गोरखा राज्यको उत्तराधिकारीका रूपमा विसं १७९९ पुस २७ जन्मिएका पृथ्वीनारायण शाह आधुनिक कालखण्डमा नेपाल एकीकरणका प्रणेता हुन् । राष्ट्रिय एकता दिवस राष्ट्रनिर्माताको जन्म दिवस पारी मनाउँदै आएकोमा गणतन्त्रलगत्तै राष्ट्रियस्तरमा पृथ्वी जयन्ती नमनाउने घोषणा गरिएको थियो । पछिल्ला दिनमा पुनः नेपालका सर्जकलाई स्मरण गर्न थालिएको छ । यथार्थमा प्रधान तत्व भनेको मुलुक हो । नेपालको निर्माणमा जसको त्याग, तपस्या र समर्पण छ, उनको स्मरणलाई राजनीतिक व्यवस्था तगारो हुनु हुँदैन । यथार्थमै जुनसुकै राष्ट्रिय–राज्यका ‘राष्ट्रनिर्माता’ कुनै पनि ‘वाद’ र तन्त्रभन्दा सर्वोपरि हुन्छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका अनुसार पृथ्वीनारायण राष्ट्रिय एकीकरणका प्रणेता तथा विखण्डित नेपाल निर्माणका अभियन्ताको रूपमा नेपाल र नेपालीले स्मरण गर्नुपर्ने अमर राष्ट्रिय व्यक्तित्व हुन् । पूर्वराष्ट्रपति भण्डारीको जोड छ–राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती प्रत्येक वर्ष विद्यालय तथा विश्वविद्यालयमा पनि विभिन्न समीक्षात्मक गोष्ठी गरी भव्यताका साथ मनाउनु पर्छ । उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेका राष्ट्रले स्वतन्त्रता दिवस मनाउँछन्, हामीले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने चलन हो ।
नेपाल र नेपालीका निमित्त सुकरात, प्लेटो, अरस्तु, माक्र्स तथा लेनिन जस्ता दार्शनिकभन्दा पृथ्वीनारायणले नेपालका सन्दर्भमा सुझाएका मार्गदर्शन सर्वोपरि छन् । हामीले हाम्रा मूल्यमान्यता, परम्परा, राष्ट्रनिर्माता, राजनेता, सर्जक, साहित्य, साहित्यकार सहिदहरूप्रति सम्मान नदेखाई कसले देखाउँछ ? नयाँ नेपालका नाममा सबै मूल्यमान्यता, परम्परा, राष्ट्रनिर्माता, राजनेता, सर्जक, साहित्य, साहित्यकार सहिद बिर्सिने वा समाप्त पार्दै जाने हो भने हाम्रो गौरव, वैभव, अस्मिता, अस्तित्व, एकता कसरी रहला ?
प्रत्येक देशको पृथक् राजनीति, भूगोल, इतिहास र संस्कृति हुन्छ । संसारभरकै इतिहास राजाबाटै सुरु हुन्छ, जुन इतिहासमा पाइने सर्वव्यापी सामान्य चरित्र हो । पृथ्वीनारायणको तुलना भारतका समुद्रगुप्त, इटालीका केवुर, गैरिबाल्डी, मेजिनी र जर्मनीका बिस्मार्कसँग गर्न सकिन्छ । सबै आआफ्ना राष्ट्रका एकीकरणका अभियन्ता तथा राष्ट्रनिर्माता हुन् । पृथ्वीनारायण र समुद्रगुप्तले सैन्य विजयमार्फत राजनीतिक एकीकरण गरे पनि समुद्रगुप्त साम्राज्य विस्तारमा केन्द्रित थिए भने पृथ्वीनारायण सार्वभौम रष्ट्रिय–राज्य निर्माणमा केन्द्रित थिए । केवुर, गैरिबाल्डी र मेजिनी इटाली एकीकरणका जनवादी र वैचारिक अगुवा थिए, जबकि पृथ्वीनारायण राजतन्त्रात्मक माध्यमबाट राष्ट्र निर्माण गर्न चाहन्थे । बिस्मार्क र पृथ्वीनारायण दुवैले यथार्थवादी राजनीति, कूटनीति र सैन्य शक्ति प्रयोग गरे तर बिस्मार्कले उद्योगमा आधारित आधुनिक राष्ट्रको निर्माण गरे । ऐतिहासिक सन्दर्भ फरक भए पनि यी राजनेताको साझा उद्देश्य राष्ट्रिय एकीकरण थियो ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइरहँदा आज पनि