गोरखापत्र अनलाइन
काठमाडौं, पुस २४ गते । प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच निर्वाचन केन्द्रित छलफल भएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निश्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको हो । अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निश्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको प्रेस विज्ञ रावलले जानकारी दिनुभयो ।
अध्यक्ष ओली प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यको साथमा बालुवाटार पुग्नुभएको थियो । उहाँले पार्टीका अन्य नेताहरुलाई साथमा लग्नुभएको थिएन । भेटवार्ता निर्वाचन सम्पन्न गराउनमै केन्द्रित भएको भए पनि वर्तमान राजनीतिक विषयमा समेत सामान्य छलफल भएको रावलको भनाइ छ ।