गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्रसम्बन्धी विधेयक पारित भएपछि चलचित्र विकास बोर्ड स्वायत्त हुने बताउनुभएको छ ।
चलचित्र विकास बोर्डद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रम ‘नेपाली चलचित्र क्षेत्रमा आगामी कार्यदिशा’ लाई सम्बोधन गर्दै उहाँले सो विधेयक अन्तिम चरणमा पुगेको जानकारी दिँदै विधेयकमा त्यस्तो व्यवस्था गरिएको बताउनुभयो । उहाँले नेपाली चलचित्र क्षेत्रको विकासले देशको आर्थिक समृद्धिमै योगदान पुग्ने बताउँदै नेपाली चलचित्र क्षेत्रलाई स्वायत्त बनाउँदै सम्बन्धित क्षेत्रकै अनुभवी व्यक्तित्वहरू बोर्डको नेतृत्वमा आउने गरी व्यवस्था गरिएको र चलचित्र सेन्सरसम्बन्धी कार्यविधि पनि अगाडि बढाइएको जानकारी दिनुभयो ।
मन्त्री खरेलले नेपाली चलचित्रकर्मीले चलचित्रसँग सम्बन्धित क्षेत्रका लागि कर छुटको माग गरिरहेको सन्दर्भमा आफ्नो कार्यकाल छोटो रहेको र सञ्चार मन्त्रालयले मात्र त्यस विषयमा निर्णय गर्न नसक्ने भएकाले अहिले यसतर्फ निर्णयहरू नभएको पनि बताउनुभयो ।
कार्यक्रममा चलचित्र विकास बोर्डको यस वर्षको कार्यक्रम सार्वजनिक गर्दै उहाँले साउन्ड मिक्सिङ, फोटो/भिडियो, मेकअप, ड्रोन चलाउने तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । त्यसै गरी एआई एनिमेसन, पौडी, घोडा चढ्ने तालिम, पटकथा लेखनलगायतका तालिम सञ्चालन गरी चलचित्रकर्मीलाई दक्ष बनाइने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले नेपाली चलचित्र क्षेत्रले देशको आर्थिक समृद्धिमा टेवा पु¥याइरहेको र नेपाली संस्कृति, कला, भाषालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न योगदान दिइरहेकोमा यस क्षेत्रलाई राज्यले नीति बनाएर सहयोग गर्ने बताउनुभयो ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बोर्डले यस वर्ष सञ्चालन गर्ने तालिममा नेपाली चलचित्र क्षेत्रका अनुभवी व्यक्तित्वहरूलाई अवसर दिएर चलचित्र उद्योगलाई माथि उठाउने लक्ष्य राखेको बताउनुभयो । कलाकार कृष्ण मल्लले सिनेमा पर्यटनको विकासका लागि यस क्षेत्रमा अर्थपूर्ण काम गर्न एकद्वार प्रणाली, राम्रो नीति र चलचित्र विकास बोर्ड स्वायत्त हुनुपर्नेलगायतका धारणा व्यक्त गर्नुभयो । निर्माता आकाश अधिकारीले नेपाली चलचित्र उद्योगले ३५ लाख जनालाई रोजगारी दिइरहेको, राष्ट्रका लागि राम्रो राजस्व तिर्ने, नेपाली संस्कृतिलाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा पु¥याउन नयाँ चलचित्र ऐनको आवश्यकता रहेको बताउनुभयो । सो अवसरमा अभिनेता सुनिल थापा र नाजिर हुसेनलाई सम्मान गरिएको थियो ।