गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ ९ गते । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्रता दिइएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।
केन्द्रका अनुसार अहिले समानुपातिकतर्फको मतपत्र छपाइ भइरहेको छ । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार समानुपातिकतर्फको करिब ७५ प्रतिशत मतपत्र छपाइ सकिएको छ । केन्द्रले समानुपातिकतर्फ दुई करोड आठ लाख ५० हजार मतपत्र छाप्ने योजना बनाएको छ । जसमध्ये बिहीबार साँझसम्ममा एक करोड ५० लाख थान मतपत्र छपाइ सकिएको छ । उहाँले भन्नुभयो, “अबको चार दिनमा समानुपातिकतर्फको मतपत्र छपाइ सकिन्छ । त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुन्छ ।”
प्रत्यक्षतर्फको पनि दुई करोड १० लाखको हाराहारीमा मतपत्र छाप्ने योजना केन्द्रको छ । समानुपातिकतर्फको मतपत्रमा ५८ वटा चिह्न रहेको छ । जसका कारण यो मतपत्र छपाइ प्रत्यक्षको भन्दा केही झन्झटिलो हुन्छ । प्रत्यक्षतर्फको भने जिल्ला अनुसार चिह्नको सङ्ख्या पनि फरक फरक रहने छ । फरक फरक चिह्न हुने भएका कारण प्रत्यक्षतर्फको मतपत्रको आकार पनि जिल्लागत रूपमा फरक नै हुने छ ।
मतपत्र छपाइका लागि केन्द्रको तीन सय जनशक्ति खटाइएको छ भने चार वटा छापाखानाबाट छपाइ भइरहेको छ । छपाइ भएको मतपत्र केन्द्रले आफ्नै गोदाममा राखेको छ । प्रत्यक्षतर्फको पनि छपाइ भएपछि निर्वाचन आयोगले विभिन्न जिल्लामा लैजाने योजना बनाएको छ । ढुवानीमा सहजता होस् भनेर आयोगले समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र एकैसाथ लैजान लागेको हो । केन्द्रले मतपत्रसँगै विद्यालय तहको पाठ्यपुस्तक छपाइलाई पनि निरन्तरता दिएको छ । प्रबन्ध सञ्चालक पौडेलका अनुसार पाठ्यपुस्तक छपाइका लागि १५० जना कर्मचारी खटाइएको छ । उहाँका अनुसार मतपत्र र पाठ्यपुस्तक छाप्ने छापाखाना पनि फरक फरक रहेको छ ।