नेपाल र नेपालीका लागि सान्दर्भिक दिव्योपदेशको चर्चा गर्नु सान्दर्भिक छ । नयराज पन्तका अनुसार सुरुमा पाण्डुलिपि फेला पर्दा यसको नाम थिएन । ‘पृथ्वीनारायण शाहको व्याख्यान’ नाम बाबुराम आचार्यले दिएका थिए । ‘दिव्योपदेश’ भनी नामकरण गर्ने व्यक्ति योगी नरहरिनाथ हुन् । नयराज पन्तले भने यसलाई ‘श्री ५ पृथ्वीनारायण शाहको उपदेश’ नामकारण गरेका थिए । पृथ्वीनारायणको मनसुवा मात्र राज्यविस्तार थिएन, उनी एक राष्ट्रनिर्माता हुन् । दिव्योपदेशमार्फत सुझाएका कथन आज पनि नेपालको बृहत्तर राष्ट्रिय हित, सामाजिक, आर्थिक, राजनीतिक, परराष्ट्र नीति र सुशासनका सन्दर्भमा अझै सान्दर्भिक छन् । त्यसैले पृथ्वीनारायणलाई नेपालको दूरदर्शी शासकका रूपमा सम्मानपूर्वक स्मरण गरिन्छ र गर्नु पर्छ । दिव्योपदेशलाई नेपालको प्रारम्भिक राजनीतिक दर्शन र राष्ट्रनीतिको आधार मानिन्छ । दिव्योपदेशको विश्लेषण गर्दा यसको दीर्घकालीन प्रभाव र सीमासम्बन्धी दुई फरक दृष्टिकोण देखिन्छन् । यसलाई केही विद्वान्ले नेपालको
‘प्रथम विधान’ का रूपमा लिएका छन्, जसले राष्ट्रिय पहिचान र सार्वभौमिकताको संरक्षणका लागि आवश्यक रणनीतिक मार्गदर्शन प्रदान गर्छ । यस ग्रन्थले राष्ट्रिय एकता, आत्मनिर्भरता र विदेशी हस्तक्षेपप्रति सावधानी अपनाउन आग्रह गर्छ । शक्तिशाली छिमेकी राष्ट्रहरूका बिच सन्तुलित कूटनीति अपनाउने दृष्टिकोण आज पनि नेपालको परराष्ट्र नीतिमा सान्दर्भिक देखिन्छ । दिव्योपदेशका प्रमुख विचारका आधारमा पृथ्वीनारायणको विशेषतालाई यस प्रकार व्याख्या गर्न सकिन्छ ः
एकीकरणका अभियन्ता
उनको सबैभन्दा ठुलो योगदान नेपालको एकीकरण हो । उनी गोरखाका राजा हुँदाताका नेपालको माझमा कान्तिपुर, ललितपुर र भक्तपुर नामक राज्य थिए; पूर्वपट्टि मकवानपुर, चौदण्डी र विजयपुर नामक तीन वटा राज्य थिए भने पश्चिमतर्फ गण्डकी नदीका तीरमा कास्की, पर्वत, पाल्पा, गोरखालगायत चौबिस वटा राज्य थिए, त्यसैले तिनलाई चौबिसे राज्य भनिन्थ्यो । त्यसै गरी कर्णाली नदीका तिरमा दुल्लु, अछाम, जुम्ला, बझाङलगायत बाइस वटा राज्य थिए, त्यसैले तिनलाई बाइसे राज्य भनिन्थ्यो । यी दर्जनौँ साना–साना राज्य (बाइसे–चौबिसे, पूर्वका सेन राज्यहरू र काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू) लाई दीर्घकालीन रणनीति अपनाउँदै सैन्य शक्ति, कूटनीति र आर्थिक नाकाबन्दीको प्रयोग गरेर विभक्त विशाल नेपाललाई पुनः एकीकरणको आरम्भ गर्ने श्रेय पृथ्वीनारायणलाई नै छ । एकीकरणले नेपाललाई एक सार्वभौम, सङ्गठित र केन्द्रीय शासन प्रणाली भएको राष्ट्रका रूपमा स्थापित ग¥यो । यस ग्रन्थमा विखण्डित अवस्थामा रहेका ससाना राज्यलाई कसरी एकीकृत राष्ट्र–राज्यमा रूपान्तरण गर्ने भन्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ । केही विद्वान्ले शाहको एकीकरण अभियानलाई विस्तारवादी मानेका भए पनि, यो अभियान आधुनिक नेपालको निर्माणका लागि ऐतिहासिक रूपमा अपरिहार्य थियो ।
सन्तुलित परराष्ट्र नीतिका सूत्रधार
