लक्ष्मी चौधरी
जनकपुरधाम, पुस २६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा जिल्लामा चार हजार पाँच सय २७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचना अनुसार २०८२ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषाको ४ निर्वाचन क्षेत्रमा खटाउन चार हजार पाँच सय २७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको हो ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति धनुषाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।
गत बिहीबार जारी गरेको सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
यस्तै, निर्वाचन प्रहरीको कार्य अवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोके बमोजिम रहनेछ । सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपियाँ ४० पैसा दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपियाँ पारिश्रमिक प्रदान गरिनेछ । साथै सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेट अनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारीद्वारा हस्ताक्षरित सूचनाअनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको हो ।
धनुषामा चार लाख १४ हजार ५७१ जना मतदाता सङ्ख्या रहेका छन् भने ४ निर्वाचन क्षेत्रमा ३२२ मतदान स्थल र ६४५ मतदान केन्द्र रहेका छन् ।