• १३ साउन २०८१, आइतबार

सन्दर्भ–२०९औं भानुजयन्ती

भानुभक्तलाई आदिकवि बनाउने प्रेरणास्थल घाँसीकुवा मासिने खतरामा

blog

पृथ्वीराजमार्गसँग जोडिएको घाँसीकुवा । तस्बिरहरु : अमराज नहर्की

अमरराज नहर्की

तनहुँ, असार २८ गते । भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणास्थल  घाँसीकुवाको अस्तित्व मासिने खतरा भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार भईरहेकोले कुवा रहेको स्थान र पार्कमा सडक पुग्ने भएकाले मासिने जोखिम भएको हो । सडक  विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनु पर्ने अवस्था आउने हुँदा संरक्षणको लागि बेलैमा चासो राख्नु पर्ने माग स्थानीयको छ ।

भानुभक्त मामा घर मानहुँ पुगेर पैदल बाटो फकिर्ने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको थियो । घाँसीले घाँस काटेर भएको आम्दानीबाट कुवा खनाउने कुरा भनेपछि प्रेरणा पाई  भानुले यस्तो कविता रचना गर्नु भएको थियो–

भर्जन्म घाँसतिर मन दिई धन कमायो,

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो,

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो,

म भानुभक्त धनी भैकन किन आज यस्तो

घाँसीलाई घाँस काटेरै कुवा बनाउने प्रेरणाबाट भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषाको विस्तार गर्नु भएको थियो । कुवा पारी पट्टी पोल्याङ गाउँमा बस्ने पन्थ थरका ब्राह्मणको बस्ती रहेका र कुवाको नजिकको बस्ती भएकाले पन्थ नै घाँसी भएको अनुमान गरिएको भानु घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराई बताउनुहुन्छ । 


पृथ्वीराजमार्ग फराकिलो बनाउने क्रममा कुवा पट्टि विस्तार गर्ने ठाउँको सट्टा कुवाको विपरित रहेको स्थानलाई मात्रै फराकिलो बनाउने तथा बुल्दी खोलाको किनारको भागलाई उठाएर सम्म बनाएर संरक्षण गर्न सकिने सुझाव स्थानीयको छ । गाडीको चाप बढेको पृथ्वी राजमार्ग विस्तार बनाउनुपरेको तर कुवाको अस्तित्वको संरक्षण गरी फराकिलो बनाउने पर्ने व्यास नगरपालिका–११, पोल्याङ, घाँसीकुवा निवासी भोजराज पन्थले भन्नुभयो । ‘‘जिजुबाजे देखि जोगाउँदै आएको स्थान हो पन्थले भन्नुभयो, भत्काएर इतिहास मेट्न हुँदैन ।’’ 


सबैले संरक्षणमा ध्यान दिनुपर्ने परम्परा संस्कृति हो जोगाउनु प¥यो नेताहरुले बुझेर कुवा बचाउनतिर लाग्नु पर्ने उहाँ बताउनुहुन्छ । पन्थले गर्नु भएको दाबी अनुसार वसन्त पन्थ नाम गरेका व्याक्तिले भानुलाई प्रेरणा दिनु भएको थियो । पन्थहरुको खोला नाला डिही र पाखो भएकोले पन्थ नै घाँसी भएको दाबी उहाँको छ ।

घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले पहिचान गर्न कठिनाई भएको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउनुहुन्छ । समितिका सदस्य प्रेम पन्थ बच्चुले हाल घाँसीकुवा रहेको भन्दा २०० मिटर पर उत्तरतिर करीव १०० रोपनी सार्वजानिक जग्गामा स्थानीय वासिन्दाले भानु–घाँसी पार्क बनाउन दिने निर्णय समेत गरिसकेकोले त्यस ठाउँमा पूर्वाधार निमार्ण गर्न ध्यान जान पर्ने बताउनुहुन्छ । 


घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भई १२ नम्बर वडा कायम भएको छ ।  सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा घाँसीकुवा पर्छ । कुवा नरहे भानुभक्तको पहिचानलाई असर पर्ने तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसकिने हुँदा संरक्षणको लागि तीन तहकै सरकारले ध्यान दिनुपर्ने घाँसीकुवामा चमेनागृह सञ्चालन गर्नु भएकी लीलावती पन्थले बताउनुभयो ।


घाँसीको नाममा पालिका राख्नुपर्नेमा कसैको ध्यान नगएकोले घाँसीको अस्तित्व जोखिममा परेको गुनासो कुवा बनाएर नयाँ घाँसीको रुपमा परिचय कमाउनुभएका भानु नगरपालिका–२ अम्बोटका यदुनाथ न्यौपानेले गर्नुभयो । भानुलाई प्रेरणा दिएकाले घाँसी गुरु हुन्, बुल्दीखोला सेरोफेरोमात्रै सीमित नगरी घाँसीको काम प्रकृतिसँग जोडिएकोले फराकिलो बनाउनुपर्ने न्यौपानेले बताउनुभयो । 

चाईना कम्पनीले पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टोहरु पुर्ने कार्य भईरहेको छ ।   हाल पृथ्वीराजमार्ग दुई लेनको रहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा हुने गरि योजना बनाएको छ ।

आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो  गरिरहेको छ मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनिया कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालनी भईरहेको छ । सो कम्पनीले सडक फराकिलो गर्न ६ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।