कुनै पनि राष्ट्रको समृद्धि प्रगति सफल विदेश नीतिमा पनि भर पर्छ । तत्कालीन परिवेशमा राष्ट्रनिर्माताले सन्तुलित र असङ्लग्न विदेश नीति तय गर्नुपर्नेमा जोड दिएका थिए । नेपाललाई दुई ढुङ्गाबिचको तरुल भनेर वर्णन गर्दै उत्तर र दक्षिणतर्फ सन्तुलित कूटनीति अपनाउनुपर्ने विचार व्यक्त गरेको पाइन्छ ।
यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेछ ।
चीन बादसाह सित ठुलो घाहा राषनु, दषिनको समुन्द्रका बादशाह सित घाहा ता राषनु. तर यो महाचतुर छ. हिन्दुस्थाना दबाई राषेछ, सरजिमी मा परिरहेछ. हिन्दुस्थाना जाग्यो भन्या कठिन पर्ला भनि किल्ला षोजन आउन्या छ, सन्धीसर्पन् हेरि गढि तुल्याई राषनु र रस्ता रस्तामा भाजा हालि राष्नु र यक दिन त्यो बल आउन्या छ ।
जाइ कटक् नगर्नु. झिकी कटक् गर्नु ।
देशलाई आत्मनिर्भर बनाउने धारणा
देशको ढुकुटी बलियो बनाउन कृषि, जडीबुटी तथा खानीमा आधारित अर्थतन्त्रको विकास गर्नुपर्ने विचार अघि सारेको पाइन्छ ।
आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु. नगद षैचि राषनु ।
षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरू जग्गामा सारिकन पनि षानि चलाउनु ।
गह्रो बन्या जग्गामा घर भया पनि घर अरू जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु ।
राज्यको आधार जनता
जनता नै राज्यको आधार भएकाले जनताको संरक्षण र न्यायपूर्ण शासनको आवश्यकता औँल्याएको पाइन्छ । फ्रान्सका लुई १६ औँ भन्ने गरेको “म नै राज्य हुँ’’ भन्ने उद्गार भन्दा पृथकंमात्र नभएर लोकतान्त्रिक प्रतित हुन्छ ।
दुनिँञा जसदेषी राजि रहन्छन् उसैलाई कजाई दिनु
प्रजा मोटा भया दर्बार बलियो रहन्छ ।
राजाका भंडार भन्याका रैतानहरू हुन् ।
राष्ट्रिय एकताका हिमायती
नेपाली राष्ट्रिय एकताका र राष्ट्रवादको उद्भव पृथ्वीनारायणको शासनकालसँग जोडिएको छ । एस.डी. मुनिका अनुसार पृथ्वीनारायणले देशको भौगोलिक र राजनीतिक एकीकरण सम्पन्न गर्दै जनतामा एकताको भावना सिर्जना गर्ने प्रयास गरे । यस ग्रन्थमा विखण्डित अवस्थामा रहेका ससाना राज्यलाई कसरी एकीकृत राष्ट्र राज्यमा रूपान्तरण गर्ने भन्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ । केही विद्वान्ले शाहको एकीकरण अभियानलाई विस्तारवादी मानेका भए पनि, यो अभियान आधुनिक नेपालको निर्माणका लागि ऐतिहासिक रूपमा अपरिहार्य थियो । यस सन्दर्भमा पृथ्वीनारायणको एउटा भनाइ सान्दर्भिक छ ः मेरा साना दुषले आज्र्याको मुलुक होइन, सबै जात को फुलबारि हो, सबैलाई चेतना भया ।
सुशासनप्रति प्रतिबद्ध
अन्याय मुलुकमा हुन नदिनु । निञानिसाप बिगान्र्या भन्याको घुस् दिन्या र घुस षान्या हुन् ।। ईन दुईको ता धन जिव गरि लियाको पनि पाप छैन । ई राजाका महासतुर हुन् ।
यस भनाइले पृथ्वीनारायण शाहको भ्रष्टाचारविरुद्ध कडा नीति र सुशासनप्रति प्रतिबद्ध भएको स्पष्ट गर्छ । उनका अनुसार घुस दिने र लिने दुवै राष्ट्रका लागि घातक भएकाले यसविरुद्ध राज्य क्रूर हुन आवश्यक भएको ठहर गर्छ । यो उद्धरण सर्वव्यापी, सर्वकालिक महत्वको मात्र नभएर अकाट्य पनि छ ।
राष्ट्रिय संस्कृतिका पृष्ठपोषक
