• २६ पुस २०८२, शनिबार

निर्वाचनबाटै लोकतन्त्रको सम्मान

blog

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देश फेरि एक पटक राजनीतिक वाष्पले तातिएको छ । आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन आउन अब ५५ दिन मात्रै बाँकी छ । यी दिनमा निर्वाचनका लागि गर्नुपर्ने अझ धेरै काम बाँकी छन् । सरकारले निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण पक्ष मानिने शान्ति–सुरक्षाको ग्यारेन्टी गरिरहेको भए पनि राजनीतिक दलहरू ढुक्क हुन नसकिरहेको अवस्था भए पनि छ र पनि देशमा निर्वाचनको माहोल जर्बजस्त तातिएको छ । हरेक देशका लागि निर्वाचन लोकतन्त्रको एउटा त्यस्तो उत्सव हो, जसले बहुदलीय संसदीय शासकीय व्यवस्था भएको राष्ट्रका लागि नयाँ र ताजा नेतृत्वको छनोट गर्छ । त्यसले गर्दा निर्वाचन लोकतन्त्रको आत्मा पनि मानिन्छ । यही बिचमा राष्ट्रिय सभाका रिक्त पदका लागि उम्मेदवारी दर्तासमेत भइसकेको छ । प्रतिनिधि सभा निर्वाचनको भविष्य आगामी माघ ११ गते हुने त्यही राष्ट्रिय सभाको निर्वाचनले पनि निर्धारण गर्छ । त्यसबाट फागुन २१ को एउटा सङ्केत पनि दिने छ । 

जेनजी विद्रोहका यी पाँच महिनामा देशमा धेरै प्रकारका परिवर्तन भएका छन् । राजनीतिक, सामाजिक र मानवीय चेतनाका अनेक आयामहरूले समाजलाई एउटा नयाँ रङ दिएको छ । नयाँ पुस्तामा आएको राजनीतिक जागरणले राजनीतिक भविष्यको पटाक्षेप पनि गरिरहेको छ । जेनजी विद्रोहपछि बिथोलिएको देशको राजनीतिक र सामाजिक व्यवस्था बिस्तारै मूल बाटोमा आउँदै छ । यसबाट देशले पनि एउटा लय समात्छ कि भन्ने आशा पनि पलाएको छ । जेनजी विद्रोहका क्रममा देशले कहिल्यै मूल्य चुकाउनै नसक्ने गरी भयङ्कर मानवीय र भौतिक क्षति ब्यहोरेको छ । त्यसबाट देशलाई एउटा युगीन चोट लागेको छ । त्यसबेला सुरक्षाकर्मीबाट लुटिएका हतियार अनि कारागार तोडेर भागेका कैदीबन्दी चुनावका मुख्य चुनौती बनेका छन् । यद्यपि सरकारले त्यसबाट सुरक्षा प्रत्याभूत गर्न गराउन हरसम्भव प्रयास गरिरहेको भनेको छ तथापि राजनीतिक दलहरू सुरक्षा चासोलाई लिएर ढुक्क हुने अवस्था बनिसकेको छैन । सरकारको पहिलो दायित्व भनेको राजनीतिक दलहरूलाई विश्वासमा लिन सक्नु पर्छ । 

