काठमाडौँ, पुस २६ गते । हिमालयन चेस एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’ को सम्पूर्ण तयारी पूरा भएको छ ।
उमेर समूहमा आयोजना गर्न लागिएको दुर्लभ क्लासिकल चेसमा छनोट गरिएका प्रतिभावान २४ खेलाडीले आइतबारदेखि नौ दिन प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौँ जिल्ला चेस सङ्घसँगको सहकार्यमा आयोजित प्रतियोगिताबारे एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्नु हुन्छ, ‘‘नेपालमा २५ मिनेटसम्म खेल्ने र्यापिड र ब्लिजका प्रतियोगिता अत्याधिक हुने गरेको छ । तर, खेलाडी उत्पादन र स्तर मापनका लागि महत्त्वपूर्ण मानिएको क्लासिकल चेसको प्रतियोगिता विरलै आयोजना गरिन्छ । त्यसैले हामी वास्ताविक चेसको रूपमा लिइने क्लासिकल प्रतियोगिता आयोजना गर्दै युवा खेलाडीको स्तरोन्नति गर्न चाहन्छौँ।’’
प्रतियोगिता थापाथलीमा रहेको एकेडेमीको आफ्नै चेस हलमा सञ्चालन हुने छ । नौ दिन सञ्चालन हुने प्रतियोगितामा स्वीस प्रणालीको आधारमा प्रत्येक दिन एक चरण गरी कुल नौ चरणको खेल हुने छ । प्रत्येक खेलाडीले ९० मिनेट र ३० मिनेटको इन्क्रिमेन्ट समय पाउने छन् । खेलाडीलाई प्रत्येक जितमा एक हजार र बराबरीमा चार सय रुपियाँ पुरस्कार दिइने छ ।
हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वल्ड रेकर्ड्स, हिमालयन तीज चेस टोर्नी, प्यट्रिओटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसिए युथ कप गरी दस प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।