिक दल र उम्मेदवारहरु यतिखेर मतदाता भेटघाट र निर्वाचन परिचालनका बारेमा आवश्यक योजना बनाउन जुटेका छन् ।