विद्रोहपछि बिथोलिएको देशलाई समाल्न तत्कालीन अवस्थामा निर्दलीय अन्तरिम सरकारको गठन भयो । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउने मुख्य कार्यभार पाएको यो अन्तरिम सरकारका पनि पाँच महिना बितिसकेका छन् । खास गरी नवपुस्ताको साथ र समर्थनमा उभिएको यो सरकारको संवैधानिक जग आफैँमा बलियो छैन । त्यसैले तोकिएको समयमा चुनाव नगरी सरकारलाई सुखै छैन । यस कारण सरकारका लागि पनि चुनाव अनिवार्य सर्त जस्तै भएको छ । अर्कोतिर देशमा राजनीतिक स्थायित्वका लागि पनि फागुन २१ को चुनाव अपरिहार्य छ । ठ्याक्कै नेपालको अहिलेको अवस्थासँग मिल्नेगरी पूर्वअमेरिकी राष्ट्रपति जिम्मी कार्टरले भन्नुभएको छ, “लोकतन्त्र भनेको अनुभूति हो । त्यस्तो अनुभूति जो जिन्दगीको जस्तै हुन्छ । अर्थात् त्यो सधैँ परिवर्तनशील हुन्छ । त्यसका विविधता अनन्त हुन्छन् । अझ कहिलेकाहीँ एउटा अशान्त अनि प्रतिकूलतामा समेत परीक्षण हुने भएका कारण त्यसको मूल्य अझ अनन्त हुन्छ ।” एउटा प्रतिकूल समयमा नेपालमा फेरि लोकतन्त्रको परीक्षण हुन थालिरहेको छ । निर्वाचन आयोग आफैँले नै यसलाई ‘आकस्मिक’ निर्वाचन भनेको छ । देशमा संवैधानिक सङ्कट टार्न अनि लोकतन्त्रको रक्षा गर्न यस्तो निर्वाचन अपरिहार्य हुन्छ । अहिले भनेको त्यस्तै अवस्था नै हो । जेनजी विद्रोहका कारण देश असाधारण रूपमै बिथोलिएको हो । राजनीतिक अनि संवैधानिक अङ्ग नै ध्वस्त हुने गरी भएको त्यो विद्रोहले देशलाई यसै गरी आकस्मिक निर्वाचनको माहोलमा धकेलिदियो । त्यसका लागि यहाँका राजनीतिक दल एक पटक फेरि परीक्षणका लागि जनतामाझ जानुपर्ने अवस्था आएको छ । यो एउटा त्यस्तो आकस्मिक समय बनिदियो, जसको कल्पना कसैलाई थिएन । कसैले पनि जेनजी विद्रोहले त्यो रूप धारण गर्ला भन्ने सोचेको थिएन । यद्यपि विद्रोहको रूप सोचे जस्तो त हुँदैन न त्यसको कुनै निश्चित सीमा निर्धारित हुन्छन् । अवस्था अनुसार विद्रोहका रूप र त्यसका परिणाम फेरिन सक्छन् । एउटा कुनै उद्देश्यका लागि सुरु गरिएको विद्रोहका व्रmममा गत भदौ २३ र २४ गते भएको पनि त्यही हो । 

अहिले नचाहँदा नचाहँदै पनि कतिपय दल निर्वाचनका लागि तयार हुनुपर्ने आएको छ । किनकि यो दलहरूका लागि मात्रै नभए राष्ट्रका लागि आवश्यक ठानिएको निर्वाचन हो । हाम्रा अग्रज पुस्ताले युगौँ युग लडेर, रगत पसिना बगाएर ल्याएको परिवर्तन र उपलब्धि रक्षाका निम्ति आवश्यक भएको निर्वाचन हो । हाम्रो संविधान अनि लोकतन्त्र रक्षाका निम्ति आवश्यक परेको निर्वाचन हो । त्यसैले देशका सबैजसो राजनीतिक दलका लागि अहिले निर्वाचनको विकल्प छैन । यो निर्वाचनमा अहिले फरक माहोल पनि देखिन थालेका छन् । नयाँ भनिएका वा ‘वैकल्पिक शक्ति’ ठान्ने नयाँ पार्टीहरूले आफूलाई ध्रुवीकृत गर्न थालेका छन् । फरक राजनीतिक विचार अनि सिद्धान्त बोकेका दलहरूले पनि यतिबेला चुनावी मोर्चा बनाउनुपर्ने अवस्था सिर्जना भएको छ । देशमा ठुला भनिएका नेपाली कांग्रेस अनि नेकपा एमालेहरू पनि चुनावका लागि तम्तयार त देखिन्छन् र सरकारसँग अझै पनि आश्वस्त हुन सकिरहेका छैनन् । यही बिचमा नेकपा एमालेले त आन्तरिक प्रतिस्पर्धामार्फत आफ्नो नेतृत्वलाई पनि पुनर्ताजगी गरिसकेको छ । नेपाली कांग्रेस त्यसकै लागि अलमलिइरहेको छ । सरासर हिसाबले यही वर्षको मङ्सिरमा हुनुपर्ने कांग्रेसको महाधिवेशन विभिन्न बहानाबाजी गर्दै धकेल्न थालिएको छ । महिनौँसम्म छलफलपछि पनि कांग्रेस यही महाधिवेशनको गोलचक्करमै छ । एउटा ठुलो, पुरानो र ऐतिहासिक रूपमा स्थापित देशको लोकतान्त्रिक राजनीतिक शक्तिका हिसाबले कांग्रेसको यो अलमल देशकै लागि निकै महँगो साबित हुने छ । यो पार्टी जीवन मात्रै नभएर राष्ट्रिय जीवनका लागिसमेत हानिकारक छ । भविष्यमा कुनै दिन कांग्रेसले यसको समीक्षा गर्ने नै छ । तथापि अहिलेको अवस्थामा आफू अनिर्णित भएर सिङ्गो देशलाई नै अनिर्णयको बन्दी बनाउने अधिकार कांग्रेससँग छैन, त्यो गर्न उसलाई सुहाउँदैन पनि । 

