विनय कर्ण
कल्याणपुर (सप्तरी), माघ ५ गते । सप्तरीको खडक नगरपालिकामा एक वृद्धको रहस्यमय मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित कल्याणपुरमा ८५ वर्षीय असर्फी साहको आइतबार राति रहस्यमय अवस्थामा मृत्यु भएको हो ।
मृतक साह र उहाँकी श्रीमती आइतबार राति ९ बजे कोठामा सुत्न गएपछि उहाँका छोराले बाबुआमाको कोठामा बाहिरबाट ताल्चा लगाई आफू अर्को कोठामा सुत्न गएको थियो ।
सोमबार बिहान बाबु आमालाई हेर्न जाँदा ढोका नखुलेपछि ढोका फुटाई भित्र प्रवेश गर्दा साह मृत अवस्थामा फेला परेको उहाँका छोरा जोगेन्द्र साहले बताउनुभयो ।
घटनाबारे बिहान ७ बजे जानकारी आएपछि घटनास्थल सुरक्षित राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशबाट केनाई डगसहितको टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको उहाँले बताउनुभएको छ ।
“प्रारम्भिक अनुसन्धानबाट साहको मृत्यु शङ्कास्पद देखिएको र थप पोष्टमार्टम रिपोर्टबाट खुल्नेछ’’ प्रहरी नायब उपरीक्षक पुरीले भन्नुभयो ।