दैलेख समाचारदाता
दैलेख, पुस २६ गते । भग्नावशेषमा परिणत भएको दुल्लु दरबारको आँगनमा झारैझार र ढुङ्गा मात्र देखिँदैन; यहाँका बासिन्दाको स्मृति, पीडा र आशा पनि देखिन्छ । तत्कालीन माओवादी केन्द्रको सशस्त्र द्वन्द्वमा २०५९ सालको विस्फोटले भत्किएको यो दरबारसँगै दुल्लुका स्थानीयले इतिहास जोगिने आशा पनि गुमाएका थिए । बर्सौंसम्म कसैले फर्केर नहेरेको यो दरबार अहिले भने न्यायालयसम्म पुगेको छ ।
गत मङ्सिर ४ को दृश्य भने फरक थियो । नापी कार्यालयका प्राविधिक डोरी तन्काइरहेका थिए । वरिपरि उभिएका स्थानीय मौन थिए । आँखाभरि एउटै आस थियो । दुल्लु नगरपालिका–८ का ६८ वर्षीय ढालबहादुर गिरीले दरबारको भग्नावशेषतिर हेर्दै भन्नुभयो, “बाल्यकालमा यही दरबारछेउ खेल्दै हुर्कियौँ । विस्फोट भएको दिन आँखाअगाडि नै इतिहास ढलेको थियो । त्यसपछि राज्यले कहिल्यै सोधेन, दुल्लु दरबार बाँचेको छ कि छैन ?” स्थानीयको यही मौन पीडालाई कानुनी आवाज दिने व्यक्ति हुनुहुन्छ अधिवक्ता शेरबहादुर खत्री । उहाँले परमादेशसहित उपयुक्त आदेश माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गर्नुभयो । अदालतले वास्तविक अवस्था बुझ्न दरबार क्षेत्रको क्षेत्रफल र स्वामित्व यकिन गर्न जिल्ला अदालत दैलेखलाई आदेश दियो । त्यसैको परिणामस्वरूप दुल्लु दरबार क्षेत्रको जग्गा नापनक्सा सुरु भएको छ ।
नापनक्सा प्रक्रियामा जिल्ला अदालत दैलेख, दुल्लु नगरपालिका, नापी कार्यालय दुल्लु तथा अधिवक्ता खत्रीको संयुक्त टोली सहभागी भएर नापनक्सा भयो । दुल्लु नगरपालिका–७ की स्थानीय बिना कार्की भन्नुहुन्छ, “हामीले धेरै पटक माग ग¥यौँ तर कसैले सुनेन । अब अदालतले सुन्छ कि भन्ने आशा छ ।” दुल्लु नगरपालिकाका उपप्रमुखसमेत रहेकी कार्कीले दुल्लु दरबारका सवालमा अदालतमा मुद्दा परेर किनारा लगाएपछि त्यसको निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी त तयार छौँ, दरबार भएको क्षेत्र अहिले पनि व्यक्तिका नाममा छ, अदालतले जे आदेश दिन्छ, त्यही अनुसार हामी अगाडि बढ्छौँ ।”
खस राजा संसारी बम्मले विसं १३५३ मा स्थापना गरेको दुल्लु दरबार कुनै साधारण भवन थिएन । तिब्बतको ताक्लाकोटदेखि भारतको गडवालसम्म फैलिएको दुल्लु राज्यको प्रशासनिक र सांस्कृतिक केन्द्र यही थियो । तीन तला, तीन भ¥याङ र ५२ वटा झ्यालढोका भएको दरबार परम्परागत शैलीमा निर्माण गरिएको थियो । विसं १९८४ मा ललितपुरका कालिगड झिकाई दरबार पुनर्निर्माण गरिएको इतिहास पनि छ । दुल्लु राज्यका अन्तिम राजा जङ्गबहादुर शाहले यहीँबाट राजकाज चलाएका थिए तर २०५९ सालको विस्फोटले त्यो गौरव भग्नावशेषमा परिणत गरिदियो ।
दुल्लु नगरपालिकाका कर्मचारी शमशेरबहादुर शाहीका अनुसार नापनक्सामा दरबार क्षेत्र साबिक दुल्लु गाविस–१ र हाल दुल्लु नगरपालिका–७ मा पर्ने कित्ता नम्बर २७२ मा तीन हजार ७८० वर्गमिटर क्षेत्रफलमा फैलिएको पाइएको छ । फिल्डबुकमा उक्त जग्गा तत्कालीन दुल्लु राज्यका राजा तर्कबहादुर शाहका नाममा दर्ता रहेको भेटिएको छ । दरबार रहेको जग्गा अझै दरबारकै नाममा दर्ता नभएकाले उच्च अदालतको आदेशपछि मात्र पुनर्निर्माण अघि बढ्न सक्छ । नापनक्साको प्रतिवेदन अब जिल्ला अदालत दैलेखमार्फत उच्च अदालत सुर्खेत पुग्ने छ । आदेश आएपछि मात्र दुल्लु दरबारको भविष्य तय हुने छ तर स्थानीयका लागि यो प्रक्रिया केवल कानुनी होइन, त्यसको निराकरणसँगै भवन पनि बनोस् भन्ने भएको स्थानीय नागरिक समाजकी अगुवा कृष्णा शाहले बताउनुभयो ।