• ९ माघ २०८२, शुक्रबार

विद्यार्थी राजनीतिबाट उदाएका उम्मेदवार

blog

काठमाडौँ, माघ ९ गते । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा विद्यार्थी सङ्गठनको राजनीतिबाट उदाएका व्यक्ति उम्मेदवार बन्नुभएको छ । चुनावी प्रतिस्पर्धामा विद्यार्थी सङ्गठनको वर्तमान नेतृत्वमा रहेकादेखि विगतमा नेतृत्व तहमा रहेका व्यक्ति उल्लेख्य रूपमा होमिएका छन् । मुख्य गरी नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतमा यस्तो सङ्ख्या धेरै देखिएको छ । 

सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा आफैँ विद्यार्थी सङ्गठन हुँदै केन्द्रीय राजनीतिमा उदाएका व्यक्ति हुनुहुन्छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का तर्फबाट त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुँदै थापा नेविसङ्घका महामन्त्री र उपाध्यक्षसमेत हुनुभएको थियो । 

भर्खरै नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित हुनुभएका प्रदीप पौडेल पनि नेविसङ्घका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ हाल काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । सोही सङ्गठनका पूर्वअध्यक्षहरू विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४, गोविन्द्र भट्टराई तनहुँ क्षेत्र नं. १, एनपी साउद कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । 

डडेलधुराबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका नैनसिंह महर पनि नेविसङ्घकै पूर्वअध्यक्ष हुनुहुन्छ । यस जिल्लामा २०४८ सालदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका तर्फबाट निरन्तर निर्वाचन जित्दै आउनुभएको थियो । त्यस्तै नेविसङ्घकै पूर्वअध्यक्ष गुरुराज घिमिरे मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलको राजनीतिक पृष्ठभूमि पनि विद्यार्थी सङ्गठनबाटै सुरु भएको थियो । उहाँ पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँ अहिले दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । अनेरास्ववियुका वर्तमान अध्यक्ष दीपक धामीले डोटी जिल्लाबाट एमालेका तर्फबाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अनेरास्ववियुकै पूर्वअध्यक्षहरू ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र नं. २, खिमलाल भट्टराई रुपन्देही क्षेत्र नं. ५, भानुभक्त ढकाल तेह्रथुम, माधव ढुङ्गेल रामेछाप जिल्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । सोही सङ्गठनका पूर्वअध्यक्ष ऐन महर पनि एमालेबाटै बझाङबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नुभएको छ । यी सबै जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि एक÷एक निर्वाचन क्षेत्र रहेको छ । त्यस्तै सोही सङ्गठनका पूर्वउपाध्यक्ष रश्मि आचार्य कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्नुभएको छ । अनेरास्ववियुकै पूर्ववरिष्ठ उपाध्यक्ष आरसी लामिछाने गोरखा क्षेत्र नं. १ बाट उम्मेदबार बन्नुभएको छ भने अनेरास्ववियुकै नेतृत्व तहमा रहेर काम गर्नुभएका गोकुल घर्ती रोल्पाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । मकवानपुर क्षेत्र नं. २ बाट एमालेको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका महेश बर्तौला पनि अनेरास्ववियुकै पूर्वउपाध्यक्ष हुनुहुन्छ । 

सोही सङ्गठनका पूर्वअध्यक्षहरू योगेश भट्टराई, रामकुमारी झाँक्री, नवीना लामा, सुनिता बराल, समिक बडाललगायत भने यस पटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्नुभएको छैन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुनुअघि रहेको नेकपा (माओवादी) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष लेखनाथ न्यौपाने गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ । सोही सङ्गठनका पूर्वअध्यक्षहरू देवेन्द्र पौडेल पश्चिम नवलपरासी–२ बाट उम्मेदवार बन्नुभएको छ । सोही सङ्गठनका पूर्वअध्यक्षहरू हितमान शाक्य काठमाडौँ–१०, हिमाल शर्मा काठमाडौँ–६, कृष्णध्वज खड्का प्युठान, रमेश मल्ल सल्यान, रञ्जित तामाङ झापा क्षेत्र नं.–५, पूर्वउपाध्यक्ष विजय गौतम मकवानपुर क्षेत्र नं. १, पूर्वकोषाध्यक्ष इन्द्र भुसाल काठमाडौँ–४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारीसमेत रहेकी बिना मगर पनि विद्यार्थी राजनीतिबाटै केन्द्रीय राजनीतिमा आउनुभएको हो । उहाँ हाल कञ्चनपुर क्षेत्र नं. १ बाट उम्मेदवार हुनुहुन्छ । अन्य साना दलमा पनि प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने थुप्रै व्यक्तिको राजनीतिक यात्रा विद्यार्थी सङ्गठनबाटै सुरु भएको छ ।

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।