• १५ चैत २०८२, आइतबार

स्थानीयको अवरोधपछि हुलाकी सडकमा कलभर्ट निर्माण रोकियो

blog

स्थानीयको अवरोधपछि सर्लाहीको कौडेनास्थित हुलाकी राजमार्गमा रोकिएको बक्स कलभर्ट निर्माण कार्य। तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, चैत १३ गते ।
स्थानीयवासीको अवरोधपछि सर्लाहीको कौडेना क्षेत्रमा पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत बक्स कलभर्ट निर्माणको काम रोकिएको छ।

गत असोज १८ र १९ गतेको भारी वर्षापछि लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका–३ पर्सा गाउँ नजिक करिब १०० मिटर पक्की हुलाकी सडक पूर्ण रूपमा बगाएको थियो। सोही स्थानमा बक्स कलभर्ट निर्माणको काम भइरहेका बेला स्थानीयको अवरोधका कारण चैत ८ गतेदेखि काम ठप्प भएको हो।

स्थानीयवासीले लखन्देही खोलामा तटबन्ध निर्माण नगरेसम्म कलभर्ट निर्माणको काम अघि बढ्न नदिने अडान लिएका छन्। बक्स कलभर्ट निर्माणका लागि सुशम आदित्य विजय निर्माण सेवा प्रा।लि।, उदयपुरले तीन करोड ५३ लाख तीन हजार २३ रुपैयाँमा ठेक्का लिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरका अनुसार उक्त ठेक्का आगामी असार २५ गतेसम्मका लागि रहेको छ। कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर रञ्जितकुमार रायले सुरुआतमा कुनै विवाद नभए पनि करिब १५ प्रतिशत काम सम्पन्न भइसकेपछि स्थानीयले तटबन्धको विषय उठाएर अवरोध गरेको बताउनुभयो।

सर्लाही क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रबिन महतोले समेत निर्माणस्थल पुगेर काम रोक्न निर्देशन दिएपछि पाँच दिनदेखि काम अवरुद्ध भएको इन्जिनियर रायले जानकारी दिनुभयो।

उहाँका अनुसार बाढीका कारण बारम्बार सडक कटान भइरहेकाले पानी निकासको व्यवस्था हुने गरी बक्स कलभर्ट निर्माण गर्ने सहमतिमा काम अघि बढाइएको थियो। “माननीयज्यू समेत आएर काम रोक्नुस् भनेपछि हामी चैत ८ गतेदेखि काम रोकेर बसेका छौँ,” उहाँले भन्नुभयो।

काम रोकिएपछि निर्माण कम्पनीका करिब ३० जना कामदार, मेसिन, औजार तथा सामग्री अलपत्र परेका छन्। असोजको बाढीपछि सो स्थानमा डाइभर्सन बनाएर सवारी सञ्चालन हुँदै आएको छ।

प्राविधिकका अनुसार बक्स कलभर्ट निर्माण भएपछि बाढीको पानी तलबाट बग्ने भएकाले सडक कटानको समस्या कम हुने अपेक्षा गरिएको छ। तर स्थानीयवासीले भने उक्त स्थानको उत्तर–पश्चिमतर्फ तटबन्ध मजबुत नगरेसम्म समस्या समाधान नहुने बताएका छन्।

पर्सा गाउँका शिवशङ्कर साहका अनुसार पश्चिमतर्फ तटबन्ध भए पनि पूर्वतर्फ नहुँदा हरेक वर्ष बर्खामा गाउँबस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ।

स्थानीयको अडानपछि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चन्द्रनिगाहपुरका प्रमुख अनुभव चौधरीसहितको टोलीले बुधबार स्थलगत निरीक्षण गरेको छ। प्रमुख चौधरीले करिब डेढ किलोमिटर तटबन्ध सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।

हालको आर्थिक वर्षमा तटबन्ध निर्माणका लागि बजेट नभएकाले आगामी वर्षका लागि पहल गरिने उहाँको भनाइ छ।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले तटबन्ध निर्माणमा ठूलो बजेट आवश्यक पर्ने भएकाले स्थानीय तह मात्रले सम्भव नरहेको बताउँदै माथिल्लो निकायसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।

उहाँले बाढी ‘ओभरफ्लो’ हुने स्थानमै तटबन्ध निर्माण गर्न सके हुलाकी सडक कटानको समस्या दीर्घकालीन रूपमा समाधान हुने धारणा राख्नुभयो।

सङ्घीय सरकारले आवश्यक बजेट विनियोजन गरी तटबन्ध र कलभर्ट निर्माणको काम सँगसँगै अघि बढाउनुपर्ने गाउँपालिकाको माग छ।

प्रतिनिधिसभा सदस्य महतोले स्थानीयको गुनासो सुनेपछि मात्र काम अघि बढाउन आग्रह गरिएको बताउनुभयो। “स्थानीयको कुरा नसुनी जबरजस्ती काम अघि बढाउनु उचित हुँदैन, त्यसैले थप छलफल गरेर समाधान खोज्नुपर्छ,” उहाँले भन्नुभयो।