• २७ पुस २०८२, आइतबार

कलामा विदेशी र नेपाली जनजीवन

blog

लेखनाथ समाचारदाता

लेखनाथ, पुस २६ गते । आयरल्यान्डका स्थानीयको संस्कृति होस् कि नेपाली गुरुङ/मगर समुदायको घाटु नाच, सारङ्गीको मर्मदेखि रुखका जराबाट आकर्षक मूर्तिकलासम्म पोखरामा एकै ठाउँमा हेर्न पाइन्छ । विदेशी र स्वदेशी जनजीवन, संस्कृति, सुन्दरता र सम्भावनालाई कलामार्फत उजागर गर्ने अवसर सिर्जनशील कलाकार समूह पोखराले मिलाएको हो । 

समूहले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजना गरेको ‘आर्ट इन हिमालय’ शीर्षकको अन्तर्राष्ट्रिय कला प्रदर्शनी शनिबारसम्म चल्ने छ । प्रदर्शनीमा ३३ नेपाली र १५ विदेशी कलाकारका ७० चित्र छन् । प्रदर्शनीमा आएका कलाकार अहिले पर्यटन राजधानी पोखराको सुन्दरता नियाल्दै छन् । कलाकार टोलीका सदस्यहरू कला प्रवर्धनसँगै यहाँको प्राकृतिक सुन्दरता र जनजीवन बुझ्न पोखराका विभिन्न ठाउँको भ्रमणमा हुन् । 

प्रदर्शनीमा आयरल्यान्ड, बेलायत, अमेरिका, अस्ट्रेलिया, डेनमार्क र क्यानडाका कलाकारका चित्र समावेश छन् । आयरल्यान्डकी कलाकार लोरा मुर्फीले नेपाली कलाकारले कलामा गरेको जीवन, जगत् चित्रणले आफूलाई आकर्षण गरेको सुनाउनुभयो । विदेशी कलाकारलाई नेपाल ल्याउने चाँजोपाँजो भने ‘इसेन्स अफ मूलरानी’ नामक संस्थाले मिलाएको हो । संस्थाका नेपाल प्रमुख डिल्ली तुलाधर नेपाली कलाकारलाई विदेशी कलाकारको सिप, अनुभव र ज्ञानबाट सिक्ने मौका प्रदान गर्न र नेपालको प्रवर्धन गर्न यस्तो पहल गरिएको बताउनुहुन्छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रदर्शनी उद्घाटन गर्दै कला सम्बन्ध विस्तार र संस्कृति प्रवर्धनको बलियो माध्यम भएको उल्लेख गर्नुभयो । “पोखरा पर्यटनको राजधानी त हो नै; यहाँको प्रकृति, संस्कृति र साहसिक गतिविधिका अतिरिक्त कला पनि यसलाई प्रवर्धन गर्ने प्रभावकारी माध्यम हो ।”

यस्ता प्रदर्शनीले कलाकारलाई प्रोत्साहन, ज्ञान आर्जनसहित पोखरा र समग्रमा नेपालकै प्रवर्धन हुने उहाँको भनाइ छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेल प्रदर्शनीमा गण्डकीका सबै जसो जिल्ला समेट्ने प्रयास भएको उल्लेख गर्नुहुन्छ । थप कलाकार र कलालाई यही जनवरी २१ देखि २३ सम्म पोखरामै हुने अर्काे कला प्रदर्शनीमा समेटिने उहाँको भनाइ छ । सिर्जनशील कलाकार समूहका अध्यक्ष डिबी गुरुङ यस्तो प्रदर्शनी नेपाली कलाकार र कलालाई विश्वमा चिनाउने माध्यम बन्ने गरेको उल्लेख गर्नुहुन्छ । प्रदर्शनी अवलोकन गरी कला र संस्कृतिको प्रवर्धनमा सघाउन उहाँले आग्रह गर्नुभयो ।