राष्ट्रिय संस्कृतिप्रति अगाध आस्था र प्रेम थियो राष्ट्रनिर्मातालाई । संस्कृति एक बृहत् दृष्टिकोण हो, परम्परा कला, नृत्य, मूल्य, मान्यता, रीति, स्थिति, अर्थनीति, राजनीति भोजन पद्धतिदेखि लिएर मानवले विकास गरेका हरेक कुरा संस्कृतिमा पर्छन् । राष्ट्रमा रहेका सबै जातजातिका संस्कृति हुर्कने समान अवसर दिने मात्र होइन अपितु जगेर्नामा पनि जोड दिएका छन् ।
नवयुवा पुस्ता (जेनजेड) का लागि पथप्रदर्शक
नेपालका नवयुवा पुस्ता (जेनजेड) सामाजिक सञ्जालका माध्यमबाट अन्तर्राष्ट्रिय विचारधारासँग निकट छन् । विभिन्न अवधारणाबाट उत्प्रेरित हुँदै विकासतर्फ आकर्षित देखिन्छन् तर ती सबै विचार नेपालको विशिष्ट सामाजिक, सांस्कृतिक र ऐतिहासिक सन्दर्भसँग सधैँ मेल खान्छन् भन्ने छैन । नवयुवा पुस्ताको ऊर्जा र चेतना परिवर्तनका शक्तिशाली आधार हुन् तर ती शक्ति राष्ट्रनिर्माण गर्ने दिशातर्फ उन्मुख हुन आवश्यक छ । दिव्योपदेश कुनै कठोर दस्ताबेज होइन, बरु नेपाली मौलिकतमा आधारित यथार्थपरक र भविष्यतर्फ उन्मुख मार्गदर्शक सिद्धान्त हो । दिव्योपदेशमा नेपालको सार्वभौमिकताको र अर्थतन्त्रको सबलीकरण र सांस्कृतिक सम्पदाको संरक्षण कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने तथ्यको उल्लेख छ । तसर्थ नवयुवा पुस्ताका लागि यो ग्रन्थको अध्ययन अपरिहार्य देखिन्छ ।
दिव्योपदेश मा शासनसम्बन्धी दृष्टिकोण शास्त्रीय राजनीतिक सिद्धान्त र व्यावहारिक प्रशासनिक यथार्थको संयोजनका रूपमा प्रस्तुत भएको छ । हिन्दु राज्यको अवधारणालाई अङ्गीकार गर्दै गोरखाली भाषा र पहाडी संस्कृतिलाई राष्ट्रको एकताको सूत्रका रूपमा स्थापित गर्नु उनको प्रयास थियो । यद्यपि शासन प्रणाली अर्धसामन्ती प्रकृतिको थियो तर भूराजनीतिक रूपमा संवेदनशील अवस्थामा रहेको नेपालका लागि यसले सामाजिक–राजनीतिक स्थायित्व प्रदान ग¥यो । यस्तो एकीकरण नभएको भए औपनिवेशिक युगमा नेपाल सजिलै विदेशी शक्तिको अधीनमा पर्न सक्थ्यो । यद्यपि आजका केही आलोचकले उहाँका नीति र रणनीतिलाई साम्राज्यवादी ठान्छन्, ती नीतिमा राष्ट्रिय एकता, सांस्कृतिक अखण्डता र सार्वभौमिकताको गहिरो चिन्ता स्पष्ट देखिन्छ । फरक मत राख्नेहरूले यस्ता परम्परागत सिद्धान्तमा अत्यधिक निर्भरताले आधुनिकरणको प्रक्रियामा बाधक बन्न सक्छ र समावेशी तथा लोकतान्त्रिक अभ्यासको विकासमा अवरोध सिर्जना गर्न सक्छ । केही आलोचकको मतमा दिव्योपदेश को ऐतिहासिक सन्दर्भ सैन्य विजय र केन्द्रीयकरणमा आधारित भएकाले यसलाई कतिपयले एकीकरणभन्दा बढी दमनकारी प्रक्रिया पनि मानेका छन् । व्यापक ऐतिहासिक सन्दर्भमा हेर्दा दिव्योपदेश नेपाली राज्य व्यवस्थाको आधारभूत दस्ताबेज हो । यसको मूल्याङ्कन गर्दा यसका सिद्धान्तलाई जस्ताको तस्तै लागु गर्नुभन्दा पनि समसामयिक आवश्यकता अनुसार पुनव्र्याख्या र रूपान्तरण गर्नु आवश्यक छ । पृथ्वीनारायणले नेपाली पहिचान र राजनीतिक एकीकरणको साझा आधार तयार पारे । उक्त ग्रन्थमा व्यक्त सांस्कृतिक संरक्षण, रणनीतिक स्वाधीनता र सुशासनका अवधारणा आजको नेपालमा पनि राजनीतिक रूपमा महìवपूर्ण छन् । कूटनीतिक दूरदृष्टि र राष्ट्रवादी सोचले पृथ्वीनारायणलाई नेपालको एक अविस्मरणीय ऐतिहासिक पात्र बनाएको छ ।