• २८ वैशाख २०८१, शुक्रबार

प्रदेश सभामा बजेट छलफल सुरु

blog

धनगढी, असार ३० गते । सुदूरपश्चिम प्रदेश सभामा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल सुरु भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेश सभा सञ्चालनका लागि सरकार र विपक्षी दलबीच बुधबार सहमति जुटेपछि सभा सञ्चालन भएको हो । विपक्षी दलका १४ बुँदे माग पूरा गर्न सरकार तयार भएपछि सभा सुरु भएको हो । सभामा विपक्षी दलको अवरोध हटेपछि बुधबार अपराह्नबाट बजेटमाथि छलफल थालिएको हो । यसअघि सत्तापक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यहरूको बजेटमाथि असन्तुष्टिका कारण सदन नै चल्न सकेको थिएन । 

बजेटमाथिको छलफलमा भाग लिनु हुँदै सत्ता र प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले बजेटको चर्को आलोचना गर्नुभएको छ । प्रदेश सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेको भन्दै संशोधन गरेर मात्रै पास गर्न सकिने उहाँहरूको भनाइ छ । सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य भरतबहादुर खड्काले प्रदेश सरकारले ल्याएको बजेटलाई अन्तर्आत्माले समर्थन गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट यस्तो आयो कि सत्तापक्षको भएर सदनमा बोल्दा मलाई लज्जाबोध भइरहेको छ । आफ्ना कार्यकर्तालाई सहयोगबाहेक बजेटमा केही छैन ।”सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य महेशदत्त जोशीले नीजि सम्पत्ति बाँडिएजस्तै जनताले नमागेका योजनामा बजेट बाँडेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जनताले मागेका योजना समेटिएनन् तर नमागेका योजनामा बजेट जानु ती कसका योजना हुन् ? बिचौलियाका होइनन् र ?”उहाँले भन्नुभयो, “आज जनताले भन्दै छन् हामीलाई, माननीय ज्यू योजना त बिचौलियाका समेटिएका छन्, कमिसन दिनेका समेटिएका छन्, तपाईंको योजना खोई ?”

सत्तापक्ष नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य सुशीला बुढाथोकीले बजेट सन्तोषजनक नहुनु प्रदेश सरकारका प्रमुख दोषी रहेको बताउनुभयो । उहाँले सरकार प्रमुखले आफ्ना मन्त्रीमाथि लगाम लगाउन नसकेको जिकिर गर्नुभयो । 

प्रदेश सभा सदस्य कुन्ती जोशीले क्रमागत र ठेक्का भएका योजना काट्नुको असर के हुने, त्यसको हेक्का प्रदेश सरकारले राख्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का लागेका योजनालाई राख्नैपर्छ । प्रतिशतका आधारमा योजना समेटियो भन्ने बजारमा हल्ला छ, त्यसको जवाफ हामीले कसरी दिने ?”

प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य लीलाधार भट्टले प्रतिपक्षीसँग गरेको सहमतिको प्रदेश सरकारले कार्यान्वयन गरेर राजनीतिक चरित्र देखाउनु पर्ने बताउनुभयो । प्रदेश सभा सदस्य पठानसिंह बोहराले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने बताउनुभयो । 

सरकारले बजेटको बारेमा दल, प्रदेश सभा सदस्यहरूसँग छलफल, संवाद गर्न चासोसमेत नदेखाएको भन्दै उहाँले सरकारले सदनको अवहेलना गरेको जिकिर गर्नुभयो । प्रदेशकै सुशासन ऐन, २०७५ लाई बेवास्ता गरेर बजेट आएको उहाँको भनाइ थियो । प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य कृष्ण चौधरीले बजेट त्रुटिपूर्ण रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “बजेट नाङ्गो तरिकाले विनियोजन गरिएको छ,” उहाँले थप्नुभयो, “गलत कुरालाई हटाउन हामीले आग्रह गर्दा सरकारले कुनै पनि तत्परता देखाएन ।” बजेटमाथिको छलफलमा प्रदेश सभा सदस्यहरू देवकी मल्ल, बलबहादुर सोडारी, डिल्लीराज पन्त, कृष्णराज सुवेदी, नन्दबहादुर साउद, नेपालु चौधरीलगायतले भाग लिनुभएको थियो ।