• २८ पुस २०८२, सोमबार

हरित निर्वाचन अभियान सुरु

blog

काठमाडौँ, पुस २८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई हरित निर्वाचन बनाउने अभियान निर्वाचन आयोगले सुरु गरेको छ । सरकारको हरित विकासको रणनीतिलाई सघाउँदै आयोगले हरित निर्वाचन अभियान सुरु गरेको हो, जस अनुसार आगामी निर्वाचनलाई हरित निर्वाचन नामकरण गरेर आइतबारदेखि अभियान थालेको छ । आयोगले यो अभियान आफैँबाट सुरु गर्दै निर्वाचनका गतिविधिलाई हरियो रङका साथ सम्प्रेषण गर्न थालेको छ । 

जैविक रूपमा नष्ट नहुने वा वातावरणमा हानि पुर्‍याउने कागज, प्लास्टिक, इन्धन जस्ता सामग्रीको न्यूनतम प्रयोग गर्दै दिगो, प्रदूषणमुक्त रूपमा निर्वाचन सम्पन्न गर्ने उद्देश्य नै हरित निर्वाचन अभियानको रहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो, “मतदानको दिन वा अघिपछिका दिनमा गरिने प्रचारप्रसारमा वातावरणमैत्री सामग्रीको प्रयोग तथा उपभोग नै हरित निर्वाचन हो, जसले आमनागरिकको जीवन तथा पृथ्वीको जीवनमा कुनै प्रकारको हानि नोक्सानी पु¥याउने छैन ।” 

उहाँका अनुसार आयोगले दुई तरिकाले हरित निर्वाचन सम्पन्न गर्ने खाका कोरेको छ । पहिलोमा स्वयम् निर्वाचन आयोगले निर्वाचनका हरेक गतिविधि गर्दा सरकारको हरित विकासको नीति पछ्याउँदै सकेसम्म प्रदूषण नफैलाउने, प्लास्टिकको कमभन्दा कम प्रयोग गर्ने, डिजिटाइजेसनमा जोड दिने र प्लास्टिकको प्रयोग नगरी नहुने अवस्थामा ४० माइक्रोनभन्दा माथिको प्लास्टिक सीमित रूपमा प्रयोग गर्ने भएको छ । त्यस्तै प्लास्टिकका सामग्री जस्तै मतपेटिका, पानीका जार, पानी खाने बोतल, कुर्सीटेबल, टेन्टहरू पुनः प्रयोगमा ल्याउने र भविष्यका लागि पनि पुनः प्रयोगमा जोड दिइने भएको छ । 

आयोगसँग मतदानका दिन प्रयोग हुने प्लास्टिकका मतपेटिकाहरू छन्, जुन विगतका निर्वाचनमा समेत प्रयोग हुँदै आएका हुन् । नयाँ खरिद नगरी त्यसैलाई पुनः प्रयोगमा जोड दिइने प्रवक्ता भट्टराईले जोड दिनुभयो । 

दोस्रो पाटोमा निर्वाचनमा भाग लिने राजनीतिक दलहरूलाई हरित निर्वाचनको अवधारणा अनुसार गतिविधि गर्न अभिप्रेरित गरिने छ । आयोगले भने अनुसार नगर्ने दलहरूलाई सचेत गराउने र वातावरणमैत्री काम तथा क्रियाकलाप नगरेमा दण्ड जरिवानासम्म गर्न सक्ने सोच आयागले राखेको छ ।  आयोगले दिएको जानकारी अनुसार राजनीतिक दल वा तिनका उम्मेदवारले सभा, जुलुस, र्‍याली वा घरदैलोलगायतका निर्वाचन प्रचारप्रसारका कार्यक्रम सकिएपछि उनीहरूले प्रयोग गरेका सामग्री अनिवार्य रूपमा सङ्कलन गरी वातावरणमैत्री तवरले उचित व्यवस्थापन गर्नुपर्ने छ । 


त्यसै गरी निर्वाचन प्रचारप्रसार, सभा, जुलुस, र्‍याली वा घरदैलो गर्दा वातावरणमैत्री सामग्री प्रयोग गर्ने, निर्वाचन प्रचारप्रसारलाई डिजिटल गर्न प्राथमिकता दिने, निर्वाचन प्रचारप्रसार र सभा, जुलुस गर्दा ध्वनि प्रदूषण, जल प्रदूषण, वायु प्रदूषण न्यून गर्ने उपाय अपनाउनुपर्ने छ । निर्वाचनमा सहभागी हुने मतदातालाई हरित निर्वाचनमा सहयोग पुग्ने गरी वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहन गर्ने, निर्वाचन प्रचारप्रसार गर्दा वातावरणमैत्री र प्रदूषण नियन्त्रणमा योगदान पुर्‍याउने गरी अभियानहरू सञ्चालन गर्नुपर्ने आयोगले प्रस्ट पारेको छ । निर्वाचन प्रचारप्रसारमा सवारीसाधनहरू प्रयोग गर्दा विद्युतीय वा नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने सवारीसाधनलाई प्राथमिकता दिनुपर्ने छ । सभा, जुलुस वा र्‍याली गर्दा वातावरणमा असर गर्ने खालका गतिविधिलाई न्यूनीकरण गर्नुपर्ने छ । त्यसै गरी त्यस्ता गतिविधि गर्दा प्लास्टिक, पोलिथिनलगायतका अजैविक सामग्रीको प्रयोग नगर्न भनिएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाँले थप्नुभयो, “निर्वाचनका क्रममा गरिने फोहोर तथा प्रदूषणले निकै पछिसम्म पनि आमनागरिकको जीवन र वातावरणमा असर पार्ने भएकाले सचेत भएर क्रियाकलाप गर्नै पर्छ ।” 

निर्वाचनलाई प्रदूषणमुक्त र हरित विकासमैत्री बनाउनका लागि आयोगले सबै राजनीतिक दल तथा उम्मेदवारलाई वातावरणमैत्री विधिको अवलम्बन गर्दै सूचना तथा जानकारी दिन आइतबारदेखि नै सुरु गरेको छ ।