• ६ जेठ २०८१, आइतबार

हिमालयनमा गाभिने भयो सिभिल बैङ्क

blog

काठमाडौँ, असार ३० गते । हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्क लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैङ्कका अध्यक्ष प्रतापजङ्ग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुवै बैङ्कबीच भएको समझदारीअनुसार हिमालयन बैङ्कले अब सिभिल बैङ्कको सेयर प्रतिकित्ता ८१ रुपियाँका आधारमा कारोबार गर्नेछ । 

प्राप्तिपछिको बैङ्कको नाम हिमालयन बैङ्क लिमिटेड नै रहनेछ । सञ्चालक समिति हिमालयन बैङ्ककै रहने गरी भएको समझदारीअनुरूप समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोकशमसेर राणा बन्नुहुनेछ ।

हाल हिमालयन बैङ्कको चुक्ता पुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैङ्कको नौ अर्ब सात करोड रुपयाँ छ । १००ः८१ का दरले पुँजी समायोजन हुँदा सिभिलको करिब सात अर्ब ३५ करोड रुपियाँ हुनेछ । यसअनुसार नयाँ बन्ने बैङ्कको पुँजी २० अर्ब ३० करोड रुपियाँभन्दा माथि हुने देखिएको छ ।

लगानीतर्फ हिमालयन बैङ्कको एक खर्ब ५८ अर्ब र सिभिल बैङ्कको ८६ अर्ब ७४ करोड रुपियाँ छ । निक्षेपतर्फ हिमालयन बैङ्कको एक खर्ब ७२ अर्ब तथा सिभिल बैङ्कको ९३ अर्ब ३३ करोड रुपियाँ रहेको जनाइएको छ । हिमालयन बैङ्कले सिभिल बैङ्कलाई प्राप्ति गरेपश्चात् बैङ्कको कुल शाखा सङ्ख्या १८९ पुग्नेछ । यस कदमले संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा उल्लेख्य प्रगति हुने हिमालयन बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले बताउनुभयो ।