• २७ पुस २०८२, आइतबार

बागलुङको गलकोट र ढोरपाटनमा छाती रोगसम्बन्धी खोजपड्ताल

blog

छाती रोगसम्बन्धी खोजपड्ताल कार्यक्रममा बोल्नुहुँदै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक । तस्बिर सौजन्य : शिव शर्मा

नवराज नेपाली 
बागलुङ (गलकोट), पुस २६ गते ।
बागलुङको ढोरपाटनका नागरिकको एक्सरेद्वारा छाति रोगको खोजपड्ताल गरिएको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशका ग्रामीण भेगका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर पछिल्लो समय गाउँ गाउँमै पुगेर नसर्ने रोगको खोजपड्ताल गरिरहेको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक खोजपड्ताल शिविर गर्दै आफै गाउँ गाउँ पुग्नुहुन्छ ।

प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशबाट चिकित्सकसहित पुग्ने प्राविधिक टोलिले गण्डकी प्रदेशका जिल्ला जिल्लामा पुगेर क्षयरोगको चेकजाँच गर्छ । अघिल्लो वर्ष प्रदेशका ११ जिल्लाका विभिन्न क्षयरोग संवेदनशिल पालिकामा पुगेर ३२ हजारभन्दा बढी नागरिकको चेकजाँच गर्दा चार सय ५२ जनालाई क्षयरोग सङ्क्रमण देखिएको थियो ।

यो वर्ष पनि बागलुङसँगै तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा र नवलपुरका केही स्थानीय तहमा पुगेर शिविर सञ्चालन गरिसकिएको छ । सोही खोजपड्ताल शिविरअन्तर्गत शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का नागरिकलाई लक्षित गरेर बोवाङ स्वास्थ्य चौकीमा क्षयरोगको खोजपड्ताल गरिएको छ ।

शिविरमा तीन सय ६५ जनाको चेकजाँच गरिएको प्रादेशिक रोग नियन्त्रण केन्द्र गण्डकी प्रदेशका ल्याव टेक्निसियन तथा ‘एक्सरेद्वारा छाती रोगसम्बन्धी खोजपड्ताल शिविर’ कार्यक्रमका फोकल पर्सन राजेन्द्र रानाभाटले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । उनिहरुलाई आजैबाट औषधी सेवन गराईएको उहाँले बताउनुभयो । चेकजाँच गरिएका मध्ये ३२ जनामा सङ्क्रमणको लक्षण देखिएपछि थप चेकजाँचका लागि खकार सङ्कलन गरिएको उहाँले बताउनुभयो  ।

यसैगरी, गलकोटमा दुई सय २४ जनाले निःशुल्क एक्स–रे सेवा गरिएको थियोे  । प्रारम्भिक परीक्षणपछि शङ्कास्पद देखिएका १७ जनालाई थप पुष्टि परीक्षण (जिन एक्सपर्ट) का लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पठाइएको र तीन जनामा क्षयरोगको सङ्क्रमण देखिएकाहरुलाई  औषधी सेवन गराईएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर शाहले जानकारी दिनुभयो ।