• १६ भदौ २०८१, आइतबार

मन्दिर निर्माणको म्याद सकियो

blog

तस्बिर : नरेन्द्र ढकाल  गोरखकाली मन्दिर ‘रेट्रोफिटिङ’ गरिँदै ।

गोरखा, असार ३० गते । भूकम्पले भत्काएको प्रसिद्ध धार्मिक स्थल कालिका मन्दिर र रङ्गमहल पुनर्निर्माणमा ढिलाइ भएको छ । एक वर्षभित्र ‘रेट्रोफिटिङ’ गर्नेगरी पुरातत्त्व विभागले २०७८ साउन १५ गते श्री धर्म-आरआर जेभीसँग निर्माण ठेक्का सम्झौता गरेको थियो ।  एक करोड ९० लाख लागत अनुमान गरिएको उक्त ठेक्का निर्माण सम्झौताको म्याद अवधि असार मसान्तमा सकिए पनि जम्मा ३० प्रतिशत निर्माण भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । 

“असोजको १२ देखि कालिका मन्दिर र रङ्महलमाथिका छाना हटाएर काम सुरु भएको थियो,” अड्डा प्रमुख हरिप्रसाद भुसालले भन्नुभयो, “अहिलेसम्म भत्काउने काम पनि सकिएको छैन । बनाउने काम त कहिले हो ।”

भूकम्पले क्षति पु-याएका संरचना भत्काउनुपर्ने जति भत्काउने, भित्री टेका लगाउने, पश्चिमतर्फको फाउन्डेसन बनाउने, दक्षिणतर्फको गारो पाखा दलिनसम्म निर्माणको काम सम्पन्न भइसकेको देखिन्छ ।  मन्दिरको पश्चिमतर्फको गारो सोझ्याउने काम भइरहेको छ । “साबिकदेखिका साँस्कृतिक क्रियाकलाप र पूजाआजाका कारण केही ढिलो भएको हो,” उहाँले भन्नुभयो, “अब कामले गति दिन्छ, दसैँसम्म सक्ने हाम्रो लक्ष्य छ ।” 

कालिका मन्दिर निर्माणको काम भइरहेकाले अहिले पूजाआजा भने दरबारभित्रबाट हुँदै आएको छ । दसैँमा कालिका मन्दिर रङ्गमहल तयार भएन भने पूजाआजा गर्न भक्तजनलाई समस्या हुने देखिन्छ । उहाँका अनुसार, गोरखा दरबार पुनर्निर्माण सम्पन्न भएपछि वैशाखदेखि क्षमापूजा गरी कालिकाको पूजा दरबारको राजकन्या कोठाबाट सञ्चालन गरिँदै आएको छ ।  भूकम्पले भत्काएको मूल दरबारको पुनर्निर्माण भने सम्पन्न भएको उहाँले बताउनुभयो । भूकम्प गएको सात वर्ष भइसक्दा पनि अझै कतिपय संरचना पुनर्निर्माण गर्न बाँकी रहेको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ ।

Author

नरेन्द्र ढकाल