• १९ असार २०८१, बुधबार

भृकुटीमण्डपको आगलागी : पाँच करोड बढीको क्षति

blog

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी आगलागी क्षेत्रको अनुगमन गर्नुहुँदै । तस्बिर : कविता थापा

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३० गते । काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय अपाङ कोष र समाज कल्याण परिषद्ले सामान भण्डारण गरेको गोदाममा आगलागी हुँदा पाँच करोड रुपियाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बुधबार साँझ र बिहीबार बिहान गरी दुई पटक आगलागी भएको थियो । बुधबार लागेको आगोलाई निभाए पनि त्यहाँ रहेको आगोका अवशेषबाट बिहीबार पुनः आगो सल्किएपछि निभाइएको थियो । राष्ट्रिय अपाङ कोषका अध्यक्ष डेकराज भट्टराईका अनुसार, क्षतिको लागत निकाल्ने प्रक्रिया सुरु भएको छ, विदेशी दाताले प्रदान गरेका ह्वील चेयर, वैशाखी, मेडिकल सामान कति थिए, कति वितरण भएका र कति जलेर नस्ट भए भनेर छानबिन भइरहेको बताउनुभयो ।

फिल्म हललाई दुई भागमा बारेर एक खण्ड कोषले र अर्को भाग समाज कल्याण परिषद्ले सामग्री राखेका थिए । त्यहाँ केही महत्वपूर्ण पुस्तक र पुराना दस्तावेज पनि जलेको जानकारी अध्यक्ष भट्टराईले दिनुभयो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ । बिहीबार नै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले स्थलगत अनुगमन गरी क्षतिको अवस्थाबारे जानकारी लिनुभएको छ ।