• २५ पुस २०८२, शुक्रबार

दलका नेताद्वारा निर्वाचन लक्षित परामर्श सुरु

blog

चुनाव लक्षित परामर्श गर्नुहुँदै नेकपाका नेता खेलप्रसाद बुडाक्षेत्री। तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २४ गते। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका दलका नेताले ताप्लेजुङमा निर्वाचन लक्षित परामर्श सुरु गरेका छन्। चुनावी घोषणापत्र तथा प्रतिवद्धतापत्रमा समेट्नुपर्ने विषयबारे आवश्यक सुझाव सङ्कलन गर्ने उद्देश्यले उम्मेदवार सिफारिस भएका नेताले परामर्श सुरु गरेका हुन्।

बिहीबार नेपाली कम्युनिस्ट पार्टीका नेता खेलप्रसाद बुडाक्षेत्री (पराग) ले निर्वाचन लक्षित परामर्श गर्नुभएको छ। बुडाक्षेत्रीले स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँग आगामी निर्वाचन लक्षित परामर्श गर्नुभएको हो। चुनावी घोषणापत्र र प्रतिवद्धता पत्रमा समावेश गर्ने विषयसँग केन्द्रित रहेर उहाँले जिल्लाका पत्रकार तथा सञ्चारकर्मीसँग परामर्श सुरु गर्नुभएको छ।

चुनावी घोषणापत्र तथा प्रतिवद्धतापत्रमा समेट्ने विषयमाथि आवश्यक सल्लाह र सुझाव लिने उद्देश्यले परामर्श सुरु गरेको नेता बुडाक्षेत्रीले बताउनुभयो। उहाँले जिल्लाको वस्तुगत आवश्यकता र सम्भावनाका विषयलाई समेटेर प्रभावकारी घोषणापत्र बनाउनेगरी आफू लागेको बताउनुभयो। प्रचारमुखी र महत्वकाङ्क्षी विषयहरु चुनावी घोषणापत्रमा समावेश गर्ने पक्षमा आफू नरहेको बताउँदै उहाँले कार्यान्वयनयोग्य विषय तथा योजनाहरु घोषणापत्रमा समावेश गरेर अघि बढ्ने बताउनुभयो।

जिल्लामा सबै पक्षसँग परामर्श गरी आवश्यक सल्लाह, सुझावहरु सङ्कलन गरेर चुनावी घोषणापत्रमा समावेश गर्ने र निर्वाचनमा विजयी भएमा कार्यान्वयन गर्न आफू लागिपर्ने पनि उहाँले बताउनुभयो। जिल्लाको पर्यटन प्रवर्द्धन र विकास, कृषि, शिक्षा, स्वास्थ्य, आवश्यक पूर्वाधार र जनजीविकाका सवालहरुलाई मुख्य विषय बनाई चुनावी घोषणापत्र तथा प्रतिवद्धतापत्र तयार गर्ने योजनामा रहेको उहाँको भनाइ छ। 

यता जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीले कार्यान्वयन हुने विषय वा योजनालाई मात्र चुनावी घोषणापत्रमा समेट्दा राम्रो हुने सुझाव दिएका छन्। आवश्यकताहरु प्रशस्तै हुने हुँदा सोहीअनुसार अपेक्षा हुनु स्वाभाविक भए पनि कार्यान्वयन गर्न सकिने अल्प र दीर्घकालीन प्रभावका विषयप्रति राजनीतिक दलका नेता अर्थात उम्मेदवारले जोड दिनुपर्नेमा सञ्चारकर्मीहरुको सुझाव रहेको छ।

विगतका निर्वाचनहरुमा दलका नेता तथा उम्मेदवारले महत्वकाङ्क्षी योजनाहरु चुनावी घोषणापत्रमा समावेश गर्दा निर्वाचित भएपछि कार्यान्वयन गर्न नसक्दा नेता वा जनप्रतिनिधिप्रति जनतामा अविश्वास र निरासा बढ्दै गएकोतर्फ पनि सञ्चारकर्मीले सचेत गराएका छन्। तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रहनुभएका बुडाक्षेत्रीको नाम नेपाली कम्युनिस्ट पार्टीले जिल्लाबाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको छ।