सन्तोष सुवेदी
कास्की, चैत २ गते ।नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ ।
आगामी चैत ५ गतेदेखि ७ गतेसम्म पोखरामा हुने संस्थाका पूर्व अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।‘‘यो पटक च्याम्पियनसिपको तयारी गरेका छौं । यसअघि एक, दुई वर्ष कोभिडले गर्दा निरन्तरता दिन सकिएन र पछि स्लो उडानले गर्दा असर पुग्यो । अहिले २१ औं संस्करणको खुला प्याराग्लाइडिङ च्याम्पियनसिप आयोजनाको तयारी भइरहेको छ,’’ उहाँले भन्नुभयो ।
यो पटक एकुरेसी विधामा प्रतियोगिता गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म स्वदेश तथा विदेशी गरी ९० जनाको दर्ता भइसकेको छ ।
‘‘दर्ता प्रक्रिया फागुन ४ गतेसम्म छ । एक सयको हाराहारीमा प्रतियोगिको सहभागीता रहने अपेक्षा गरेका छौं,’’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार विदेशी पाइलटहरूमा चाइना र इन्डियाका बढी रहेको छन् । प्रतियोगिता महिला, पुरुष र ओभरल टिम गरी तीन विधामा खेलाइने छ ।
पूर्व अध्यक्ष भण्डारीका अनुसार विजेताले समान एक लाख ५० हजार रुपियाँ, दोस्रो हुनेले एक लाख रुपियाँ र तेस्रो हुनेले ७५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् भने ओभरल टिमका विजेताले ७५ हजार, ५० हजार र २५ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको टेकअफ स्थल सराङकोट रहने छ भने खपौदीमा ल्यान्डिङ गर्ने गरी तयारी भएको उहाँले बताउनुभयो ।पोखरामा व्यवसायिक रूपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब तीन सय ६६ टेन्डमा प्याराग्लाइडिङ पाइलट र करिब एक सय ४० जना जसो सोलो प्याराग्लाइडिङ पाइलटहरू रहेको जनाइन्छ ।
सराङकोटको डाडाँबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ । पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए ।
अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण गरिन्छ । सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुङ्गा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो । मान्द्रेढुङ्गा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका प्रतियोगिताको प्रवर्धकका रूपमा रहेका छन् भने प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा पर्यटन परिषद, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ (नेफा), नेपाल प्याराग्लाइडिङ पाइलट क्लब लगायतको सहयोग रहने जनाइएको छ ।