इतिहासका यस्ता धेरै अप्ठ्यारा मोडमा कांग्रेसले आफ्नो निर्णायक नेतृत्व प्रदर्शन गरिसकेको छ । त्यसैले पनि ऊ देशको ऐतिहासिक पार्टी कहलिएको हो । राष्ट्र नै अप्ठ्यारोमा परिरहेका बेलामा पार्टीको आन्तरिक जीवनलाई नै झन् ध्वस्त बनाउने गरी कांग्रेसभित्र अहिले जुन खालको अवस्था सिर्जना गरिएको त्यसलाई नवपुस्तालाई राजनीति र राजनीतिक पार्टीप्रति झन् वितृष्णा पैदा गर्न थालेको छ । त्यसैको एक आशङ्का रूपमा भदौ २३ र २४ को विद्रोहलाई पनि लिन सकिन्छ । राजनीतिक दल तिनको नेतृत्व र शासकीय प्रवृत्तिबाट विरक्तिएको यो पुस्ताले एउटा भयानक विद्रोहबाट एक प्रकारले दलहरूलाई विस्थापित गरेको अवस्था थियो । तथापि हरेक लोकतान्त्रिक शासन पद्धति भएको देशमा राजनीतिक दलहरूको विकल्प हुँदैन । 

राजनीतिक दल लोकतन्त्रका एक अविछिन्न अंश हुन् । जसबिना लोकतन्त्रको  परिकल्पना गर्न सकिँदैन । त्यसैले यो निर्वाचन भनेको फेरि पनि एक पटक राजनीतिक दलहरू जनताबाट अनुमोदित भएर स्थापित हुनुपर्ने समय हो । यो उपयुक्त मौकामा कांग्रेस जस्ता दलहरू आफैँभित्र यति धेरै अलमलिनु भनेको सिङ्गो राष्ट्र, राष्ट्रियता र लोकतन्त्रकै लागि हितकर छैन । किनकि कांग्रेसका हरेक कदम यतिबेला उसको आन्तरिक जीवनमा मात्रै नभई सिङ्गो राष्ट्रिय जीवनका लागि निकै अर्थपूर्ण रहन्छन् । 

एउटा ठुलो राजनीतिक शक्ति भएका नाताले लोकतन्त्रको यो उत्सवमा कांग्रेसको सक्रियता, योगदान र उपस्थिति आफैँमा महìवपूर्ण हुन्छ । त्यसलाई कांग्रेसले भुल्नुहुन्न । किनकि कांग्रेसको ऐतिहासिक साख इतिहासका यस्तै मोडहरूबाट सिर्जित भएका हुन् । यो भनेको निर्वाचनमा हारिन्छ वा जितिन्छ भन्ने होइन । किनकि निर्वाचन भनेको आफूले जित्नका लागि मात्रै होइन बरु लोकतन्त्रलाई जिताउनका लागि पनि आवश्यक छ । राजनीतिक पार्टी जीवनमा त निर्वाचन भनेको एउटा कठिन तर अनिवार्य सर्त पनि हो । यसै सन्दर्भमा तत्कालीन कांग्रेसका सभापति बिपी कोइरालाले भन्नुभएको एउटा भनाइ निकै मार्मिक अनि सान्दर्भिक पनि छ । त्यो बेला तत्कालीन राजा वीरेन्द्रले दलहरूलाई सान्त्वना दिनका लागि एउटा प्रस्ताव गरे जनमत सङ्ग्रहको । त्यो भनेको ‘सुधारिएको पञ्चायत’ वा ‘बहुदल’ बिच हुने जनताको रोजाइ वा परीक्षण थियो । जसलाई धेरै जनताले रोज्छन्, त्यही व्यवस्था स्थापित हुने सर्त थियो । 

कम्युनिस्ट शक्तिले विरोध गर्दा गर्दै पनि बिपीले त्यो प्रस्तावलाई स्वीकार गर्नुभयो । अहिले त्यही सन्दर्भमा कसैलाई बिपीलाई सोधेको थियो ‘बहुदल हार्दै छ भन्ने थाहा पाएर पनि तपाईं किन जनमत सङ्ग्रहमा जान खोज्दै हुनुहुन्छ ?’ शालीन भएर त्यो बेला बिपीले भन्नुभएको ‘जनतालाई प्रजातन्त्रको लत बसाउन...।’ र २०४६ सालको जनआन्दोलन र त्यसपछिको जित जनतामा जागेको लोकतन्त्रप्रतिको सम्मानको थियो । अनि फेरि पनि फागुन २१ परिवर्तनको अर्को परीक्षामा परीक्षित हुने दिन हो ।